मेयर थापा भ्रष्टाचारी ठहर, अवैध आम्दानी साढे तीन करोड

मेयर थापा भ्रष्टाचारी ठहर, अवैध आम्दानी साढे तीन करोड

विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतले तीन करोड ४५ लाख २२ हजार ३८७ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै मेयर थापालाई एक वर्ष कैद र बिगो बराबरको रकम जरिवाना हुने फैसला सुनाएको छ ।

न्यायाधीशहरू अदालतका अध्यक्ष टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाको कूल आम्दानी नौ करोड १४ लाख ३१ हजार र खर्च १२ करोड ५९ लाख ५३ हजार हुँदा तीन करोड ४५ लाख २२ हजार ३८७ बढी आर्जन देखाएको रकमलाई स्रोत पुष्टि हुन नसकेको ठहर गरेको छ । उक्त रकमलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसूर ठहर गरिएको छ ।

अदालतले मेयर थापालाई नदीजन्य पदार्थको ठेक्कामा हानिनोक्सानी पुर्याएको अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर गरेको छ । उक्त मुद्दामा ३० करोड २९ लाखभन्दा बढीको नदीजन्य पदार्थमा हानिनोक्सानी गरेको ठहर गर्दै अदालतले थापालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसूर गरेको ठहर गरेको छ ।

टिप्पणीहरू