हाम्रो समुदायबाट एक लाख सेक्स वर्कर छन्
पछिल्लो समय ब्लु डायमण्ड सोसाइटीभित्र आर्थिक अनियमितताको विषय छरपष्ट भएको छ । संस्थापक सुनिलबाबु पन्तहरू बाहिरिएपछि भित्रिएको समूहले विधानअनुसार अधिवेशनसमेत नगरेको, संस्थालाई युएसआइडीले दिएको ८ करोड रकम हिनामिना भएको आवाज उठाएकी छन्, नुमा लिम्बू चञ्चलाले । मोरङ बबियाबिर्ताको किसान परिवारमा दुई छोरीपछि जन्मिएका छोरा हुन् उनी । उमेर बढ्दै गएपछि स्वभावमा परिवर्तन आयो र सन २०१४ मा थाइल्याण्ड पुगेर लिंग परिवर्तन गराई चक्र साउदेनबाट नुमा लिम्बू बनिन् । सन् २००८ तिर लैंगिक र अल्पसंख्यकको अधिकार क्षेत्रमा काम गर्ने एक संस्थासँग जोडिएकी उनले मोरङ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता निकालेकी छन् ।
– हरी गजुरेल
० ब्लु डायमण्ड सोसाइटीमा पूर्व सभासद् सुनिलबाबु पन्त र पिंकी गुरुङको समूहबीच कुटाकुटको अवस्था सिर्जना भएको हो ?
– यी कुनै फरक ग्याङ नभएर एउटै समुदायका हुन् । यसलाई घर सल्लाहको रूपमा लिनुपर्छ । सोसाइटीका पदाधिकारीलाई दश जनाको दश थरी कुरा होइन कि सबै एक जुट भएर जान कल, म्यासेज, इमेल गरेका थियौं । म पूर्वमा बसेर कार्यक्रम चलाउँदै थिएँ तर जब युएसआइडीको प्रोजेक्ट बन्द भयो तब मेरो गुरु सुनिलबाबु पन्तले काठमाडौं बोलाउनुभयो । यहाँ आएपछि संस्थाभित्र अनियमितता र विकृतिको विषयमा नजिकबाट जान्ने मौका मिल्यो । संविधानको धारा १२, १८, ४२ मा हाम्रा विषयमा लेखिएको छ तर नीति, थिति त्यस अनुकूल छैन । हरेक ठाउँमा जाँदा ब्लु डायमण्ड सोसाइडीभित्र अनियमितता भएको कुरा निस्कँदा साह्रै दुःख लाग्थ्यो । उहाँहरूले सुनिलबाबु पन्तको समूहलाई भेट्न नमान्ने, सुनिलबाबु पन्तलाई सोसाइटीको संस्थापक अध्यक्षसम्म नमान्ने र एक्ल्याउन खोज्ने काम भयो । हामी जहिल्यै नेताहरू भ्रष्ट, सिष्टम नै खराब भन्दै नेताहरूको आलोचना गरिरहन्छौं तर आज आफ्ना छातीमा हात राखेर हेरौं त । संसार बदल्न शुरुवात आफैंबाट गर्नुपर्छ भनिन्छ तर पहिला आफूले नेतृत्व गरेको संस्थामाथि प्रश्न उठ्न नदिने गरी कतिको काम गर्न सक्यौं त ? यही कारण अहिले घरभित्रको विकृति बाहिर ल्याउन परेको हो । हामीले उहाँहरूलाई झक्झकाएको हो । हामीले खोजेको समानता, समावेशीता, पारदर्शिता मात्र हो । तर, आफ्नै केन्द्रीय कार्यालयमै समावेशीता र समानता छैन कागको बथान एकातिर, बकुल्लाको बथान एकातिरजस्तो स्थिति छ । रोजगारीको अवसरबाट वञ्चित हुनुपर्ने स्थिति छ । अब संस्थाको साधारण सदस्यता खुलाएर नयाँ कार्यसमिति चयन हुनुपर्छ । सोसल अडिट हुनुपर्छ ।
० भवन र सरसामान संस्थाको हितमा प्रयोग भएनन् भन्ने गुनासो हो, तपाईंहरूको ?
– लाजिम्पाटको भवन बन्द छ । सुनिलबाबु पन्तले मायाको पहिचान नामक संस्था खोल्नुभएको छ । हामीलाई लाजिम्पाटको भवन दिएको खण्डमा ब्लु डायमण्ड सोसाइटीलाई भाडा तिरेर काम गर्थ्याैँ । अहिले पनि ब्लु डायमण्डले हामीजस्तो समुदायका लागि भनेर अनेकन शीर्षकमा फण्ड ल्याउँछ तर ती पैसा कहाँ जान्छन्, पत्तो छैन । केही बोल्यो भने किक आउट गर्ने र अफिसबाट निकाल्नेलगायत जालझेल गरिन्छ । लिडरले त एकअर्काेलाई जुधाउने, बजाउने होइन कि सबैलाई मिलाएर लैजानुपर्ने हो । मानवतस्कर, हाइड्रोपावरमा लगानी हुँदासमेत विभिन्न जिल्लाका साथीहरूले डर त्रासमा बस्नुपरेको छ । पिंकी दिदीपछि सोसाइटीमा उमिशा आउनुभयो तर उहाँले संस्थाको नेतृत्व गरेको हामीमध्ये अधिकांशलाई थाहा छैन ।
० नेपालमा तेश्रोलिंगीको संख्या १० लाख नाघ्यो भन्नुहुन्छ तर पछिल्लो जनगणनाअनुसार त २९ सय हाराहारी मात्र छ । डाटामा यत्रो ग्याप कसरी ?
– सरकारले २८/२९ सय हाराहारी मात्र भनेको छ तर सात वर्षअगाडि नै हामीले ९ लाखभन्दा बढी रहेको तथ्यांक निकालेका थियौँ । घर घरमा जाँदा महिला पुरुष सोध्ने तर अर्काे लिंगीबारे अझै पनि बेवास्ता गर्ने काम भएको छ । महिला पुरुषभन्दा हाम्रो समुदायबाट एक लाख हाराहारीमा सेक्स वर्कर रहेको एउटा रिपोर्ट पढेको थिएँ केही दिनअगाडि । जनगणनामा २८ सय हुन्छन् भने सेक्स वर्कर १ लाख कसरी पुगे त ? निर्वाचन आयोगले १७८ छ भन्छ ।
० युएसआइडीबाट प्राप्त ८ करोड रकम हिनामिना भएकै हो त ?
– युएसआइडीको परियोजना म आफैंले पनि गर्दै आएको थिएँ, पूर्वमा रहेर । परियोजना खारेज हुने भएसँगै केन्द्रले एक लाख फिर्ता गरिदिन पत्र पठायो । यो परियोजनाको फोकल पर्सन प्रकाश निरौला ८ करोड रकम हो गएको छ भनेर डोनरले मसँगै भनेका हुन् । बाहिर २२ जिल्लाका कार्यालयमा बजेट घटाइएको छ । तर सेन्टरको उही छ । सबैलाई सत्य थाहा छ तर बोल्न डराउनुहुन्छ । अहिले बोल्ने समय हो । ब्लु डायमण्डभित्र अनियमितता छ, पारदर्शिता छैन भनेको कोर टिमले हो तर आज कोही बोल्दैनन् । संस्था नराम्रो होइन, व्यक्तिले गर्दा होल फेमिली बदनाम हुने स्थिति बन्यो । तेस्रो लिंगीको न विवाह, न घरबार, कसैले लाँदैन, अरुले एकल भत्ता पाउँदा हामीले पनि पाउनुपर्ने हो तर विवाहित छ, खुलेर आएको छैन । उहाँहरूलाई त मर्दापर्दा दागबत्ती दिन्छन्, हामी कोही नभएकालाई उल्टै किकआउट हान्ने प्रवृत्ति छ ।
० हालसम्म कति लेस्बियन जोडीले विवाह दर्ता गराएका होलान् ?
–अञ्जुदेवी श्रेष्ठ र सुप्रिता गुरुङको विवाह दर्ता छ । पञ्जीकरण विभागका निर्देशकलाई गएर भेट्दा अहिलेसम्म २२ जोडी पुगे भन्नुहुन्छ । समलिंगीसम्बन्धमा पूर्ण फैसला आएको छैन । सपना मल्ल, सुनिलकुमारको पेशीमा चढेर धकेलिएको धकेलिएकै छ । समलिंगी विवाह दर्ताको जश लिने होडबाजी भने उस्तै छ । उता, परियोजना ल्याउने, भिक्टिमसम्म लगानी नहुने अवस्था हामीभित्रै छ ।
० जेण्डर चेञ्ज रहर हो कि बाध्यता ?
– ६/६ महिनामा जेन्डर चेञ्ज गर्न पाउनुपर्छ भनेर रुक्साना कपालीले सर्वाेच्च अदालतमा रिट लानुभएको थियो तर दर्ता भएन । हामी अन्य महिला–पुरुषभन्दा फरक प्रकृतिका मान्छे हौं । ब्लु त्यही रूपमा स्थापना भएको हो । लिंग परिवर्तन गरेर आउनेहरूले नागरिकता लिन खोज्दा समस्या देखिन्छ । सन्तोष पन्तको छोरालाई नै हेरौं न ! मैले पनि लिंग परिवर्तन गरेर आएँ । केटाको नाममा अन्य राखेर नागरिकता दिन्छु भनेको थियो प्रशासनले तर मलार्ई स्वीकार्य भएन । केटीको नाम नुमा लिम्बू राखेर किसिममा अन्य लेखिदिनु भन्दा मान्नुभएन । सेक्स चेञ्ज गरेको डकुमेन्ट देखाएपछि अहिले नुमा लिम्बू नामबाट महिलाको नागरिकता लैजानु, कानुन बनेपछि अन्यको नाममा लिनु भन्न थाल्नुभयो । अन्यको कानुन नभएका कारण महिलाकै नामबाट नागरिकता लिनुभएको छ धेरै साथीले । योनी भएको मान्छेले पुरुषको नागरिकता कसरी लिएको होला ? पुरुषको जनेन्द्रीय भएको व्यक्तिले महिलाको नामबाट नागरिकता कसरी लियो होला ! भोलि बलात्कार, रेप हुँदा र महिलासँग उठबस हुँदा फसिने रहेछ भनेर सतर्क हुने स्थिति बनेको छ । हामीजस्तो सर्जरी गरेको महिला, अन्य लिंगी महिलालाई कस्तो खालको पोलिसी बनाउनु उचित होला भनेर राज्यले सोच्नुपर्ने हो ।
० पूर्वसभासद सुनिलबाबु पन्तको अग्रसरतामा सांसद विकास कोषको रकमबाट बनाइएको होइन धुम्बाराहीको भवन ?
– त्यस अलावा समुदायबाट १०/२० प्रतिशतका दरले पैसा उठाएर बनाइएको हो । जिल्लाबाहिरका संस्थाबाट पनि कलेक्सन भएको छ । तर, त्यहाँ मन पर्ने व्यक्तिको चाबी राख्ने, उहाँहरू बस्ने काम भइरहेको छ । अफिसलाई अफिसजस्तो बनाउनुपर्छ । अफिसभित्र नीति छन् तर कार्यान्वयन छैन । सुनिलबाबु पन्तले छोडेपछि लथालिंग भयो ।
० काठमाडौं भित्रिनुभएपछि तपाईंले नेतृत्व गर्दै आएको लिड नेपाल अब बन्दै हुने स्थितिमा पुगेको हो ?
– अहिले सो संस्थालाई ब्लु डायमण्ड सोसाइटीले केही स्टाफ राखेर फण्ड पठाइरहेको छ । पहिला मलार्ई पनि सुनिलबाबुतिर जाला भनेर रोक्न धेरै प्रयास गरिएको थियो । तर, झुटको खेती कति दिन चल्ला र ? कोही मेन्टल समस्यामा छ, उहाँहरूलाई लक्ष्यित कानुन बनाउन सकिन्छ कि भनेर आएको हुँ । समुदायका लागि भवन, आदिवासी जनजातिका लागि आयोग बनेका छन् । हाम्रा लागि वृद्धाश्रम पनि छैनन् । ती क्षेत्रमा काम गर्नु छ ।
० अमेरिकालगायत मुलुकमा डेमोक्रेटिक आउँदा सहज, कन्जरभेटिभ आउँदा तपाईंहरूलाई किन अप्ठ्यारो पर्छ ?
– राजनीतिको र पनि बुझ्दिनथिएँ । अहिले राजनीतिबारे मन नपर्दा पनि बुझ्नै पर्ने रहेछ । हाम्रो पनि प्रतिनिधि सभामा सांसद भए केही कुरा हुन्थे होलान् । आज सदनमा भएकाहरूले हाम्रा लागि बोल्नु हुन्न । हाम्रा लागि ठूला पार्टी जुन जोगी आए पनि कानै चिरेको जस्तो । चुनावी घोषणापत्रमा त लेख्नुहुन्छ तर कार्यान्वयन छैन ।
० समलिंगीहरूको घरबार कसरी चल्छ ?
–पहिला त अफिस थियो । र, त्यहाँबाट आर्जित आम्दानीले घर चल्दथ्यो कतिपयले सडकमा ग्राहक खोजेर, यौन व्यवसाय गरेर दैनिक गुजारा चलाइरहेका छन् । केही विदेश पुग्नुभएको छ ।
० देह व्यापार कतातिर बढी छ ?
– पहिला ठमेल र रत्नपार्क मात्र हटस्पट थियो । अहिले प्रधानमन्त्री निवास जाने मुखैमा बालुवाटार, चाबहिल कोटेश्वरलगायत धेरै ठाउँमा यस्तो व्यवसाय भइरहेको छ ।
टिप्पणीहरू