चीनको दावी, भारतीय तयारी
भारतले अरुणाचल प्रदेशको सि–योमी जिल्लामा एक हजार ५०० मेगावाट क्षमताको टाटो–२ जलविद्युत् आयोजना निर्माणका लागि स्वीकृति दिएको छ । उक्त स्थान चीनले दाबी गर्दै आएको आफ्नो भूभागमा पर्ने बताइन्छ । यता भारत सरकारले उक्त परियोजनालाई ‘स्वच्छ ऊर्जा र सीमावर्ती विकासमा ऐतिहासिक कदम’ भनेको छ ।
तर विश्लेषकहरूले यसलाई बेइजिङलाई थप चिढ्याउने भूराजनीतिक संकेतका रूपमा लिएका छन् । भारतको यो परियोजना त्यस्तो समयमा स्वीकृत गरिएको छ उता चीन यारलुङ त्साङ्पो (भारतमा ब्रह्मपुत्र भनिन्छ) नदीको माथिल्लो भागमा ६० गीगावाट क्षमताको मेडोग जलविद्युत् आयोजना निर्माणमा जुटेपछि भएको छ । चीनको सिजाङ स्वायत्त प्रदेशको मेडोग काउन्टीमा बन्न लागेको यो जलविद्युत परियोजनालाई विश्वकै सबैभन्दा ठूलो मनिएको छ ।
चीनले यसलाई आफ्नो ‘१४औँ पञ्चवर्षीय योजना’को रणनीतिक परियोजनामा राखेको छ । जसको उद्देश्य ऊर्जा सुरक्षासँगै उक्त नदीको तल्लो तटीय मुलुकहरूमाथि जलस्रोतको नियन्त्रण गर्नु रहेको भारतीय पक्षको आरोप छ ।
अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकहरुले भारतको टाटो–२ आयोजना चीनको मेडोग बाँधलाई प्रतिवाद गर्ने ‘पूर्वाधार कूटनीति’को हिस्सा हुनसक्ने अनुमान गरेका छन् । ‘यो केवल बिजुलीको कुरा होइन,सार्वभौमिकताको प्रदर्शन हो,’ एक भारतीय सुरक्षा अधिकारीहरुले नाम नखुलाउँदै सञ्चार माध्यमहरुमा भनेका छन्, ‘चीनले दाबी गर्दै आएको भूभागमा भौतिक संरचना बनाएर हाम्रो भूभाग हो भन्ने सन्देश दिनु पनि ठूलै उपलब्धि हो ।’
रणनीतिक हिसाब र वातावरणीय जोखिम
नयाँदिल्लीले यसलाई चीनको जलस्रोत नियन्त्रण प्रयासको प्रतिकारका रूपमा व्याख्या गरेको छ । तर वातावरणविद्हरूले भूकम्प,पहिरो र आकस्मिक बाढीको उच्च जोखिम भएको हिमाली भूभागमा यस्ता विशाल संरचना बनाउनु गम्भीर खतराको चेतावनी दिएका छन् ।
केही पूर्वसैनिकले समेत सीमाना नजिकैको स्थायी र उच्च मूल्यको पूर्वाधार युद्धको अवस्थामा सजिलै निशाना बन्नसक्नेतर्फ सावधानी अपनाउन आग्रह गरेका छन् । ‘युद्धमा बाँध सार्न सकिँदैन,’ एक अवकाशप्राप्त भारतीय सेनाका कमाण्डरको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यममा गरिएको विश्लेषणमा उल्लेख छ ।
भारतको उक्त निर्णयप्रति चीनले हालसम्म आधिकारिक प्रतिक्रिया जनाएको छैन । विगतका अनुभवले अरुणाचल प्रदेशमा भारतले कुनै ठूलो निर्माण कार्य अघि बढाउँदा चीनले विरोध जनाउँदै आएको देखाउँछ । भनिन्छ अब दुई मुलकबीच नयाँ विवादको विषय उत्पन्न भएको छ ।
टिप्पणीहरू