पशुपति आर्यघाटबाट हड्डी किन्ने दुई जना पक्राउ

पशुपति आर्यघाटबाट हड्डी किन्ने दुई जना पक्राउ

पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट निकालिएको हड्डी र खरानी खरिद गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त,गौशालाबाट खटिएको टोलीले आज दुई जनालाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ घर भई कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल गाउँपालिका–६ घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । 

परिसरका अनुसार ठाकुरले हड्डी किन्दा यादवले उनलाई त्यस कार्यमा सहयोग गरेका थिए । ठाकुरको साथबाट प्लाष्टिकमा राखिएको हड्डीको धुलो तथा खरानीजस्तो देखिने पदार्थ बरामद भएको परिसरले जानकारी दिएको छ । 

गत साउन २३ गते काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ घर भएर कोटेश्वर बस्ने ६५ वर्षीय राम शाहीको शवबाट हड्डी र मासु निकालिएको दाबीसहित उनका परिवारले प्रहरीमा उजुरी दिएका थिए । 

प्रहरीले त्यसैदिन पशुपति क्षेत्र विकास कोष, आर्यघाट सेवा केन्द्रबाट शव जलाउन खटिएका गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल र विनायक मैनालीलाई नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।
 

टिप्पणीहरू