नक्कली सर्टिफिकेट बनाउने धन्दामा रास्वपा नेता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरिप्रसाद कँडेल समातिएका छन् । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले उनलाई हिजो चितवनबाट नियन्त्रणमा लिएको हो ।
कालिका नगरपालिका-५ पदमपुर घर भएका कँडेल रास्वपा बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक छन् । उनले नेपाल र भारतका विभिन्न विश्वविद्यालयको नक्कली सर्टिफिकेट बनाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले साउन ३० गते रुपन्देहीको बेलसिया बसपार्कबाट विभिन्न विश्वविद्यालयका सयौँ नक्कली ट्रान्सकिप्टसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो । ती भारतीयमाथि अनुसन्धान हुँदा उनले कँडेलका लागि काम गर्दै आएको बयान दिएपछि यस्तो खुलासा भएको हो ।
आफ्नो नामको अघि डाक्टर लेख्दै आएका कँडेल पूर्व शिक्षक तथा प्राधानाध्यापकसमेत हुन् । उनले पछिल्लो समय चितवनको लायन्स चोकमा ‘कलेज कोच नेपाल’ नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएको बताइन्छ ।
खासगरी वैदेशिक रोजगारीको लागि युरोप जानेहरुको लागि उनले नक्कली प्रमाण पत्र बनाइदिने गरेको बताइएको छ ।
टिप्पणीहरू