गभर्नर पाँचतारे होटल जाँदा चार लाख स्वाहा

गभर्नर पाँचतारे होटल जाँदा चार लाख स्वाहा

गभर्नर विश्वनाथ पौडेलले केही दिनअघि राजधानीका दुई वटा पाँच तारे होटलमा बैंकरहरुसँग छुट्टाछुट्टै दुई दिन गफिँदै खाजा खाने निधो गरे । सोहीबमोजिम हिजो सोल्टी र अस्ति म्यारियटमा दिउँसोको खाजा खाने समय ‘हाइ टि’ सहित भेटघाट कार्यक्रम राखियो । 

सोल्टीमा डेढ दर्जन बढी ‘क’ वर्गका वाणिज्य बैंकका अध्यक्ष र अस्ति म्यारियटमा तीनै बैंकका उत्ति नै संख्याका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सँग छलफल गरेका हुन् । गभर्नरले हालै जारी मौद्रिक नीति,संसदमा विचाराधीन बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) र वित्तीय क्षेत्र विकास रणनीतिबारे कुरा गरेको बताइन्छ । 

गत जेठ पहिलो साता नियुक्त उनको ऐनबमोजिमको योग्यता नरहेको भन्दै सर्वोच्चमा मुध्दा परेको छ । हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पौडेल गभर्नरका लागि कानुनतः अयोग्य भन्दै उजुरी परिसकेको छ । तर,उनैले बैंकका सिइओ र अध्यक्षलाई कानुन,अनुशासन र नियमको कुरो सिकाएपछि बैंकरहरुले औपचारिक रुपमा नबोले पनि चियाकफीको बेला आपसमा ‘गैरकानुनी मान्छेको कानुनी कुरा’भन्दै छेडखानी गरेको बताइन्छ ।

गभर्नर पौडेलले झण्डै तीन दशकअघि चीनको सांघाईबाट सांघाई टेक्सटाइल युनिभर्सिटीबाट टेक्सटाइल इञ्जिनियरिङमा स्नातक गरेका हुन् । त्यसपछि अमेरिका हान्निएका उनले सन् २०१० ताका विद्यावारिधी गरेको प्रमाणपत्र देखाए पनि गभर्नरका लागि तोकिएको १० वटा विषयमध्ये एउटामा स्नातकोत्तर तहको अध्ययन पूरा गरेको प्रमाणपत्रबारे केही बोलेका छैनन् । उनी निकट काँग्रेसी स्रोत भन्छ,‘उनी एमएस्सी गरेको छु भन्छन्,तर प्रमाणपत्र देखाउँदैनन् । कसै कसैलाई एमएस गरेको भने पनि कुन विषयमा भन्दैनन् । जबकि राष्ट्र बैंकको गभर्नर बन्न डबल पिएचडी गरे पनि ऐनले परिभाषित गरेको विषयमा स्नातकोत्तर गरेकै हुनुपर्छ ।’

आफ्नै योग्यताको बारेमा गम्भीर प्रश्न उठेको बेलामा गभर्नर पौडेलले बैंकको ढुकुटीलाई ‘लुटको धन फुपुको श्राध्द’ शैलीमा खर्चेका छन् । एक दशकअघि बैंकको भवन महाभूकम्पले भत्काएपछि शुरु भएको पाँचतारे होटलमा गर्ने भेटघाट र छलफल कार्यक्रमलाई पौडेलले पनि निरन्तरता दिएका छन् । अघिल्ला गभर्नर महाप्रसाद अधिकारीले गत वर्षदेखि ७ अर्बभन्दा बढी रुपैयाँमा निर्मित बालुवाटार र थापाथलीका सुविधा सम्पन्न भवनको सभाकक्षलाई त्यस्तो भेटघाट र छलफलमा प्रयोग गरेका थिए । तर,अहिले बैंकमा रहेका सभाकक्षलाई बेवास्ता गरेर गभर्नरले पाँचतारे होटल रोज्दा हिजो र अस्ति बैंकले झण्डै चार लाख रुपैयाँ भुक्तानीको लागि प्रक्रिया अघि बढाएको हो । 

उक्त कार्यक्रम आयोजनाको लागि होटल बुक गराएको सम्पत्ति व्यवस्थापन विभागका एकजना अधिकृत भन्छन्, ‘हामीले माथिबाट आएको अर्डर पालना गरेका हौं । होटल व्यवस्था गरिदिनू भन्ने निर्देशन आयो,व्यवस्था गरिदियौं ।’ बैंकको सभाकक्ष प्रयोग गर्न मिल्दैन र ? भन्ने जिज्ञासामा विभागीय स्रोत भन्छ, ‘पाँचतारेको सुविधा त नपाइएला तर हाम्रो बैंकको इज्जत नै जाने खालको सभाकक्ष होइन । मानसिकताको कुरो हो ।’

टिप्पणीहरू