बाँच्दा रास्वपा, मर्दा कांग्रेस
बाँच्नु मात्र पर्छ, अनेक थोक देख्न पाइन्छ भन्ने उखानलाई सम्झाउने एउटा घटना ताप्लेजुङमा घटेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य टेकराज निरौलाको निधन भएपछि झण्डा भने कांग्रेसको ओढाएर सद्गत गरिएको छ । नेपाल प्रहरीको हवल्दारबाट पेन्सनमा निक्लेका निरौला सदरमुकाम फुङलिङमा हवल्दार बा का नामबाट चिनिँदै आएका थिए । उनको निधन साउन १५ गते भएपछि दाहसंस्कारको निम्ति भोलिपल्ट कावेलीघाट लगियो ।
भूतपूर्व हवल्दार भएका कारण घाटमा नेपाल प्रहरीले अन्तिम सलामी दिएको थियो । सलामी लगत्तै पार्थिव शरीरमा कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले चारतारे झण्डा ओढाए । जबकि उनी रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीमा सम्बद्ध रहेको खुलेको छ । उनले २०८० साल भदौ १९ गते रास्वपाको सदस्यता लिएका थिए । उनको सदस्यता नम्बर टिए १ क–००००५२३५८ हो ।
पार्टी रास्वपा तर झण्डा कांग्रेसको ओढेका हवल्दार बाको श्रद्धाञ्जली सभा भने रास्वपाले पनि आयोजना गरेको छ । सो सभामा रास्वपा ताप्लेजुङका अगुवा राजन गुरुङले निरौलाको कामको प्रशंसा गर्दै आफूहरूलाई संधै सल्लाह सुझाव दिनुहुने एक अगुवा भएको बताएका थिए । स्वर्गीय हवल्दार बा का छोरा गणेशबाबु निरौला कांग्रेस ताप्लेजुङ जिल्ला शाखाका सचिव हुन् ।
– उदयवीर नेम्वाङ
(जनआस्था साप्ताहिकको साउन २१ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू