रामहरिको राजीनामालाई एमालेले स्वाभाविक ठान्दा काँग्रेसको छुट्टै तर्क
नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजीनामालाई स्वाभाविक भनेका छन् ।
संसदीय छानविन समितिले राजनीतिक र नैतिक जिम्मेवारीमा उभ्याउनुपर्ने निष्कर्ष निकालेको कारण खतिवडाले राजीनामा दिएकाले यसलाई स्वाभाविक मान्नुपर्ने तर्क गरे । कानून निर्माणमा भएको त्रुटीका आधारमा पद छोड्नुपर्ने अवस्था बनेको बर्तौलाको भनाइ छ ।
‘राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिको राजीनामा स्वभाविक हो । समिति सचिवको सन्दर्भमा उक्त समितिबाट अन्यत्र सरुवा गर्ने कुरा नै होला । सोही समितिमा बसेर कार्यसम्पादन गर्ने कुरा र निरन्तरता दिने कुरा नहोला’, उनले भने ।
विधायिकी प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी समिति सभापति र सचिवकै हुने उल्लेख गर्दै बर्तौलाले कर्मचारीहरुमा ज्ञानको कमि भएका कारण बेलाबेला प्रश्न उठ्ने गरेको बताए । अहिलेसम्मको अनुभवले संसदमा कानून महाशाखा स्थापना गनुपर्ने आवश्यकता देखिएको जनाए ।
कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेडखानीबाट शिक्षा लिएर अगामी दिनमा कानून निर्माण गर्दा गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
यता, नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले भने संसदीय छानविन समितिको प्रतिवेदनको पूर्णरुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । खतिवडाले नैतिक र राजनीतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिएको उल्लेख गर्दै उनले प्रतिवेदनले किटान गरेका अन्य व्यक्तिमाथि कानूनी कारबाही हुनुपर्ने बताए ।
कर्मचारीको दुई वर्षे कुलिङ पिरियडको व्यवस्था निष्क्रिय हुनेगरी अर्को दफा थपिएपछि संसदीय छानविन समिति गठन गरिएको थियो । समितिको प्रतिवेदनमा राज्य व्यवस्था समितिका सभापतिलाई नैतिक जिम्मेवार ठहर्याईएको छ भने मुख्य सचिव, प्रधानमन्त्री कार्यालयका सचिव र कानुन मन्त्रालयका सचिवले पदीय आचरण अनुकूल काम नगरेको निष्कर्ष दिइएको छ ।
टिप्पणीहरू