परिवार दलवाला एमाले माननीयले बल्ल देखे अपमान
नेकपा एमाले सांसद तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुमाथि अपमानजनक व्यवहार हुने गरेको बताएका छन् ।
स्वदेशमा भन्दा विदेशमा धेरै समय बिताउँदै आएका उनले आज संसदीय समितिको बैठकमा एयरपोर्टमा यात्रुलाई अपमान हुने गरेको खुलाएका हुन् । यसबारे ढकालले आफ्नै पार्टी नेतृत्वको सरकारको ध्यानाकर्षण गराए ।
‘त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई अपमान गर्ने, यात्रुहरु हरेकलाई यो ठग नै हो जस्तो गर्ने, बेला बेलामा दुव्र्यवहार पनि गर्ने जुन काम पहिलादेखि भइरहेको थियो, त्यो काम रोकिएको छैन’, उनले भने ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट पाउनुपर्ने न्यूनतम सेवासमेत त्रिवि एयरपोर्टमा यात्रुहरुले पाउन नसकेको सांसद ढकालको भनाइ छ । यात्रुको आत्मसम्मानमा ठेस पुर्याउने कार्य स्वीकार्य नहुने पनि उनले स्पष्ट पारे ।
विमानस्थलमा नागरिक उड्डयन प्राधिकरण प्रमुखको शासन चल्ने गरेको परिवार दलवाला एमाले माननीयको दाबी छ । एयरपोर्ट आउजाउ गरिरहने उनले विमानस्थल अस्तव्यस्त रुपमा सञ्चालन भइरहेको बताए ।
‘एयरपोर्टमा प्राधिकरणको प्रमुखको शासन लागू भएको छ । त्यहाँ मन्त्रालयको के रोल हुन्छ मलाई थाहा छैन, उहाँको आफ्नो खुशीअनुसार कहिले पास खुला गरेको छ, कहिले बन्द गरेको छ, अपाङ्ग हुनुहुन्छ, महिला हुनुहुन्छ’, उनले असन्तुष्टि पोख्दै भने, ‘पहिला त्यहाँ चेकिङ काउण्टरसम्म पास लिएर त्यहाँ गएर पठाउने चलन थियो । त्यहाँ न कुनै वैकल्पिक व्यवस्था गरिएको छ । त्यो छैन ।’
होलिवाइन उपनामले समेत प्रख्यात ढकाल परिवार दलको अध्यक्ष हुँदाहुँदै एमालेमा पोलिटब्यूरो सदस्य छन् । फिलिपिन्स ससुराली मुलुक भएका उनी हङकङ, मलेसिया, कोरिया, अष्ट्रेलिया, भारत, फिलिपिन्स नियमित जाउआउ गर्छन् ।
सँधैजसो विदेशमा हुने भएकाले एमालेकै नेता तथा कार्यकर्ताले ढकाललाई ‘घुमुवा माननीय’ को दर्जा दिएको बताइन्छ । विदेश गैरहने भएकाले यी घुमुवा माननीयले संसदमा बोलेको पनि कमै सुनिने गरेको छ ।
टिप्पणीहरू