राप्रपाको अन्तरकलह : भुसको आगो

राप्रपाको अन्तरकलह : भुसको आगो

गुटगत लडाई उत्कर्षमा पुगेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफू वरपरका नेतासँग गुप्त छलफल गरेका छन् । 

बत्तिसपुतलीस्थित एक होटलमा अहिले छलफल चलिरहेको बताइएको छ । इतर खेमाले बलियो चुनौती दिन थालेपछि शक्ति सञ्चयको प्रयासस्वरुप लिङ्देनले यस्तो छलफल थालेको स्रोतको दाबी छ ।

गत सोमबार महामन्त्री धवलशमशेर राणाले नेतृत्व गरिरहेको इतर समूहले पनि छुट्टै भेला गरेको थियो । हात्तिसारस्थित नेपाल हाउसमा सम्पन्न भेलाले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेको छ । 

तर, अध्यक्ष लिङ्देन भने बैठक बोलाउनुको साटो आफ्नो पक्षलाई सुदृढ गर्ने प्रयासमा रहेको देखिन्छ । उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यको भेला भनिए पनि सोमबार हात्तिसार पुगेका कसैलाई पनि आज नबोलाइएको बुझिएको छ ।

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्ददेखि पुराना नेता डा. प्रकाशचन्द्र लोहनी हुँदै उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्तीकुमारी शाही, बागमती प्रदेश अध्यक्ष विक्रमबहादुर थापा, कर्णाली प्रदेश अध्यक्ष दीपबहादुर थापालगायत राणाको पक्षमा खुल्दा अध्यक्ष लिङ्देनलाई भने उपाध्यक्ष बुद्धिमान तामाङहरुको साथ छ । 

नयाँ पुस्तालाई पार्टीमा समेट्ने नाममा अध्यक्ष लिङ्देनले राजनीतिक आधार नभएका रवीन्द्र मिश्र, ज्ञानबहादुर शाहीजस्ता नवप्रवेशीलाई बढी महत्व दिएपछि राप्रपामा लामो समयदेखि पुराना नेताहरुको ठूलो समूह असन्तुष्ट छ । यसबीच दरबार निकट भनिएका अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी र प्रवक्ता सगुन सुन्दर लावतीलाई जिम्मेवारीबाट हटाइएपछि पूर्व पञ्चहरूको पार्टीमा किचलो थप चर्किएको हो । 

यो विवादलाई आउँदो महाधिवेशनसँग जोडेर दुवै पक्षले आ–आफ्नो गतिविधि अघि बढाएको पाइन्छ । अर्को कार्यकालका लागि अध्यक्षको तयारीमा रहेका लिङ्देनलाई महामन्त्री धवल समशेरले चुनौती दिने तयारी थालेको बताइन्छ ।

टिप्पणीहरू