रास्वपा नेताको टाउकोमा रड प्रहार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बदन भण्डारीमाथि आक्रमण गर्ने समूहको खोजी शुरु भएको छ । प्रहरीले घटनास्थल आसपासको सिसिटिभी क्यामेरामा कैद भएका फुटेज संकलन गरेर आक्रमणकारी खोज्न थालेको हो ।
रास्वपा सार्वजनिक मामिला विभागका सचिवसमेत रहेका भण्डारीमाथि हिजो साँझ कपनको प्रगतिनगर चोकमा रड प्रहार भएको थियो । निजी गाडीमा घर फर्किरहेका उनीमाथि कसले आक्रमण गरेको हो भन्ने अहिलेसम्म खुलेको छैन ।
भण्डारीका अनुसार मोटरसाइकलमा आएका तीन जनाले उनीमाथि अन्धाधुन्द आक्रमण गरेका थिए । रड, चिर्पट र खुकुरी लिएर आएका उनीहरुले एक्कासी टाउको र शरीरका विभिन्न ठाउँमा प्रहार गरेको उनले बताए ।
‘दुई जनाले एक्कासी टाउको र शरीरमा प्रहार गरे’, भण्डारीले भने, ‘तेस्रो व्यक्तिले खुकुरी निकालेपछि म रगत चुहाउँदै गाडी त्यही छाडेर भागेँ ।’ घाइते भण्डारीको टाउकोमा दशवटा टाँका लगाइएको छ ।
यो आक्रमणलाई उनले राजनीतिक रिसइबी भनेका छन् । ‘यो आक्रमण पूर्ण रुपले राजनीतिक रिसिबी हो’, उनले अघि भनेका छन्, ‘मलाई केही समय अगाडिबाटै फोनमा धम्की आएको थियो, र मेरो अफिस वरिपरि आएर मेरो बारे सोधखोज गरेको सूचना मलाई थियो ।’
प्रहरीले आक्रमणमा संलग्नहरुको खोजी भइरहेको बताएको छ । अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘आक्रमण भएको ठाउँ र वरिपरिको सिसिटिभी फुटेज संकलन गरेर पहिचान गरिरहेका छौँ, उहाँ (भण्डारी)ले केही व्यक्तिमाथि शंका गर्नुभएको छ, हामी बुझ्दैछौँ ।’
टिप्पणीहरू