गुण्डागर्दीमा संलग्नहरु धमाधम छुट्दै

गुण्डागर्दीमा संलग्नहरु धमाधम छुट्दै

अवैध असुली र गुण्डागर्दीमा संलग्न युवराज गुरुङ्गसहित चार जनालाई काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश शिवप्रसाद खनालको इजलासले चारै जनासँग धरौटी माग गर्न आदेश जारी गरेको छ ।

सानुभाइसँग २५ हजार रुपैयाँ धरौटी मागिएको छ भने ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ्ग, दिलबहादुर तुम्बापो र रविन्द्र गुरुङ्गसँग २०–२० हजार रुपैयाँ धरौटी मागिएको छ ।

साउन १४ गते ठमेलस्थित नगरकोट दोहोरी साँझमा भएको घटनामा सानुभाइ पुगेको खबर पाएपछि राजेन्द्रले रविन्द्र र दिलबहादुरलाई उनलाई कुट्न पठाएका थिए । प्रहरीले झगडा भइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको थियो । सोधपुछमा रविन्द्र र दिलबहादुरले राजेन्द्रले खटाएको बताएपछि उनलाई साउन १७ गते पक्राउ गरिएको थियो ।

जिल्ला सरकारी वकील कार्यालयले उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरेपछि भएको बयान र थुनछेक बहस पश्चात् अदालतले उनीहरुलाई धरौटीमा रिहा गरिदिएको हो ।

यस्तै, गुण्डानाइके चक्रे मिलन उर्फ मिलन गुरुङ्गलाई भक्तपुर जिल्ला अदालतले आजै एक लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ ।
 

टिप्पणीहरू