यसो गरिएको भए - स्वर्ग बन्थ्यो विश्व
भारतले गएको शुक्रबार भव्य रूपमा आफ्नो स्वतन्त्रता दिवस मनायो । सो अवसरबाट भारतले दक्षिण एसियालाई शान्ति क्षेत्र बनाउन नेपाल, चीन र रुससँग हातेमालो गरेर अघि बढ्नुपर्ने सन्देश दिएको छ। भारतको ठम्याइ छ - यदि कुनै मुलुकले अर्कोलाई पर धकेलेर एक्लै राज गर्न खोज्यो भने जनताले कहिल्यै सुख पाउँदैनन् ।
त्यस्तै, अलग्गिएर मात्र अघि बढ्ने चाहना राख्ने मुलुकको पनि दीर्घकालीन हित हुँदैन । त्यसैले अब तीन खुट्टे ओदानमा हलुवा पकाएर प्रीतिभोज गर्ने सन्दर्भलाई भारतले रूपकमा अघि सारेको छ । त्यो ओदानमा अब रुस पनि थपेर चार खुट्टे बनाएर ठूलो कराहीमा हलुवा पकाई सबैले सँगै प्रीतिभोज गर्न सक्नुपर्ने सन्देश हो । यदि चारै मुलुक हातेमालो गरेर अघि बढे, अरू मुलुकलाई पनि साथमा लिए, एसियाली जनताको भविष्य शान्तिपूर्ण बन्ने भारतको निष्कर्ष छ ।
यसरी अघि बढ्दा आ–आफ्नो विकासमा समर्पित हुँदै विश्वलाई शान्तिमार्गमा डोर्याउने प्रेरणाको स्रोत बन्न सकिन्छ । यो प्रसङ्गसँगै एक ऐतिहासिक घटना स्मरण गर्नुपर्ने हुन्छ अमेरिकाले भियतनामलाई उत्तर र दक्षिणमा विभाजन गराएर लामो हवाईमार्ग हुँदै सयौँ लडाकु विमान, ५४ हजार तालिमप्राप्त सैनिक र हजारौँ टन बारुद प्रयोग गरेर युद्ध लड्यो ।
सो क्रममा युद्ध निरीक्षण गर्न अमेरिकाले भू-उपग्रह प्रयोग गरी संसारलाई नै थर्काउने प्रयास गर्यो । अन्ततः ५४ हजार सैनिकको निधन भएपछि उत्तर र दक्षिण भियतनामी जनता आफैं एकतावद्ध भए, मेलमिलाप गरे र अमेरिकाले शर्मनाक हार खाँदै युद्धविराम गर्नुपर्यो ।
त्यो इतिहासले देखाउँछ - एसियालीहरूले अब गम्भीर भएर सोच्नुपर्छ । केही वर्षभित्र भारत, नेपाल, चीन र रुसले हातेमालो गरी पश्चिमी मुलुकलाई समेत निमन्त्रणा दिँदै “एसिया शान्ति सम्मेलन” आयोजना गर्नुपर्ने समय आएको छ ।
एसियाबाटै विश्वशान्तिको शिलान्यास गरेर हतियारमा गर्ने खर्चलाई जनकल्याण र मानव–प्राणीको हितमा लगानी गर्न सकियो भने, नालन्दा र तक्षशिला जस्ता ज्ञान - भण्डारलाई खरानी बनाउने अज्ञानतालाई पनि इतिहासले क्षमा गर्नेछ। अब शान्तिदीप पुनः प्रज्वलित गर्ने बेला यही हो ।
युद्धहरूले संसारलाई के दिए र के हराए भनेर फर्केर हेर्दा प्रष्ट हुन्छ - यदि युद्धमा खर्च भएको सम्पूर्ण धनराशी पर्यटन, कृषि र मानव - कल्याणमा लगानी भएको भए, आज विश्व नै स्वर्ग बन्ने थियो ।
टिप्पणीहरू