बोइङ ७८७ र एअरबस ए ३८० का सफ्टवेयर इन्जिनियरले अमेरिका छाडे
विश्वप्रसिद्ध इन्जिनियरिङ सफ्टवेयर विज्ञ चौ मिङ आफ्नै देश चीन फर्केका छन् । बोइङ ७८७ र एयरबस ए३८० जस्ता विमानमा प्रयोग हुने अत्याधुनिक औद्योगिक सफ्टवेयरका निर्माता चौेउ मिङ अमेरिकास्थित बहुराष्ट्रिय कम्पनी अल्टेयरको नेतृत्व छाडेर स्वदेश फर्किएका हुन् ।
निङ्पोस्थित इस्टर्न इन्स्टिच्युट अफ टेक्नोलोजीको इन्जिनियरिङ कलेजले आफ्नो वेबसाइटमार्फत् गत जुनदेखि चौेउले चेयर प्रोफेसर तथा कलेजकै पहिलो डिनको जिम्मेवारी सम्हालेको जानकारी दिएको छ । उनले आफ्नो दक्षताअनुरुपको कार्य गर्न अनुसन्धान टोली गठन गर्न थालिसकेको जनाइएको छ ।
आफ्नो सामाजिक सञ्जालमा चौले लेखेका छन्, ‘विश्वव्यापी चुनौतीलाई सम्बोधन गर्ने अग्रगामी अनुसन्धान अघि बढाउन र नयाँ पुस्ताका प्रविधि आविष्कारकलाई प्रेरित गर्न पाउँदा म उत्साहित छु । झन् ठूलो मिसनको हिस्सा बन्न पाउँदा अत्यन्तै उर्जाशील अनुभव गरेको छु ।’
विश्वविद्यालयले चौको नेतृत्वमा ‘इन्जिनियरिङ सफ्टवेयर तथा अप्टिमाइजेसन डिजाइन प्रविधिको लागि विश्वस्तरीय अनुसन्धान तथा विकास टोली’ स्थापना गरिने जनाएको छ । उक्त टोली चीनको उच्चस्तरीय उत्पादन उद्योगमा स्वतन्त्र नवप्रवर्तन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित मूल सफ्टवेयर प्रविधिमा केन्द्रित हुने बताइएको छ ।
चौले छाडेको अमेरिकाको अल्टेयर कम्पनी इन्जिनियरिङ सफ्टवेयर, कम्प्युटेसनल विज्ञान,सिमुलेसन,डाटा विश्लेषण,कृत्रिम बुद्धिमत्ता (एआई) र उच्च तहको कम्प्युटिङ क्षेत्रमा विश्वकै अग्रणी मानिन्छ ।
टिप्पणीहरू