गुण्डा खाेज्न प्रहरीकाे विशेष अपरेशन
अवैध असुली र गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । प्रहरीले गएराति ठमेलको नगरकोट दोहोरी साँझबाट उनलाई नियन्त्रणमा लिएको हो ।
गुरुङले दोहारी साँझमा झगडा गरेको खबरपछि प्रहरी टोलीले त्यहाँ पुगेर समातेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार गुरुङका केही साथी पनि पक्राउ परेका छन् ।
त्यसो त, गुण्डा नाइके गुरुङ पक्राउ परेको यो पहिलोपल्ट भने होइन । यसअघि ०८० असारमा पनि ठमेलकै ओम्निया क्लवमा लफडा गरेपछि समातिएका थिए । त्यतिबेला उनले क्लबका सञ्चालकको टाउकोमा हेल्मेटले हानेपछि प्रहरीले नियन्त्रणमा लिएर ठमेल बजार घुमाएको थियो ।
यद्यपि, जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा १० हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी मुक्त भए । गुण्डा नाइके कुमार घैँटे प्रहरी इन्काउन्टरमा मारिएपछि (०७२ भदौ) सो समूहलाई उनै गुरुङले नेतृत्व गरेको बताइन्छ ।
घैँटे मारिएलगत्तै उनले आफ्नो सुरक्षाको लागि भारतबाट बुलेट प्रुफ ज्याकेट मगाएर लगाएका थिए । तर, सोही वर्ष पुषमा उनी त्यही बुलेट प्रुफ ज्याकेट र २८ बोर रिभल्भरसहित नुवाकोटबाट पक्राउ परे । त्यतिबेला पनि उनी धरौटी बुझाएर रिहा भएका थिए ।
०७७ मा फेरि एक व्यक्तिलाई पेस्तोल ताकेको र कुटपिट गरेको आरोपमा पक्राउ परेका उनी त्यसैगरी छुटे ।
यता, प्रहरीले गुरुङजस्तै गुण्डागर्दीमा संलग्नहरुको सूची नै बनाएर खोजी थालेको छ । एसएसपी अधिकारीका अनुसार गुण्डागर्दीमा सक्रिय रहेकाहरुको खोजी र नियन्त्रणको लागि विशेष टिम नै बनाइएको हाे ।
‘गुण्डागर्दीबाट पीडित भएकाहरूको उजुरी धेरै आयो, त्यसलाई हामीले प्राथमिकता दिएर समाधानतर्फ अघि बढेका छौँ’, उनले जनआस्थासँग भने, ‘एउटा टिम बनाइएको छ, त्यो टिमले काठमाडौँमा गुण्डागर्दी गर्ने, असुली गर्नेहरुको लिस्ट तयार पारेको छ, लिस्ट परेकाहरु जहाँ जाउन्, समातिन्छन् ।’
एसएसपी अधिकारीले गएराति पक्राउ परेका गुरुङ एक प्रतिनिधि पात्र मात्रै रहेका पनि बताए । ‘त्यस्ता गुण्डागर्दीमा लागेर आतंक मच्चाउने, आफ्नो साम्राज्य बनाउन खोज्ने ५० भन्दा बढीको नाम छ, ती सबको खोजी भइरहेको छ, कारवाही हुन्छ’, उनले थपे ।
टिप्पणीहरू