शनिबार बालुवाटारको त्यो एकल साँझ
एमाले अध्यक्ष केपी ओलीले गत शनिबार विभिन्न भ्रातृ संगठनका शीर्ष नेतृत्वलाई जम्मा पारेर आदेश दिए, ‘अब संगठन विस्तारमा लाग्नुस् ।’ उनले पार्टीभित्र फरक मत राख्नेहरूको कुनै हैसियत नरहने घुमाउरो पारामा चेतावनी दिँदै सबैलाई गुट र फुटको झमेलामा नपरी अगाडि बढ्न भनेका थिए ।
शनिबार साँझ पौने सातदेखि सवा ९ बजेसम्म बालुवाटारमा कालो चिया र कुकिज खुवाएर उनले ७५ जनाजति नेतालाई प्रशिक्षण दिए । सो अवसरमा विद्या भण्डारीलाई खेदो नखन्नसमेत आग्रह गरे । सहभागी एक नेताका अनुसार उनले भने, ‘विद्या भण्डारी सम्मानित व्यक्तित्व हो । हामी सबैले उहाँलाई सम्मान गर्नुपर्छ । उहाँलाई व्यक्तिगत रूपमा गाली नगर्नू र पक्ष विपक्षमा मत जाहेर गर्दै नहिँड्नू ।’
सहभागीहरूका अनुसार उनले कुनै व्यक्तिले फरक मत राखिहाल्यो भने पनि उसलाई सम्झाउने र बुझाउने काम गर्नू तर लखेट्ने कामचाहिँ नगर्नू भनेका थिए । सो भेलामा केपी ओलीले मात्र विचार राखेको र अरू कसैले नबोलेको प्रसंग कोट्याउँदै एक सहभागीले भने, ‘त्यो एकल साँझ थियो, अरू कसैले प्रस्तुति राख्ने कुरै भएन ।’ भानुभक्त ढकालले कार्यक्रम शुरु गरेपछि केपी ओलीले सिधै प्रशिक्षण दिन थालेका थिए । भानुभक्तले यो विधान महाधिवेशन तयारीको अवस्था रहेकाले त्यसमा मात्र केन्द्रित भएर बोल्न भनेकाले पनि हुन सक्छ केपी ओली अरूबेला जस्तो धेरै बहकिएनन् ।
कार्यक्रममा एमालेको २३ वटा जनवर्गीय संगठनका अध्यक्ष, इञ्चार्ज र महासचिवलाई निमन्त्रणा गरिएको थियो । जसमा जम्मा चार जना इञ्चार्ज र एक जना अध्यक्षको मात्र अनुपस्थिति रह्यो । केपी ओलीसँगै बसेर बैठक गर्न पाउने सो अवसर गुमाउनेमा अपांगता संगठनका इञ्चार्ज धर्मदत्त देवकटा, मुस्लिम संगठनका हालिम हलवाई, खेलकुद इञ्चार्ज जगन्नाथ थपलिया र पिछडा वर्गकी कमलादेवी महतो थिए । जनसंगठनका परिभाषित मान्छेहरूको मात्रै सहभागी रहेको हुँदा विरोधका आवाज बोल्नेहरू कोही थिएनन् ।
सहभागीहरूका अनुसार ओलीले आफ्नो विदेश यात्रादेखि आन्तरिक राजनीतिसम्मको कुनै पनि विषय राखेनन् । अहिले अलग्गै पार्टी भएको कारणले प्रचण्डको स्वाभाविक आलोचना गरिएको उनले प्रष्ट पारेका थिए । हिजो एउटै पार्टीमा रहँदाको अवस्था पक्कै पनि होइन, त्यसैले सामान्य आलोचनालाई उहाँहरूले पनि स्वाभाविक रूपमा लिनुपर्छ भन्ने ओलीको आग्रह थियो ।
(जनआस्था साप्ताहिकको साउन २१ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू