कांग्रेस महामन्त्रीको रास्वपालाई सुझाव, सरकारमाथि प्रश्न

कांग्रेस महामन्त्रीको रास्वपालाई सुझाव, सरकारमाथि प्रश्न

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव दिएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणका सन्दर्भमा रवि लामिछानेको पार्टीका नेता र सांसदहरुलाई त्यस्तो सल्लाह दिएका हुन् । यो प्रकरणलाई आवेगमा आएर नहेर्न शर्माले आग्रहसमेत गरे । 

रवि गृहमन्त्री भएको समयमा सबैभन्दा बढी भिजिट भिसामा मान्छे विदेश गएको उल्लेख गर्दै उनले प्रश्न गरे, ‘रविजीकै पालामा बढी मानव तस्करी भएको भन्ने तपाईहरुको निष्कर्ष हो ?’

‘त्यसैले आवेगमा आएर विषयवस्तुलाई नहेरौँ । रास्वपालाई मेरो सुझाव छ’, शर्माले सुझाउँदै भने, ‘नयाँ दल, अनुभवले खारिन बाँकी छ त्यसकारण तपाईहरु तीनवटा ‘अ’बाट मुक्त हुनुस् । अतार्किक अडानबाट, आवेगबाट र अराजक शैलीबाट ।’

मानव तस्करीको विषयमा प्रश्न उठाउँदा उनले रास्वपाले नै छानेको उपसभामुख इन्दिरा राना मगरको विषयसमेत कोट्याए । भिजिट भिसाको विषयमा छानविन भइरहेको भएपनि रास्वपाका नेताहरुकै अडानका कारण उपसभामुखको फाइल पेण्डिङमा गएको शर्माले सुनाए ।

गृहमन्त्रीको नैतिकतामा प्रश्न उठाउने रास्वपा नेताहरूले उपसभामुखको नैतिकतामा प्रश्न उठाउनु पर्दैन ? उनको सोधाई छ । लामो सम्बोधनका क्रममा महामन्त्री शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि पनि केही प्रश्न उठाए । 

सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त जिबी राई पक्राउ नपर्नुको कारण माग्दै सोधे, ‘सहकारी ठगहरुमध्ये कोही जेल गए, तर कयौँ व्यक्तिलाई अझै कानुनी कारवाहीको दायरमा ल्याइएको छैन, यो किन ढिला भइरहेको छ ? जिबी राईका दुई पार्टनर (रवि लामिछाने र छविलाल जाेशी) जेलमा छन्, तर जिबी राईलाई मलेलियाबाट ल्याउने प्रक्रियामा किन कुनै परिणाम देखिएको छैन ? हाम्रो कूटनीति र प्रशासनिक शक्ति यति कमजोर हाे ?’

टिप्पणीहरू