ऐतिहासिक धरोहर संरक्षणसँगै संस्कृति र पर्यटन प्रवर्द्वन
चीनका ऐतिहासिक सम्पदायुक्त सहरहरूमा शहरीकरणको प्रक्रियासँगै पुराना भवनहरू—विशेषगरी प्रसिद्ध व्यक्तित्वका पूर्वआवासलाई पुनर्जीवित गरेर सांस्कृतिक एवम् पर्यटन एकीकरणलाई प्रवर्द्वनको नयाँ उपाय थालिएको छ ।
शानदोङ प्रान्तको छिङताओ सहरस्थित शिनान जिल्लामा रहेको चिनियाँ राजनीतिक चिन्तक तथा सुधारक काङ यौवेइको पूर्वआवास गृहमा अहिले विद्यार्थीहरूका लागि पाठ्यपुस्तकमाथि आधारित नाट्य प्रस्तुतिहरू सञ्चालन गर्न थालिएको छ । यसमार्फत् इतिहासलाई जीवित रुपमा प्रस्तुत गर्ने प्रयास थालिएको बताइन्छ ।
‘यहाँ अभिनय गर्नु केवल पात्रको भूमिका निर्वाह गर्नु मात्र होइन, मैले कक्षाकोठामा नपढाइएका विषयवस्तु पनि सिक्न पाएँ । यो अनुभव निकै फलदायी रह्यो,’ छिङताओ नम्बर ६३ माध्यमिक विद्यालयकी छात्रा ताङ हाओमिङले भनिन् ।
शिनान जिल्ला ऐतिहासिक क्षेत्र निर्माण तथा सञ्चालन केन्द्रका उपनिर्देशक यु हुआका अनुसार, ‘शहरी पुनःनिर्माण र ऐतिहासिक क्षेत्रहरूको संरक्षणसँगै हामीले हालसम्म पाँचवटा पूर्वआवास पुनःनिर्माण पश्चात् सर्वसाधारणका लागि खुला गरेका छौं । आगामी चरणमा यस्ता ऐतिहासिक भवनहरूको संरक्षण र प्रयोगलाई थप सशक्त बनाउने योजना छ ।’
दक्षिणपश्चिम चीनको छोङछिङ नगरपालिकामा पनि यस्तै प्रयास भइरहेका छन् । चिनियाँ प्रजातान्त्रिक लिगका संस्थापकमध्येका एक एवम् महान देशभक्त शेन चुनरुको पूर्वआवास गृहलाई स्थानीय संस्कृति र इतिहासको सन्देश प्रवाह गर्ने ‘सांस्कृतिक स्वागत कक्ष’मा रूपान्तरण गरिएको छ ।
‘पुनर्निर्माण मूल संरचना, शैली, सामग्री र हस्तकला अनुरूप गरिएको हो । झ्यालका जालीदेखि काठका बुट्टा समेत सन् १९३८ को अभिलेख अनुसार पुननिर्माण गरिएको छ, जसले इँटा र टायलहरूलाई जीवन्त बनाइएको छ’ छोङछिङ युचोङ जिल्लाको सांस्कृतिक पर्यटन विकास समूहअन्तर्गत परियोजना व्यवस्थापन विभागका प्रमुख इञ्जिनियर ली तोङले बताए ।
अधिकारीहरूका अनुसार अर्को चरणमा ‘प्रसिद्ध व्यक्तित्वको पाइला’ नामक भ्रमण मार्गको थालनी गरिनेछ, जसले क्षेत्रको सांस्कृतिक स्मृतिहरूलाई आपसमा जोड्नेछ र ऐतिहासिक पूर्वआवासहरूलाई एकीकृत मार्गमा ल्याएर पर्यटनमा नयाँ स्वरुप आउने छ ।
यसबाट छोङछिङ नगरपालिकाले ऐतिहासिक भवनहरू र परम्परागत शैलीका क्षेत्रहरूको संरक्षण तथा पुनःस्थापनालाई आधुनिक व्यापारिक क्षेत्रहरूसँग समायोजन गर्ने नीति अघि बढाइरहेको पुष्टि हुन्छ ।
‘शहरी पुनःनिर्माणको प्रक्रियामा हामीले ऐतिहासिक सन्दर्भको संरक्षण र पुनर्जीवनमा जोड दिएका छौं । अहिलेसम्म ३४ वटा सांस्कृतिक सम्पदासम्बन्धी पुनःसंरचना परियोजनाहरू कार्यान्वयनमा ल्याइसकिएका छन् । संरक्षण र मर्मतलाई नयाँ प्रयोग र व्यवसायिक सञ्जालसँग जोडेर हामीले पुराना भवनहरूलाई नयाँ जीवन, पुराना बस्तीहरूलाई नयाँ गति दिएका छौं,’ छोङछिङ नगर आवास तथा शहरी–ग्रामीण विकास आयोगको शहरी जीवन वातावरण निर्माण विभागका निर्देशक चौ चियाचुले बताए ।
टिप्पणीहरू