हिजोदेखि ल्हासा दहीमय

हिजोदेखि ल्हासा दहीमय

चीनको दक्षिण–पश्चिम क्षेत्रमा रहेको सिजाङ स्वायत्त प्रदेशको राजधानी ल्हासामा परम्परागत शोटोन अर्थात् दही पर्व शुरु भएको छ । हिजो बिहान ७ बजेको समयमा ल्हासास्थित डेप्रुङ गुम्बाका करिब सय भिक्षुले विशाल थाङ्का चित्र बोकेर नजिकैको डाँडामा फैलाएपछि तीन दिन लामो पर्वको औपचारिक शुरुवात भएको छ ।

‘तिब्बती भाषामा शोटोन भन्नाले दही भोज भन्ने बुझिन्छ,’ स्थानीय बासिन्दा सोग्चुले भनिन्, ‘पुर्खादेखि चलेको यो परम्परा आज पनि परिवारसहित रमाइलो गर्ने पर्व बनेको छ।’ पर्वले विदेशी पर्यटकलाई पनि आकर्षित गरेको छ । आफ्ना साथीहरूसहित बिहानै ५ बजे डेप्रुङ गुम्बा पुगेकी इटालीकी आन्नाले भनिन्, ‘विशाल थाङ्का फुकाइएको क्षण अविस्मरणीय लाग्यो। यहाँको स्थानीय ओपेराले तिब्बती लोकसंस्कृतिको आकर्षण र आत्मीयता झन् नजिकबाट महशुस गराइदियो।’

शोटोन पर्वको थालनी ११औँ शताब्दीको मध्यमा भएको मानिन्छ। सन् २००६ मा यसलाई चीनको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा पहिलोपटक सूचीकृत गरिएको थियो। पर्वमा दही खाने, पिकनिक जाने, तिब्बती ओपेरा र घोडदौडको परम्परा कायम छ।

टिप्पणीहरू