शिव खेरा र सि जिनपिङको ‘यु क्यान वीन !’
चीनको फुजिआन प्रान्त, अन्तर्राष्ट्रिय आर्थिक सहयोग केन्द्रको आयोजनामा बिआरआई सम्झौतामा हस्ताक्षर गर्ने मुलुकहरूबीच कानूनमा आधारित अन्तर्राष्ट्रिय वातावरण निर्माण सम्बन्धी गोष्ठीमा भाग लिएर आएको भोलिपल्ट गत शनिबार विश्वविख्यात पुस्तक ‘यु क्यान वीन’ का लेखक शिव खेराको अन्तर्वार्ता मोबाइल चलाउँदा चलाउँदै युट्युबमा देखियो । लाइभ हिन्दुस्तान पोडकास्टमा वरिष्ठ पत्रकार एवम् लेखक नीरज भारद्वाजसँग खेरा दनदनाएर बोलिरहेका थिए। शीर्षक थियो, ‘कैसे बनेगा भारत विकसित राष्ट्र ?’ उनी पत्रकारको प्रश्नलाई दह्रो जवाफ दिइरहेका थिए– देशको हितलाई आफ्नो भन्दा माथि राख, देश आफैं से आफैं बन्छ ! उनका यी कुरा फुजिआनमा रहँदा नै युट्युब र फेसबुकमा हेर्न पाएको भए कति रोचक र रोमाञ्चित हुने थियो होला !
शुरुआत चीन भ्रमण र त्यहाँको अवस्थाबाटै गरौं । यो एसियाको पूर्वी भागमा अवस्थित देश हो, जो प्रशान्त महासागरको पश्चिमी किनारमा पर्छ । चीनको क्षेत्रफल ९६ लाख वर्ग किलोमिटर, अर्थात् विश्वकै तेस्रो ठूलो देश हो । चीनमा ५६ जातीय समूहहरू बसोबास गर्छन् । जनसंख्या एक अर्ब ४१ करोडमाथि छ । चीनमा हाल ३४ वटा प्रदेशस्तरीय प्रशासनिक क्षेत्र रहेका छन्, जसमा २३ प्रान्त, पाँँच स्वायत्त क्षेत्र, चार महानगर केन्द्र सरकारअधीन र दुई विशेष प्रशासनिक क्षेत्र छन् ।
राजधानी बेइजिङमा दुई करोड मानिस बसोबास गर्छन् । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो । यो संसारकै सबैभन्दा ठूलो औद्योगिक मुलुक, ठूलो सरसामान निर्यातकर्ता, र सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चित रहेको देश पनि हो । प्रतिव्यक्ति आम्दानी सन् २०२४ को तथ्याङ्क अनुसार वार्षिक १३ हजार ४३२ डलर, अर्थात् ९५ हजार ८०९ युआन रहेको छ । नेपाली मुद्रामा साट्दा त्यो प्रतिव्यक्ति वार्षिक १८ लाख ६४ हजार ४४३ रुपैयाँ हुन आउँछ ।
चीनमा सन् १९४९ मा माओत्से तुङको नेतृत्वमा किसान क्रान्ति भएको थियो । सन् १९७८ मा देंग सियाओपिङको नेतृत्वमा आर्थिक सुधारको सुरुआत र सन् २०१३ देखि राष्ट्रपति सिको नेतृत्वमा द्रुततर गतिमा चीन लम्किरहेको छ ।
चीनको विकास तथ्याङ्क मनमा मडारिरहँदा भारतीय व्यवस्थापनविद् शिव खेरा अर्कै कुरा बोलिरहेका थिए । भारत समृद्ध बनिरहेको भन्ने सुनिरहेको छु । प्रधानमन्त्री नरेन्द्र मोदी यही कुरा दोहोराइरहेका छन्, तर उनको कुरासँग म सहमत छैन । म उनकै मन्त्री नितिन गडकरीको भनाइ दोहोर्याउँदै भन्छु– खेराले खरो तर्क अगाडि सार्न थाले– ८४ करोड भारतीयलाई सरकार खाना खुवाइरहेको दाबी गरिरहेको छ । मलाई हाँसो उठ्छ, गरिब नभएका भए सरकार त्यति धेरै मानिसलाई खाना खुवाउन किन बाध्य हुन्थ्यो होला र ?
दिनहुँ जसो चिनियाँ सरकारको खर्च र टिकटमा विभिन्न नामका चीन भ्रमण गर्ने नेपाली नेता, कर्मचारी, बुद्धिजीवी, व्यापारीले चीनमा सिकेका कुरा नेपालमा पनि ‘वी क्यान वीन’ कति अभ्यास गरेका होलान् त ? कहीं कतै देख्न, सुन्न र पढ्न पाइन्छ ?
उनले आफ्नो भनाइ पुष्टि गर्न जबर्जस्त तर्कहरु अगाडि सारिरहे– भारतको आधा जनसंख्या दुई छाक आफैं कमाएर खानसक्ने हैसियतमा छैन । यसरी पनि देश समृद्ध बन्न सक्छ ? इमान्दार व्यवस्थामा बेइमान पक्राउ पर्छ, तर बेइमान व्यवस्थामा चोर संरक्षित भइरहन्छ। यस्तै पारामा भारत रहिरहने हो भने अर्को सय वर्षसम्म पनि चीनको स्तरमा पुग्न सक्दैन । देशलाई उडुसले जसरी चुसिरहेका ७०–८० जनालाई कारबाही गरेपछि मात्र मेरो विचारमा भारत चीनको गतिमा अगाडि बढ्न सक्छ।
खेराले भने, ‘चीनमा पछिल्लो १० वर्षमा जति काम भयो, भारतको अहिलेको गतिले सय वर्षमा पनि त्यति विकास गर्न सक्दैन। किनभने, चीनमा भ्रष्टाचारीलाई बिना भेदभाव मृत्युदण्डसम्म दिइन्छ । सडक, पुल, भवनको डिजाइनदेखि गुणस्तरसम्ममा अमेरिकालाई चीनले उछिनिसकेको छ तर भारतमा नयाँ बनेका पुल, भवन र सडक बनिन नपाउँदै भत्किनु नियमितता ठानिन्छ, किनभने यहाँ भ्रष्टाचार चरमचुलीमा छ ।’
ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन अनुसार भारतमा घुसखोरी उच्च छ। चीनमा भने भ्रष्टाचारको सीमा धेरै तल झरिसकेको छ । खेरा विश्वासका साथ भन्न सक्छन्– ‘कायर र भ्रष्टले देशलाई कहिल्यै महान बनाउन सक्दैनन्। देशलाई अगाडि बढाउन इमान्दारी, बफादारी र मेहनत चाहिन्छ– बदनियत, बेइमानी र भ्रष्टाचार होइन ।’
चीनमा विकास कसरी सम्भव भयो ?
चीनमा भइरहेको विकासलाई नाङ्गो आँखाले देख्न सकिन्छ । विकासविद्हरू भन्छन्– चीनमा भइरहेको अद्भुत विकास जादुको छडी घुमाएर भएको भने होइन। अहिलेसम्मका विकास, अनुभव, दृढता र व्यवस्थापनको उत्कृष्टतासँगै चीनको विशिष्टता घुलिएको छ। जसलाई हेर्न, बुझ्न र जान्न संसारभरका विज्ञहरू उत्सुक हुँदा रहेछन् । के होला त्यो विशेषता ?
तीन सातासम्म चलेका विभिन्न गोष्ठी, विज्ञ प्राध्यापक र विशेषज्ञहरूको प्रस्तुति, स्थलगत अध्ययन भ्रमण र त्यहाँ भएका घनिभूत छलफल चीनको चमत्कारलाई विभिन्न आयाम र दृष्टिकोणबाट चिरफार गर्नु र पर्घेल्नु नै थियो। चिनियाँहरूको तोकिएको समयमा हरेक काम फत्ते गर्ने व्यवहारले फर्किने दिनसम्म पनि नेपाल, केन्या, नाइजेरिया, इराक, इथियोपिया, प्यालेस्टाइनका सहभागीहरूलाई कायल बनाइरह्यो ।
समयप्रति चीनका प्रत्येक नागरिकमा एउटा अचम्मकै सचेतता रहेछ ! त्यहाँको फास्ट ट्रेन मात्र समयमा हिँड्ने र समयमा पुग्ने भन्ठानेको त्यो मात्रै होइन रहेछ– चीनका प्रत्येक व्यक्ति समयको पालना समयमै गर्ने रहेछन्। समयको पालनामा किन्तु, परन्तु, कमा, फुलस्टप केही नलाग्ने रहेछ ! कोही कहिल्यै ढिलो नहुने। जतिबेला भनेको छ, त्यति नै बेला। इङ्लिस टाइमबारे स्कूलमा पढेको निबन्धको धङ्धङी चीनको फुजिआन प्रान्तमा व्यवहारमा देखियो ! यसबाट हाम्रो टोलीले राम्रो शिक्षा पायो– समयमा सुरु गरिएको काम त्यसैले चीनमा समय अगावै सकिने रहेछ। जुन सहभागी देशका प्रतिनिधिहरूका लागि सबैभन्दा ठूलो चुनौती थियो।
फुजिआनको विस्तार
फुजिआन प्रान्त नपुगुञ्जेल थाहा थिएन– यो प्रान्तमा त चीनका वर्तमान राष्ट्रपति सि जिनपिङले जिम्मेवारी लिएर काम गरेका रहेछन्। उनले यहाँ १७ वर्ष काम गरेर यो प्रान्तको रूपरेखा तयार पारेका मात्र होइन, चीनको त्यस्तो प्रान्तमा फुजिआनलाई रुपान्तरण गरेछन् कि उनले देशको राष्ट्रपति बनेपछि फुजियान मोडललाई चीनभरि विस्तार गर्ने अभ्यास गरे। माओत्से तुङको नेतृत्वमा जग हालिएको जनवादी गणतन्त्र चीनमा विकासको फड्को मार्ने आधार तीन दशकपछि सुधारक देंग सियाओपिङले तयार पारेका थिए ।
सि चीनका यस्ता बत्ती हुन्, जसले अन्धकारमा पुगे पनि त्यो ठाउँ उज्यालो पारिछाड्छन्।’
वर्तमान राष्ट्रपति सिले त्यही राजमार्गमा द्रुत गतिले विकासको गाडी कुदाइरहेछन्। विश्वको महाशक्ति भनिने अमेरिकालाई हरेक क्षेत्रमा चीनले उछिन्ने अवस्थामा पुर्याएका छन् ! राष्ट्रपति सिले चीन र विश्वका मुलुकहरूसँग विस्तार गरिरहेको बिआरआई योजना विकासको मानक हो भने मानव सभ्यतामा वैभवको अभ्यास पनि हो। जसले मानव जातिकै वैभवको आकृतिलाई परिवर्तन गरिदिएको छ। विश्वका सबै मुलुकहरूलाई एक आपसमा जोड्न प्रयत्नरत रहेछ चीन। उपनिवेशवादी देशहरूले शताब्दीयौँदेखि विपन्न देशहरूमा शोषण गरे। तिनीहरूलाई कंगाल बनाए। प्राकृतिक स्रोतसाधन लुटे। अझै पनि लुट्ने क्रम जारी छ। नयाँ चीन भने विकासोन्मुख देशहरूमा विकास संरचना तयार पार्ने र एक अर्कामा उत्पादन आदान–प्रदान गर्ने वीन–वीन मोडलमा अगाडि बढ्ने योजना लिएर देखापरेको छ।
फुजिआन मात्र होइन, त्यससँग जोडिएको चच्याङ प्रान्तका अग्रणी हाङ्झौ र निङ्बो शहरको वैभव र विकासको छलाङलाई पनि अवलोकन गरियो। यी सन् यात्सेन र च्याङ–काइ–सेकको शहर पनि हुन्। साँढे दुई सय किलोमिटर प्रतिघण्टाको तीव्र रफ्तारमा चलिरहेको रेलमा पाँच घण्टाको यात्रा गरियो। विज्ञान, सूचना प्रविधि, औद्योगिक विकास, एआईका क्षेत्रमा भएका छलाङहरूलाई साक्षात्कार गरियो। व्यवस्थापकहरूसँग छलफल गरियो। तिनका उत्पादन एक सय ५०भन्दा बढी मुलुकहरूमा भइरहेको निर्यातको व्यवस्थापन, चुनौती र सम्भावनाहरूको चुस्तता बारे सवाल–जवाफ गरियो। समग्रमा तीन साताको भ्रमणकालको मिनेट–मिनेटलाई चीनको विकास, उपलब्धि र उनीहरूले प्राप्त गरेको वैभवको जानकारी पाउनका लागि सदुपयोग गरियो। अनि देशको विकासका लागि कति तत्पर हुनु पर्ने रहेछ ? मनको पारो उतार–चढाव गर्दै आउने–जाने गरिरह्यो।
सिको अभ्यास
एउटा सामान्य परिवारमा जन्मिएको सि निष्ठा, आस्था, इमानका साथ जनतालाई समुन्नत बनाउन देखेको सपनालाई यथार्थमा परिणत गर्न निष्कपट भएर लाग्यो भने दश–बाह्र वर्षमै उपलब्धि हासिल गर्न सकिने रहेछ ? यही सिकाइ लिएर सहभागी हाम्रो टोली चीनबाट फर्किएको छ।
मानव सभ्यताको नमूना बनाउन एउटा प्रदेशको जिम्मा लिएपछि सिले आफू बसेर, खटेर र नेतृत्व गरेर सम्पन्न गरेको कामको प्रभाव हेरियो। सिङ्गो चीनमा त्यसको प्रभाव विस्तार भइरहेको देखियो। सिको नेतृत्व चीनमा यति साधारण देखिँदो रहेछ कि त्यसैले उनी विश्वकै असाधारण नेताको रूपमा स्थापित हुन पुगेका रहेछन्। फुजिआन प्रान्तमा कुनै त्यस्ता सफल उद्यम देखिएनन् जहाँ उनी नपुगेका हुन् ! सिंगापुर, जापान, ताइवानमा पटक–पटक पुगेर फर्केपछि उनले स्थापना गर्न नेतृत्व गरेको फुजिआन सफ्टवेयर पार्क अहिले विश्वको अग्रणी अनुसन्धान तथा उत्पादन केन्द्र बनेको रहेछ। जहाँ उनी प्रत्येक वर्ष पुगेर विज्ञ र कामदारसँग चुनौती र सम्भावनाको बारेमा छलफल गर्दारहेछन्। '…Relation business like, support business like, work business like, and grow as business like' फिलोसोफीबाट उनी निर्देशित रहेछन्। चीन यतिखेर विश्वकै औद्योगिक कारखानामा रुपान्तरण हुँदा पनि त्यहाँको व्यापार, वाणिज्य, हरियालीयुक्त वातावरण, धुवाँधुलोविहीन सरसफाइ, संस्कृति र पर्यटनको विकास युरोप–अमेरिकाभन्दा अग्रणी रूपमा विकसित भइरहेको देखियो। घर धेरै अग्ला, सडक पेटी धेरै फराकिला ! ९९ प्रतिशत इभी गाडी गुडिरहेका। बिजुली रेल, मेट्रो कुदिरहेका।
व्यापार व्यवसाय नाफा र फाइदाका लागि मात्र हो भन्ने भाष्यलाई नयाँ चीनले फरक व्याख्या गरिरहेछ। जैविक विविधता, वातावरण संरक्षण र मानव–मैत्री यसका आधार रहेछन्। यसैमा उनी लगातार लागिरहेको देखियो। पार्क, जलाशय, हरियाली, फुलैफूलका शहर र गाउँ रहेछ चीन। मर्निङ÷इभनिङ वाकमै पाइला–पाइलामा देखियो। सकारात्मकता दर्शाउने शहर। राजधानी फुजोउलाई दार्शनिक रूपमा पो समृद्ध पारिएको रहेछ। चराचुरुंगीको चिरबिर मात्र होइन, मध्य–शहर झ्याँउकिरीको आवाजले गुन्जायमान भइरहँदा आफू शहरको केन्द्रमा कि बन–विहारमा छु भन्ने बुझ्नै कठिन भयो।
अन्त्यमा,
फुजिआन विश्वविद्यालयका प्राध्यापक ताओ हङ जुनले चीनमा भएको रुपान्तरण, विश्वव्यापी लगानी र चीनको बिआरआई योजनाका चुनौतीबारेको कार्यपत्रमा घनघोर छलफल भयो। चोटिला सवाल–जवाफपछि खाना खाँदै गर्दा उनीसँग भएको छलफल पनि कम रोचक थिएन। अमेरिकी विश्वविद्यालयमा पढेका यी खरर्र अंगेजीमा बोल्ने प्राध्यापकले भने– मैले सिसँग प्रत्यक्ष भेटघाट गर्न पाएको छैन तर उनले प्रस्तुति गरेको कार्यक्रममा भाग लिएको छु।
एउटा सन्दर्भमा भने, ‘उपनिवेशवादी देशहरूले विपन्न देशलाई लुट्नसम्म लुटे। चीनलाई पनि लुटे। जे–जे पाए, त्यही लुटे। तर हाम्रा राष्ट्रपति सि जहाँ पुग्छन्, त्यहाँको मगमगाउँदा सुन्दर फूलबाट मोहित हुन्छन्। कालिज, मृग वा अन्य पशुपन्छीबाट पनि आकर्षित भइहाल्छन्। तर उनी फूल लुछ्ने र कालिज काटेर खाने होइनन्, त्यहाँको जस्तै गरी आफ्नो देशमा फलफूल रोप्न, कालिज र मृग पालन गर्न रुचि राख्छन्। हरेक देश र समाजमा देखेका राम्रा कुरा उनी आफ्नो देशमा विकास गर्न चाहन्छन्। त्यसैले तपाईंहरूले फुचौउमा देख्नुभएका सुन्दर र उपयोगी कुरा कार्यान्वयन गर्न श्रम, साहस र धैर्यताका साथ उनी लागेकाले मात्र यो सम्भव भएको हो। उनको बानी नै छ– जहाँ पुगे, त्यो ठाउँलाई स्वर्गसरह बनाउन लागि हाल्ने। त्यसैले सि चीनका यस्ता बत्ती हुन्, जसले अन्धकारमा पुगे पनि त्यो ठाउँ उज्यालो पारिछाड्छन्।’
चीनबाट फर्केपछि लाग्यो– ‘यु क्यान वीन’ का लेखक शिव खेराले भनेको कुरा त चीनका राष्ट्रपति सिजिनपिङले अभ्यास पो गरिरहेका रहेछन् ! दिनहुँ जसो चिनियाँ सरकारको खर्च र टिकटमा विभिन्न नामका चीन भ्रमण गर्ने नेपाली नेता, कर्मचारी, बुद्धिजीवी, व्यापारीले चीनमा सिकेका कुरा नेपालमा पनि ‘वी क्यान वीन’ कति अभ्यास गरेका होलान् त ? कहीं कतै देख्न, सुन्न र पढ्न पाइन्छ ?
टिप्पणीहरू