एमालेका प्रतिनिधि धमाधम भंगालतिर

एमालेका प्रतिनिधि धमाधम भंगालतिर

नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन काठमाडौँ आइपुगेका केही प्रतिनिधिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न थालेका छन् । 

काठमाडौँ उपत्यकामा रहेका र बाहिर जिल्लाबाट आएका एक दर्जन प्रतिनिधि हिजाे भंगाल पुगेर भण्डारीसँग भेट गरेका थिए । आज पनि त्योक्रम जारी रहेको छ । 

अस्ति मधेशबाट फर्किनुभएकी भण्डारी हिजो थापागाउँस्थित सम्पर्क कार्यालयमा जानुभएको थियो । त्यहाँ पनि तीनजना प्रतिनिधिले डेढ घण्टा कुराकानी गरेको बुझिएको छ ।

‘विधान महाधिवेशनका तीन जना प्रतिनिधि आउनुभएको थियो, उहाँको कार्यकक्षमै बसेर डेढ घण्टाजति छलफल भयो’, भंगाल निकट स्रोतले सुनायो । 

त्यस्तै, अर्को एउटा समूह भने सोही दिन साँझ भण्डारी निवास पुगेको बताइएको छ । विधान महाधिवेशनमा पार्टी नेतृत्वको सम्भावित रणनीतिबारे छलफल भएको स्रोतको दावी छ । 

‘भोलि पार्टीले दुई जना उपाध्यक्ष कमरेडको फरक मतबारे छलफल गर्न बैठक बोलाएको कुरा उहाँ (भण्डारी)लाई सूचना आइसकेको छ’, स्रोत थप्छ, ‘उहाँले प्रतिनिधिहरुसँग भेटेर छलफल गरिरहनुभएकाे छ, २२ गतेसम्म उहाँ पनि विधान महाधिवेशनमै केन्द्रीत रहेर भेटघाट गरिरहनुभएको छ, अरू कार्यक्रम छैन ।’

पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न आज साँझ पनि केही प्रतिनिधिहरु भंगाल जान लागेको बुझिएको छ ।

टिप्पणीहरू