चुलबुले नानी, कलाकी अद्भूत खानी
ऐ दिल मुझे बता दे तु किस पे आ गया है
वो कौन है जो आकर ख्वाबों पे छा गया है ।
मस्ती भरा तराना क्यों रात गा रही है
आंखों में नींद आकर क्यों दूर जा रही है
दिल में कोई सितमगर अरमां जगा गया है
वो कौन है जो आकर खवाबों पे छा गया है ।
बेताब हो रहा है ये दिल मचल मचल के
शायद ये रात बिते करवट बदल बदल के
ऐ दिल जरा सम्भल जा शायद वो आ गया है
वो कौन है जो आकर ख्वाबों पे छा गया है ।
भिगी हुई हवाएं मौसम भि है गुलाबी
क्या चाँद क्या सितारे हर चीज है शराबी
धीरे से एक नगमा कोई सुना गया है
वो कौन है जो आकर ख्वाबों पे छा गया है ।
यो गीत सन् १९५६ मा प्रदर्शित चलचित्र ‘भाइभाइ’ को हो । गीतकार राजेन्द्र कृशनद्वारा लिखित यो गीत गीतादत्तले गाएकी थिइन् । राजेन्द्र कृशन हिन्दी र उर्दू साहित्यकार हुन्, कवि हुन् अनि पटकथा लेखक पनि । चलचित्र अनारकलीको लोकप्रिय गीत ‘यह जिन्दगी उसी की है जो किसीका हो गया, प्यार हि मैं खो गया’ चलचित्र देख कबिरा रोयाको ‘कौन आया मेरे मनके द्वारे’ चलचित्र पडोसनको‘मेरे सामने वाली खिडकी में एक चाँदका टुकडा रहता है, अफसोस ये है कि वो हम से, कुछ उखडा उखडा रहता है’ जस्ता ६ दर्जन बढी चलचित्रका लागि सयौं गीत लेखेका उनकी अधिकांश गीत र कविता उर्दूमा छन् । उनको निधन सन् १९८७ मा भइसकेको छ । उपर्युक्त अत्यन्त लोकप्रिय र सदावहार गीत चलचित्रमा अभिनेत्री श्यामामा फिल्मांकन गरिएको थियो । हिन्दी चलचित्रमा शुरुमा नायिका र त्यसपछि नायकलाई प्रेम र वासनामा फसाउन सिपालु दोश्री महिला अनि पछिल्लो समय खलनायिका बनेकी उनमा फिल्मांकन गरिएका अधिकांश गीत गीतादत्त र आशा भोंसलेले गाएको पाइन्छ ।
सन् १९५१ मा चलचित्र ‘सजा’ को छायांकन हुँदै थियो । निर्देशक थिए फली मिस्त्री । त्यो जमानाकी प्रसिद्ध सिनेमाटोग्राफर । प्रकाश र छायाँबीचको नाटकीय अन्तरक्रियाबाट काल्पनिक दृश्य सिर्जना गर्नमा सिपालु । महिला कलाकारलाई ग्लामरको रूपमा प्रस्तुत गर्न पनि उत्तिकै निपुण । उनले सन् १९४५ मा बनेको चलचित्र ‘माता’बाट पेशा शुरु गरेका थिए । ‘सजा’ उनीद्वारा निर्देशित तेश्रो फिल्म थियो । चलचित्रमा श्यामाबाहेक अन्य कलाकार थिए – देव आनन्द र निम्मी । सिनेमाटोग्राफरको हैसियतमा २–४ वटा चलचित्रमा उनले नायिका श्यामाको सौन्दर्यलाई नजिकबाट नियालिसकेका थिए । श्यामा सुन्दर त थिइन् नै पर्दामा अझ बढी सुन्दर देखाउन मिस्त्रीले कम मिहिनेत गर्दैननथे । श्यामालाई क्यामेरामा कैद गर्ने बेलामा उनी उनको सौन्दर्यलाई पटकपटक ‘जूम’ गरी सूक्ष्म तरिकाले हेर्थे । श्यामाबारे अनभिज्ञ थिइन् । कारण थियो, त्यसबखत उनी मात्र १६ वर्षकी हुनु जबकि मिस्त्री ३४ का थिए । श्यामालाई फेरि जसरी पनि चलचित्र जगत्मा टिक्ने धुन सवार थियो । मायाप्रेम उनको मष्तिष्कभन्दा टाढाको विषय थियो । तर, चलचित्रको छायाँकनकै दौरान एकदिन श्यामाको हातमा काँडाले घोच्यो । अलिकति रगत बग्न मात्र के शुरु भएको थियो मिस्त्री दौडेर हात समाउन पुगे अनि हड्बडाउँदै सोधे ‘के भयो तिमीलाई ? ‘हैन केही भएको छैन, बस् सानो काँडाले घोचेछ ।’
मिस्त्रीले तुरन्त फष्टएड बक्स मगाए र मलम लगाइदिए । मिस्त्री पहिलादेखि नै श्यामालाई प्रेम गर्थे आफूलाई केयर गर्ने उनको बानीदेखेर श्यामाको मन पग्लियो र त्यसपछि प्रेमकथा शुरु भयो । अरुबेला त भेट्न पाउँदैनथे, छायाँकनकै दौरान समय मिलाएर भेट्थे, घण्टौं कुरोकानी गर्थे । समय मिलेको बेला रेष्टुराँमा गएर कफी पिउँथे । घर पुगेपछि पनि फोनमा गफिन्थे । श्यामा सधैं ‘अब कुन दिन सुटिङ छ ? भनेर सोध्थिन् । अर्को चलचित्रको सुटिङ गर्न उनीहरू महाबलेश्वर गए । फर्कंदा खण्डालाको एउटा होटलमा बसे । भोलिपल्ट बिहान सबेरै उठेर श्यामाले हातमुख धोइन् । दाँत माझ्दै गर्दा मिस्त्री लुसुक्क कोठाभित्र पसेर पछाडिबाट च्याप्प समाए अनि म्वाइँ खाइदिए । अनायास चुम्बनले श्यामा हड्बडाइन् र कोठाबाहिर भागिन् ।
यो घटनापछि प्रेम उत्कर्षमा पुग्यो । फिल्मी पत्रिकामा जब यो सम्बन्धलाई लिएर समाचार प्रकाशन हुन थाले बुबा एमएस आनन्दले छोरीलाई खबरदारी गरे किनभने उनीहरू मुस्लिम थिए भने मिस्त्री पारसी । आमाले भने छोरीको रोजाइलाई मन पराएकी थिइन् । बुबाकै कारण जब औपचारिक तवरमा बिहे हुने सम्भावना देखिनन् प्रेम बसेको ४ वर्षपछि बिहे गरे तर यो कुरालाई गोप्य राखे । बिहे गरेको १० वर्षपछि श्यामा जव पहिलो पटक छोरो (फारुख) को आमा बनिन् तव मात्र एमएस आनन्दले यो कुरो थाहा पाए । श्यामापछि अर्को एक छोरा र एक छोरीकी पनि आमा बनिन् ।
चलचित्र क्षेत्रमा सफल अधिकांश अभिनेत्रीको निजी जीवन असफल हुने गरेका छन् तर श्यामा अपवादमा पर्छिन् जसको निजी जीवन पनि उत्तिकै सफल छ । बिहेपछि मिस्त्रीले पत्नीलाई चलचित्रमा काम नगर्न दबाब दिएका हैनन् तर श्यामा मानिनन् । उनले पेशा र पत्नीधर्मबीच तालमेल मिलाउँदै अघि बढिन् । बिहेपछि मात्रै पनि सयवटाभन्दा बढी चलचित्रमा अभिनय गरिन् । मिस्त्रीले पनि चलचित्रमा काम गरे । उनले देव आनन्द र वहिदा रहमान अभिनित ‘गाइड’ शशीकपूर र शबाना आजमी अभिनीत ‘फकिरा’ बाट सर्वश्रेष्ठ सिनेमाटोग्राफीमा फिल्म अवार्डसमेत जिते । उनको निधन सन् १९७९ मा भयो ।
श्यामा विद्यार्थीकालमै चलचित्रको हिरोइन् बन्ने सपना देख्थिन् । सन् १९४४ मा चलचित्र ‘जीनत’को सुटिङ हेर्न एक हुल विद्यार्थी कक्षा बंक गरेर निस्के । ‘जीनत’को नायिका नूरजहाँ थिइन् त्यसबखतको सर्वप्रिय अभिनेत्री अनि गायिका । निर्देशक थिए उनैका पति शौकत हुसेन रिज्बी । श्यामा ९ वर्षकी थिइन् र ५ कक्षामा अध्ययनरत । सुटिङ हेर्दै गरेका छात्राहरूलाई शौकतले तिमीहरू कव्वाली गीतको सुटिङमा भाग लिन्छौ ? भनेर सोधे । श्यामाले हत्तपत्त हात उठाउँदै भनिन् – म तयार छु । शौकतले निकै सानी छौ भने । श्यामाले मलाई सोख छ, म गर्छु भनिन् । त्यसरी पहिलोपटक उनले बेबी खुर्शिदको नाउँबाट चलचित्रमा काम थालिन्, किनभने उनको नाउँ खुर्शिद अख्तर थियो । निर्देशक बिजय भट्टले उनको नाउँ श्यामा राखिदिएका थिए । श्यामाले एक दर्जनभन्दा बढी चलचित्रमा बाल कलाकार भएर काम गरिन् । सुटिङको कारण कक्षा धेरै छाडिन्, स्कूलले निस्कासन गर्ने धम्की दिँदा पनि परवाह गरिनन् । सुटिङमा भाग लिन बुर्का लगाएर निस्किन्थिन् । घरमा आमाले बाहेक अरु कसैले उनी फिल्ममा जोडिएको थाहै पाएनन् ।
सन् १९५२ मा चलचित्र ‘श्रीमतीजी’ रिलिज भयो । नायिकाका रुपमा यो उनको पहिलो चलचित्र थियो । नायक थिए भेट्रान अभिनेता दिलिपकुमारका भाइ नासिर खाँ । चलचित्रको पोष्टर शहरमा छ्यापछ्याप्ति टाँसिएको थियो । एउटा पोष्टर एमएस आनन्दको फलफूल पसल अगाडिको पर्खालमा पनि थियो । तर, उनले उक्त पोष्टरमा भएकी युवती आफ्नै छोरी खुर्शिद हुन् भनेर चिनेनन् । श्यामा आफैँले उक्त चलचित्रकी नायिका मै हुँ भनेर चिनाउनुपरेको थियो । छोरीले बताएपछि मात्र एमएस आनन्दले पहिलो पटक छोरी चलचित्रमा खेल्ने गरेको थाहा पाएका थिए । यसअघिको चलचित्र ‘सजा’को पोष्टरमा उनी थिइनन्, देव आनन्द र नायिका निम्मीको फोटो मात्र थियो । लामो समय स्पाइस गर्ल (चुलबुले हिरोइन) को नाउँले लोकप्रिय हुन उनलाई एक झलक हेर्न यसपछि भनी घरअगाडि सडकमा प्रशंसक झुम्मिन थाले । कूल १ सय ४० वटा चलचित्रमा अभिनय गरेकी उनको निधन ८२ वर्षको उमेरमा सन् २०१७ मा भएको थियो ।
टिप्पणीहरू