भक्तपुरमा पनि काठमाडौंको जस्तै आदेश

भक्तपुरमा पनि काठमाडौंको जस्तै आदेश

गुण्डा नाइकेका रुपमा परिचित च्रके मिलन उर्फ मिलन गुरुङ्गलाई धरौटीमा छोड्ने आदेश भएको छ । न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई एक लाख १० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको छ । 

उनले धरौटी बुझाइसकेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ । त्यहाँका एक अधिकारीका अनुसार उनको स्वास्थ्य परीक्षण भइरहेको छ । ‘उहाँले धरौटी बुझाइसक्नुभएको छ । स्वास्थ्य परीक्षण सकिएलगत्तै हामी रिहा गरिदिन्छौं’,ती अधिकारीले भने ।  

२०८१ भदौ १० गते साँझ साढे ६ बजे भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२, सानोठिमीस्थित दिव्यश्वरीमा रहेको बड्डाको तावा रेष्टुरेण्टमा सर्लाहीका मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको थियो । घाइतेका काका दिनेशकुमार रायमाझीले चक्रे मिलनसहितविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । 

गत साउन १६ गते राति महाराजगञ्जस्थित साम्बाला होटलमा बर्थ–डे मनाउने क्रममा होहल्ला गरेवापत पक्राउ परेका उनीसहित १९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभद्र व्यवहारको कसुरमा मुद्दा दायर भएकोमा न्यायाधीश खिमानन्द भुसालको इजलासले उनीहरुलाई धरौटीमा छोडेको थियो । 

धरौटी तिरेर छुटेलगत्तै उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइयो । उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, भक्तपुरले हिजो मुद्दा दर्ता गरेकोमा आज बयान र थुनछेक बहस भएको हो ।
 

टिप्पणीहरू