एकातिर क्रान्तिकारीका नेता रिहा, अर्कोतिर विश्वविद्यालयको हारगुहार

एकातिर क्रान्तिकारीका नेता रिहा, अर्कोतिर विश्वविद्यालयको हारगुहार

त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार र रेक्टरको कार्यालय तोडफोड गरेको आरोपमा पक्राउ परेका माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का विद्यार्थी नेताहरु २० घण्टापछि रिहा भएका छन् । त्रिवि परिसरमा हिजो प्रहरीसँग झडप हुँदा पक्राउ परेका १३ जना नेता केहीबेर अघि रिहा भएका हुन् । 

अन्तराष्ट्रिय सम्बन्ध, द्वन्द्व शान्ति र विकास, समाजिक कार्य र लैङ्गिकतासम्बन्धी अध्ययन कार्यक्रमलाई केन्द्रीय विभागमा गाभिँदा पनि शुल्क नघटाइएको भन्दै १९ दिनदेखि आन्दोलनरत विद्यार्थीहरुले त्रिवि नेतृत्वबाट माग सम्बोधनको लागि कुनै चासो नदेखाइएको आरोप लगाउँदै हिजो उपकुलपति, रजिष्ट्रार र रेक्टरको कार्यालयमा तोडफोड गरेका थिए । सो क्रममा भएको झडपमा त्रिभुवन विश्वविद्यालय इकाइ कमिटीकी इन्चार्ज ममता जोशि घाइते भएकी थिइन् । 

अहिले उनको अवस्था सुधार आएको विद्यार्थी नेता प्रविण दाहालले जानकारी दिएका छन् । उनका अनुसार त्रिविको शुल्क असुलीविरुद्धको आन्दोलन भने जारी रहनेछ । 

उता त्रिविले सुरक्षाको माग गर्दै सरकारलाई गुहारेको छ । उपकुलपति प्रा.डा दीपक अर्यालको तर्फबाट त्रिवि परिसरमा सुरक्षित भएर हिँड्नै नसक्ने अवस्था भएको जनाउँदै सुरक्षाको माग गर्दै गृह र शिक्षा मन्त्रालयलाई पत्र लेखिएको छ ।

टिप्पणीहरू