एमालेबाट अझै बाहिर नआएका हिसाब
१५ वर्ष माधवकुमार नेपाल र पाँच वर्ष झलनाथ खनाल नेकपा एमालेको नेतृत्वमा रहँदा स्थायी प्रतिपक्षजस्तो रहेका केपी शर्मा ओलीलाई मदन भण्डारी फाउण्डेसनले ‘त्राण’ भरिदियो । पचास र साठीको दशकभरि एउटा सानो गुट चलाएर बसेका उहाँले फाउण्डेसनकै आडमा देशव्यापी समानान्तर संगठन बनाएर शक्ति आर्जन गर्नुभयो । र, त्यसैको बलमा नवौँ महाधिवेशनबाट नेतृत्वमा स्थापित हुनुभएका उहाँ १२ वर्षदेखि शक्तिशाली अध्यक्षको कुर्सीमा हुनुहुन्छ ।
तेस्रो कार्यकालका लागि पार्टी अध्यक्षको तयारीमा रहेका ओलीले हासिल गरेको राजनीतिक तरक्कीको मुख्य आधार फाउण्डेसन नै हो भन्ने घामजस्तै छर्लंग छ । एमालेका एकथरी नेता अहिले पनि भन्छन्– यदि मदन भण्डारीको नाममा फाउण्डेसन खोलेर गुट नचलाएको भए सम्भवतः पचासको दशकमै ओलीको राजनीतिक यात्रामा पूर्णविराम लागिसकेको हुन्थ्यो । जननेता मदनको नामको ब्यानरमुनी थुप्रै एमाले नेता–कार्यकर्ता भावनात्मकरूपमा जोडिन पुगेकैले त्यसको प्रत्यक्ष लाभ ओलीलाई मिलेको हो ।
यसरी जिन्दगीभर गुट चलाएका उनै ओलीले मदन भण्डारी फाउण्डेसन पार्टी नेतृत्वविरोधीहरूको हातमा पुगेको टिप्पणी गरेपछि लाज पनि लजाउने अवस्था बनेको छ । साउन २६ गते सोमबार पार्टी कार्यालय च्यासलमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पक्षका नेता–कार्यकर्तालाई गाली गर्दै उहाँले फाउण्डेसनलाई ‘ठगी खाने भाँडो’ बनाइएको ‘तुच्छ’ टिप्पणी गर्नुभयो । पार्टीले निष्ठासाथ बनाएको संस्था अहिले पाखण्डी व्यवहार देखाउनेहरूको हातमा पुगेको भन्दै मदनपुत्री उषाकिरण भण्डारीको चर्को निन्दा गरियो । अहिले फाउण्डेसनको अध्यक्ष उषाकिरण हुनुहुन्छ ।
आफू नेतृत्वमा आएपछि फाउण्डेसनको औचित्यमाथि प्रश्न उठाउने ओली ०७१ असारमा अध्यक्ष चुनिनु अघिसम्म पार्टीको संस्थागत प्रणालीविरुद्ध निरन्तर उभिनुभयो । आफू र गुटको रक्षाका लागि संस्थालाई बार्गेनिङ्ग टुल्सका रूपमा प्रयोग गर्दै पार्टी र राजकीय जिम्मेवारीमा हिस्सेदारी लिनुभयो । महासचिव माधवलाई घुक्र्याएर आफ्ना लागि विदेश विभाग प्रमुख हात पार्नुभयो ।
त्यसताकाको सन्दर्भ स्मरण गर्दै एक नेता भन्छन्, ‘माधव नेपाल जुन देश गयो, उहाँलाई पनि त्यही देश जानुपथ्र्यो ।’ तर अहिले यी जम्मै कुराको भत्र्सना गर्ने ठाउँमा पुग्नुले हिजो आफैँले गरेका यी सारा कुरा नक्कली र षड्यन्त्रमा आधारित थिए भन्ने प्रमाणित हुन्छ ।
अर्कोतिर, ओलीले आफ्नो करिस्मेटिक नेतृत्व क्षमताले एमाले शक्तिशाली पार्टी बनेको दावी गर्दै आउनुभएको छ । नेकपाकालमा सार्वजनिक मञ्चबाटै धेरैचोटि उहाँ र उहाँका मान्छेहरूले ‘ओलीको लोकप्रियता’ ले चुनावमा बहुमत ल्याएको दाबी गर्थे । चुनावी परिणाम मात्र कम्युनिष्ट पार्टीको समग्र लोकप्रियताको मापक हो कि होइन ? त्यो छुट्टै बहसको विषय छँदैछ । तथापि, त्यसलाई मान्ने हो भने पनि ऐतिहासिक तथ्य पल्टाएर हेर्दा ओलीको दाबी खण्डित हुन्छ ।
०४६ को आन्दोलनपछि नेपालमा सात वटा संसदीय निर्वाचन भए र यसबीच मदन, माधव, झलनाथ र केपीबाट एमालेको नेतृत्व भयो । जसमा मदन र माधवले नेतृत्व गरेका बेला तुलनात्मकरूपमा बढी सिट जितेको देखिन्छ । ०४८ मा बहुदलपछिको पहिलो निर्वाचनमा एमाले ६९ सिटसहित प्रतिनिधिसभामा दोस्रो ठूलो दल बन्यो । त्यसबेला २०५ वटा निर्वाचन क्षेत्रमा एमालेले जितेको संख्या ३३.६५ प्रतिशत हो । यसबेला मदन भण्डारी महासचिव हुनुहुन्थ्यो ।
त्यसको दुई वर्षपछि ०५० सालमा मदनको षड्यन्त्रपूर्वक ‘हत्या’ भएपछि माधव महासचिव हुनुभयो । त्यहीबेला तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा भंग गरेर ०५१ सालमा मध्यावधि चुनाव भयो । उक्त निर्वाचनमा कांग्रेसलाई पछि पार्दै पहिलो दल बनेको एमालेले ८८ सिट जित्यो । अघिल्लो चुनावमा भन्दा १९ सिट थपिएर जितको प्रतिशत ४०.४८ पुग्यो ।
वामदेव गौतमले पार्टी फुटाएर माले गठन गरेको दुई वर्षपछि ०५६ मा भएको आमचुनावमा पनि परिणाम धेरै नकारात्मक आएन । ७१ सिट जितेर दोस्रो दल बन्यो, यो ३४.६३ प्रतिशत हो । यी दुवै निर्वाचन हुँदा माधव नेपालको नेतृत्व थियो ।
०६४ को पहिलो संविधानसभा निर्वाचनमा देशव्यापी माओवादीको लहर चलिरहेको थियो । एमाले कमजोर तेस्रो दलमा खुम्चिन पुग्यो । प्रत्यक्षतर्फ २४० मा जम्मा ३३ सिट अर्थात् १३.७५ प्रतिशत जितेर पार्टी कमजोर भएपछि माधवले नैतिकताका आधारमा महासचिव पदबाट राजीनामा दिनुभयो । पार्टीले चुनावमा अपेक्षित परिणाम नल्याएकै आधारमा नैतिकता प्रदर्शन गरिएको यो घटना नेपाली राजनीतिमा दुर्लभ मानिन्छ ।
दोस्रो संविधानसभा ०७० को निर्वाचनमा एमाले फेरि बौरिएर आयो । ६ वर्षअघि प्रत्यक्षतर्फ ३३ सिटमा खुम्चिएको ऊ ९१ सिट जितेर बलियो दोस्रो पार्टीको पुरानै हैसियत कायम गर्न सफल भयो । त्यसबेला झलनाथ खनाल अध्यक्ष हुनुहुन्थ्यो, तर संसदीय दलको निर्वाचनमा उनैलाई पछारेर आफू दलको नेता बनेका ओली आफैँले जितको श्रेय लिनुभयो ।
सामान्यतः अध्यक्ष नै दलको नेता बन्ने प्रचलन तोडिएको यो घटनाबारे प्रसंगवश चर्चा हुँदा वामदेव गौतमले पार्टीलाई विभाजनमा जानबाट रोक्न ओलीलाई समर्थन गर्नुपरेको बताउने गर्नुभएको छ । किनभने त्यसबेलासम्म एमालेको आन्तरिक राजनीतिमा ओलीको प्रभाव बढिसकेको थियो । अहिले पनि साथीभाइसँग कुरा हुँदा वामदेवको भनाइ रहन्छ, ‘यदि म त्यता नलागेको भए केपीले पार्टी फुटाउनसक्थे, पार्टी फुट्न दिनुहुन्न भनेर मात्रै म त्यहाँ उभिएको हो ।’
नयाँ संविधान जारी भएपछिको पहिलो आम निर्वाचन ०७४ मा एमाले र माओवादीले तालमेल गरे । त्यसबेला वाम गठबन्धनको पक्षमा देशव्यापी उभार आएको थियो । तथापि, एमालेले एक्लै बहुमत ल्याउन सकेन । १६५ प्रत्यक्षमा ८० सिट अर्थात् ४८.४८ प्रतिशत जितेको एमाले संसद्को पहिलो दल बन्यो ।
एमालेको कूल १२१ सहित माओवादीसँग पार्टी एकता गरेर सत्तामा उक्लिएका ओलीले तीन वर्ष सरकार चलाउँदा आफ्नो व्यक्तिगत प्रभावले बहुमत आएको दाबी गरिरहनुभयो । तर, ०७९ को चुनावमा १२१ बाट झरेर ७८ मा खुम्चिंदा भने जिम्मेवारी लिनुभएन । प्रतिनिधिसभामा एमालेको प्रत्यक्षतर्फका सांसद ४१ जना छन्, यो २४.४८ प्रतिशत हो ।
०६४ पछि यो नै सबैभन्दा कमजोर परिणाम हो । यद्यपि, माधवले ५६ को जित जोगाउन नसक्दा ६४ मा जवाफदेहिता देखाएजस्तो ओलीले कमजोरी स्वीकार्नुभएन ।
सातौं महाधिवेशनमा अल्पमतमा परेपछि नै ओली पार्टी फुटाउन लागेको तर, धेरै नेता–कार्यकर्ता पछि लागेर जान तयार नभएपछि त्यस्तो प्रयास असफल भएको दाबी एकथरी नेताले गर्ने गरेका छन् । त्यसपछि जबज र मदनको सहानुभूति बटुल्न विद्या भण्डारीलाई अघि सारियो । र, त्यसले ओलीलाई अध्यक्षको कुर्सीमा पुर्यायो ।
तर, अध्यक्ष जितेपछि पनि गुटगत मानसिकताबाट बाहिर निस्कन नसकेका ओली पुरानै शैलीमा पार्टी कब्जा गर्नेतिर लागेको देखियो । त्यसका लागि माओवादीसँग एकता गरेर माधवलाई तह लगाउने रणनीति अपनाइयो । यसलाई ‘गिरिजापथ’ को संज्ञा दिने एमालेका एक नेता भन्छन्, ‘उहाँ भनेको गिरिजा पथमा हिँड्ने मान्छे हो । मैले गरेको सबैकुरा ठीक भन्ने जुन मानसिकता उहाँमा छ, अहिले पार्टीमा असन्तुष्टि बढ्नुको मुख्य कारण नै यही हो ।’
मृत्युपछि ‘शिखर पुरुष’ को दर्जा पाएका गिरिजा बाँचुञ्जेल अत्यन्तै अलोकप्रिय हुनुभयो । पाँच पटक देशको प्रधानमन्त्री र पार्टी सभापति पदमै रहेर निधन भएका उहाँको कांग्रेसभित्र भने एकछत्र राज चल्यो ।
गिरिजाकै कारण गणेशमान सिंह जस्ता त्यागी नेताले जीवनको उत्तराद्र्धमा पार्टीविहीन हुनुपर्यो । सन्तनेता कृष्णप्रसाद भट्टराईलाई टिकिखान दिइएन । दोस्रो तहका नेता खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी, जेपी गुप्तालगायतलाई अख्तियार लगाएर राजनीतिबाट किनाराकृत गरियो ।
यसरी विरोधीलाई ‘कत्लेआम’ गरेर निरन्तर सत्ता र शक्तिमा रहेका गिरिजाको त्यो ‘क्रेज’ क्रमशः घट्दै मर्ने बेला त निकै कमजोर भैसकेको थियो । अहिले पनि कोइराला परिवारका सदस्यहरू बाहिर बसेर 'हात थाप्ने' अवस्थामा छन् ।
‘गिरिजाको गलत कामको परिणाम उनका उत्तराधिकारीहरू शक्तिमा पुग्नै नसक्ने भए’, ओलीलाई गिरिजासँग दाँज्दै एमाले नेता भन्छन्, ‘विरोधीलाई तर्साउन अनेक हत्कण्डा अपनाई रहेका छन् । वामदेव, झलनाथ, माधव, विद्या भण्डारी हुँदाहुँदै अब त मदन भण्डारीको छोरीलाई समेत गाली गर्न थाले । अहिले त पार्टीमा सबै एसम्यान छन्, यत्तिको तुजुक देखाउनै पर्यो तर अन्तिममा गिरिजाको हालत नहोला भन्न सकिँदैन ।’
टिप्पणीहरू