एमालेलाई नफापेका पुलिसहरू
नेकपा एमालेका नेता तथा नेपाल प्रहरीका पूर्व डिआइजी नवराज सिलवालले अब 'झोले' नबन्ने घोषणा गरेका छन् ।
एघारौँ महाधिवेशनमा केन्द्रीय सदस्य हारेपछि बैराग्यता पोख्दै उनले 'झोला बिसाउने' अठोट सुनाएका हुन् । पार्टी परित्याग वा गुट फेर्न लागेको संकेत गर्दै सिलवालले 'झोलामुक्त यात्राको प्रसङ्ग विशेष हुने' बताए ।
पछिल्लो समय नेकपा एमालेका कार्यकर्तालाई 'झोले' उपनामले चिन्ने गरिन्छ । अध्यक्ष केपी शर्मा ओलीको चाहनामुताविक कार्यकर्ताले 'झोले अभियान' समेत चलाएका थिए ।
सिलवालले सामाजिक सञ्जालमा लेखेका छन्, 'प्रतिकूलतामा अन्तरमनको आवाजले पुकारेपछि एउटा परिस्थितिमा पुग्छ मान्छे । म सचेत छु, निष्ठाको बाटो कठिन हुन्छ तर ब्यागेज बिहीन यात्राको प्रसंग विशेष हुन्छ ।'
२०७४ को चुनावअघि डिआइजीबाट राजीनामा दिएर एमालेमा प्रवेश गरेका उनी अध्यक्ष ओलीनिकट मानिन्थे । तर, पदाधिकारीसहित सिंगो केन्द्रीय कमिटीमा सबैजसो ओलीका मान्छेले बाजी मार्दा उनी भने पराजित भएका छन् ।
सिलवालले पार्टी छोड्न लागेको संकेत गर्दै स्टाटस लेखेपछि 'एमालेलाई पुलिस नफाप्ने' टिप्पणी हुन थालेको छ । यसअघि पूर्वआइजीपी सर्वेन्द्र खनालले सो पार्टी छाडिसकेका छन् ।

टिप्पणीहरू