गुण्डागर्दीको आरोपमा ओम्नियाका सञ्चालक पक्राउ
नेपालकै चर्चित नाइट क्लब ‘ओम्निया’ का सञ्चालक राजेन्द्र गुरुङ पक्राउ परेका छन् । काठमाडौँ प्रहरीले उनलाई हिजो ठमेलको मैतीबाट नियन्त्रणमा लिएको हो ।
साउन १४ गते नगरकोट दोहोरी साँझमा गुण्डानाइके सानुभाइ भनिने युवराज गुरुङ समूहसँग लफडा गरेर भागेका उनी प्रहरीको खोजीमा थिए । युवराज र उनका समूहका अन्य सदस्य त्यतिबेलै पक्राउ परे पनि राजेन्द्र समूहका व्यक्तिहरू भने जोगिँदै आएका थिए ।
करिब तीन दिनको अनुसन्धान र खोजीपछि हिजो साँझ उनलाई पक्राउ गरेको काठमाडौँका प्रहरी प्रमख एसएसपी विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार युवराजमाथि म्याद थप गरेर अनुसन्धान अघि बढिसकेकाे छ भने राजेन्द्रको हकमा आज म्याद थप हुँदैछ ।
यो समूहबीच झगडा परेको यो पहिलोपल्ट भने होइन । ०८० असारमा पनि राजेन्द्र सञ्चालक रहेको ओम्निया क्लबमा सानुभाइको समूह पुगेपछि लफडा परेको थियो । त्यतिबेला युवराजले राजेन्द्रको टाउकोमा हेल्मेट प्रहार गरेका थिए ।
यद्यपि जिल्ला प्रशासन कार्यालयले धरौटीमा छाडेपछि युवराज छुटे । अब दुवै जनाको रेकर्ड ट्रर्याक गरेर कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।
टिप्पणीहरू