सिंहदरबारको जिम्मा सिंहलाई, च्यासल पोखरेललाई
प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विदेश भ्रमणमा रहेका बेला कार्यकारी जिम्मेवारी दुई फरक नेतालाई दिइएको छ । प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान जानुभएको छ । त्यसअघि उहाँले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिनुभएको हो ।
एमाले विधान २०४९ (संशोधन २०७८) को धारा २१ को उपधारा (२) बमोजिम प्रदान गरिएको जनाइएको छ । उक्त धारामा अध्यक्ष अनुपस्थित भएका बेलामा वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने व्यवस्था छ ।
यता, प्रधानमन्त्रीको अनुपस्थितिमा सरकारी प्रशासनिक कामकाजको जिम्मेवारी उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीको सिफारिसमा संविधानअनुसार सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकिएको हो ।
प्रधानमन्त्री आगामी शुक्रबार राति स्वदेश फर्कने कार्यक्रम छ ।
टिप्पणीहरू