मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्ने कांग्रेस सांसदहरु गायब

मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्ने कांग्रेस सांसदहरु गायब

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने अन्तिम तयारी गरिरहँदा नेपाली काँग्रेसका प्रदेश सदस्यहरु सम्पर्कविहीन बनेका छन् । निर्वतमान मुख्यमन्त्री बहादुरसिंह लामासहित १४ सांसद मोबाइल अफ गरेर सम्पर्कविहीन भएपछि आपत परेको छ ।

जनआस्थाले लामा र उनी निकट केही सांसदको मोबाइलमा सम्पर्क गर्न खोज्दा पनि अफ सुनिन्छ । यद्यपि, उनीहरु काठमाडौँमै रहेको काँग्रेस स्रोतको दाबी छ ।

तीनजना मन्त्री नियुक्त हुनुपर्ने बटमलाइनसहित पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेर हेटौंडा फर्किएको भनिएका उनीहरु एकाएक सम्पर्कविहीन भएका हुन् । 

११० सदस्यीय प्रदेश सभामा बानियाँलाई विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन आवश्यक हुन्छ । हाल एमालेका २७ र कांग्रेसका ३७ प्रदेश सभा सदस्य छन् । तर अन्तिम अवस्थामा लामासहित १४ जना सम्पर्कविहीन भएपछि मुख्यमन्त्री बानियाँ अफ्ठ्यारोमा परेका हुन् । 

यद्यपि, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भए पनि सरकारमा सहभागी गराएर आजै विश्वासको मत लिने बानियाँको तयारी छ । प्रदेशसभामा राप्रपाका १३ सांसद छन् ।

टिप्पणीहरू