चौरासीअघि केपी ओलीले चल्न सक्ने चाल

चौरासीअघि केपी ओलीले चल्न सक्ने चाल

अमृत बोहरा, केशव बडाल, सत्यनारायण मण्डल, मोदनाथ प्रश्रित, बामदेव गौतम, प्रदीप नेपाललगायतका नेताहरूलाई लागेको ७० वर्षे उमेर हद केपी ओलीलाई लागेन । उनले जे भन्यो त्यो नै एमालेको विधि र विधान बन्ने अवस्था बन्दै गयो ।

प्रचण्डलाई छाडेर एमालेमै बसिरहेका पूर्व माओवादीहरू लगभग विलयको अवस्थामा पुगे । तर, यस्तो देख्दादेख्दै पनि माओवादीका केही नेता भने एमालेमा पस्न निरन्तर संवादमा रहेको एमाले उच्च स्रोतको दावी छ । एक जना पदाधिकारीले नामै तोकेर भने, ‘ जनार्दन शर्मालगायतका केही नेता घनिभूत संवादमा हुनुहुन्छ ।

कतिपयले चाहिँ जनार्दन शर्माले प्रचण्डलाई धम्क्याउन मात्र यसरी भेटघाट बाक्लो बनाएको निश्कर्ष निकालिरहेका छन् । तथापि उनले देशभरि फैलिएको आफ्नो छुट्टै नेटवर्कमा केपी ओली ढुलमुले नभएर आफ्ना कुरामा प्रष्ट र अडिग रहन सक्ने नेता हुन् भन्ने सन्देश पठाइरहेको बताइन्छ । माधव नेपालको समाजवादीका केही सांसद पनि एमालेको सम्पर्कमै छन् भनिन्छ । उता विप्लव स्वयं नै सम्भावित बाटोबारे छलफल गर्न एमाले महासचिवलाई भेट्न गइसकेको अवस्था हो । उनले पछिल्लो डेढ घण्टा जतिको भेटमा निकै घनिभूत रूपमा छलफल गरेको च्यासल स्रोतको दावी छ । 

एमाले नेताहरू के कुरामा ढुक्क छन् भने केपी ओली प्रधानमन्त्रीको कुर्सीबाट निक्लेपछि पार्टी बलियो बनाउने र अन्य दलबाट ठूलो संख्यामा नेता–कार्यकर्ता भित्र्याउने तयारीमा छन् । अहिले सरकार प्रमुखको समेत जिम्मेवारी र कामको बोझले गर्दा त्यतातिर जमेर लाग्न नपाएकाले मात्र हो नत्र अहिले माओवादी र नेकपा समाजवादीमा पहिरो गइसक्ने थियो ।

एमाले नेताहरू के भन्छन् भने बाहिर जसले केपी ओलीको विरोध गरिरहेका छन् त्यसको मुख्य कारण उनीहरूले भेट्न नपाउनु हो । उनी कति चतुर छन् भने जानीजानी नचाहिँदा कुरा बोलेर र मानिसहरूलाई तथानाम भनेरसमेत सार्वजनिक माहोल र ध्यान मोड्न सक्छन् । चौरासी सालमा म यसो गर्छु, त्यसो गर्छु भन्ने उनको आधार अरु केही नभएर चालिरहेको गोटीले दिने अपेक्षित परिणाम नै हो । ओली कसलाई कहाँ हान्दा कस्तो रिजल्ट आउँछ भन्ने कुराका ज्ञाता हुन् । आफूले चाहेको नतिजा निकाल्न जे गर्न पनि हिचकिचाउँदैनन् । उदाहरणका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेको पक्षमा सङ्कलन गरेको हस्ताक्षरका सम्बन्धमा आएको टिप्पणी पेश गर्दै एक एमाले नेताले भने, ‘तिमीहरूले नेपालको जनसंख्याभन्दा बढीको हस्ताक्षर सङ्कलन गर्‍यौ, यो कुरा कसरी पत्याउनु भनेर जसरी केपी ओलीले बोले अरु नेता भए त्यसरी बोल्दैनथे । यसरी उनले बोल्नुको अर्थ हो– घण्टीका नेता–कार्यकर्ताले यत्रो दिन दुःख गरेर सङ्कलन गरेको हस्ताक्षरलाई मान्यता नदिनु ।’ ओलीले त्यसो भनेपछि धेरैको टिप्पणी सुन्न थालिएको छ– ‘एउटै मान्छे दिनभरि बसेर गरेको हस्ताक्षरलाई कसरी आम जनताको हस्ताक्षर मान्न सकिन्छ?’ 

ओलीको यस खाले चालबाजी हेरिरहेका एमाले नेताहरू के कुरामा निश्चिन्त छन् भने यदि स्वास्थ्यले साथ दिइरह्यो भने उनले ०८४ सालमा अनपेक्षित नतिजा निकाल्नेछन् । त्यसका लागि कोसँग कस्तो सम्झौता गर्नुपर्छ त्यो गर्ने पक्का छ । माधव र प्रचण्डका धेरै नेता कार्यकर्ता ल्याएर अहिले आफूसँग निकट व्यक्तिहरू भन्दा वर राख्नेसम्मको काम गर्ने सम्भावना पनि छ । त्यसो गर्दा ती दुई पार्टीको अवस्था नाजुक बन्छ र एमालेभित्र नयाँ ढङ्गको रक्तसञ्चार शुरु हुन्छ । यसरी अन्यत्रका नेताहरूलाई जे जे माग्छन् त्यो दिएर भए पनि ल्याउनुपर्छ भन्ने कुरामा उनलाई शंकर पोखरेलले समेत साथ दिइरहेको अवस्था छ ।

शंकर पोखरेलले विप्लवलाई त्यही आशयका साथ भनिसकेका छन्, ‘तपाईँहरूलाई संसदीय राजनीतिमा हामीले नै लिएर आएका हौँ । फेरि पनि उचित सम्मान र स्थान दिन तयार छौँ । सामूहिक खेती प्रणालीदेखि जे जस्ता काम गरिरहनुभएको छ ती प्रशंसायोग्य छन् । यस्ता असल प्रयासहरूको समेत हामी सम्मान गर्छौं ।’ पोखरेलले विप्लवलाई यदि माओवादीको पकड क्षेत्रमा गएर चुनाव लड्ने हो भने एमालेमा प्रवेश नगरे पनि पूर्ण रूपमा साथ र सहयोग दिने वचनसमेत दिइसकेको बताइन्छ ।

(जनआस्था साप्ताहिकको साउन २१ गते बुधबारको अंकमा प्रकाशित)

टिप्पणीहरू