पूर्वअध्यक्षलाई भेटेर अध्यक्षको निन्दा
पूर्वपञ्चहरूको पार्टी राप्रपामा आन्तरिक किचलो उत्कर्षमा पुगेका बेला संस्थापनइतर खेमाका नेताहरूले पूर्वअध्यक्षहरूसँग भेटवार्ता गरेका छन् ।
अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफूहरुलाई कर्नरमा पारेको गुनासो गर्दै आएको असन्तुष्ट समूह पूर्वअध्यक्षलाई गुहार्न पुगेको बताइएको छ । महामन्त्री डा. धवलशमशेर राणाले नेतृत्व गरिरहेको उक्त समूहका प्रभावशाली नेताहरूले पछिल्लो तीन दिनमा तीन पूर्वअध्यक्षसँग पालैपालो भेट गरेका हुन् ।
टोलीमा राणासहित उपाध्यक्ष विक्रम पाण्डे, निस्कासित उपाध्यक्ष मुकुन्दश्याम गिरी, कुन्ति शाहीलगायत छन् । बिहीबार लोकेन्द्रबहादुर चन्दलाई भेटेका उनीहरुले शुक्रबार पशुपतिशमशेर राणासँग भेटवार्ता गरे । हिजो शनिबार डा. प्रकाशचन्द्र लोहनीलाई भेटेर आफ्ना कुरा सुनाएको बताइएको छ ।
तीनवटै भेटमा असन्तुष्टहरूले निष्पक्ष वातावरणमा महाधिवेशन गराउनेगरी तत्काल मिति तोक्नका लागि अग्रसरता लिइदिन आग्रह गरेको बुझिएको छ । त्यसक्रममा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी कब्जा गरेको र आफूहरुलाई दुश्मन ठान्ने गरेको गुनासाे पनि नेताहरूले पोखेका थिए ।
पूर्व अध्यक्षत्रय चन्द, राणा र लोहनीले समस्या समाधानको लागि अभिभावकीय भूमिका निर्वाह गर्ने वचनवद्धता जनाएको स्रोतको भनाइ छ ।
टिप्पणीहरू