ठिटा कर्णेलले यसरी बनाए ठाउँ
अमिनाता १४ वर्षकी थिइन् । सधैँ झैँ वागाडुगुस्थित स्कूलबाट घर फर्कंदै थिइन् । उनी दिनहुँ १५ मीनेट हिँडेर स्कूल जान्थिन् र फर्कन्थिन् । त्यो दिन उनले ब्याग बोकेकी थिइन् र गणितको किताब हातले च्यापेकी थिइन् । तर, त्यो दिन समयमा घर फर्किनन् । साँझ ४ः४५ बजिसक्दा पनि छोरी घर नपुगेपछि उनकी आमा निकै डराइन् । लगत्तै छोरालाई फोन गरी छोरी अझै घर नफर्केको जानकारी दिइन् । त्यसबेला अमिनाताका दाजु इब्राहिम अत्यन्त महत्वपूर्ण बैठकमा थिए, रक्षामन्त्रीको कुरा सुन्दै थिए । आमाले डराइडराइकन फोन गरेकाले पक्कै केही घटना भएको होला भनेर बैठकलाई बीचैमा छाडेर घरतिर लागे । उनले तत्काल अमिनाताको खोजी गर्न सुरक्षा संयन्त्रलाई आदेश दिए ।
स्कूल ३ः३० बजे छुट्टी हुन्थ्यो, स्कूलमा राखिएको सिसिटिभी २ः३५ पछि बन्द भएको पाइयो । बाटोमा राखिएका सिसिटिभी पनि सोही समयपछि ह्याक गरिएको साथै उक्त मार्गमा तैनाथ सुरक्षाकर्मीहरू अचेत अवस्थामा भेटिए । अफ्रिकाको ‘हीरा’ को उपमा पाइसकेका इब्राहिमको उदयबाट तिर्मिराएका युरोपेली शक्तिले उनलाई कमजोर पार्न अब उनको परिवारलाई निशाना बनाउन थालिएको निष्कर्ष इब्राहिम आफैँले लगाए, किनभने परिवार इब्राहिमको कमजोरी थियो ।
इब्राहिमको ३ दिन अपहरणकारीको फोनको प्रतीक्षामा बित्यो । चौथो दिन मध्यरातको साढे २ बजे बल्ल फोनको घण्टी बज्यो, नम्बर भने देखाएन । फोन इब्राहिमले नै उठाए । उताबाट फ्रान्सिसी भाषामा धम्की दिइयो कि ‘अघिल्लो महिना सुनखानीलाई राष्ट्रियकरण गर्ने निर्णय फिर्ता लेऊ । चीनसित गरेको युरेनियम सम्झौता रद्द गर, अफ्रिकाको संसाधनमा तिमीले देखाएको क्रान्तिकारी कदम बन्द गर अन्यथा तिम्रो बहिनीलाई एम्स्टरडमको बेश्या बजारमा पाउनेछौ ।’
फोन गर्नेले उनलाई ७२ घण्टाको अल्टिमेटम दिए । राति नै इब्राहिमले विश्वासपात्र टोलीसित आपतकालीन बैठक राखे । जर्नेल मामदु, गुप्तचर प्रमुख याब्रे कोनाटे र साइबर युद्ध विशेषज्ञ २८ वर्षीय त्रावरे त्रायोर, म्यासाचुसेट्स विश्वविद्यालयमा पढेका सारा कामारा उपस्थित थिए । साराले तुरुन्तै फोनकलको विश्लेषण गरे । आवाजलाई टुर नेटवर्कको माध्यमबाट ७ अलग–अलग देशबाट पठाएको पाइयो तर सिग्नल भने स्विट्जरल्याण्ड देखायो । इब्राहिमलाई धोका दिन एमस्टर्डमको नाउँ लिइएको निष्कर्ष निकाले । बैठकमा मामदुले यो पनि जानकारी दिए कि विगत २ वर्षमा मुलुकका ७३ जना छात्राले युरोप पढ्न प्रवेशाज्ञा लिएका र उनीहरू लापत्ता भएको र ती सबैको औसत उमेर १५ वर्ष भएको जानकारी दिए । इब्राहिमले अमिनाता मात्र होइन, हराइएका सबै छात्राको खोजी गर्न आदेश दिए ।
इब्राहिमले आफ्नो बहिनीको अपहरणको कुरालाई गोप्य राखेनन् बरु छैटौँ दिन टेलिभिजनमा राष्ट्रको नाममा सम्बोधन गर्न पुगे । अमिनाताको रिहाइको बदलामा अपहरणकारीले आफूले लिएको आर्थिक स्वतन्त्रता नीति छाड्न दबाब दिएको, तिनीहरू अफ्रिकाको खनिजलाई सयौं वर्षदेखि लुट्दै आइरहेका शक्ति भएको बताए र तिनीहरूले मेरी बहिनीलाई मात्र होइन, अफ्रिकाका सम्पूर्ण छात्राको अपहरण गर्दै आएको जानकारी दिए । साथै, उनले ती शक्तिसित आफू कहिल्यै नझुक्ने र उचित कदम उठाउने निर्णय सुनाए । इब्राहिमको यो घोषणाले विश्वमा एउटा जनमत खडा भयो । युरोपेलीको निर्ममता बुर्किनो फासो एक्लैले सहिराखेको थिएन, पूरै अफ्रिकाको समस्या थियो । इब्राहिमको भाषणले विश्वभरि एउटा लहर नै ल्यायो । सेभ अमिनाता ह्यासट्याग ट्रेंड नै बन्यो । साराको टिमले थर्मल क्यामेराको माध्यमले एम्स्टर्डममा एउटा कम्प्लेक्स पत्ता लगायो जसको भूमिगत तलामा ४०–५०– जनालाई लुकाइराखिएको थियो । इब्राहिमले माली, सेनेगल र घानाका राष्ट्राध्यक्षहरूलाई फोन गरी सहयोग मागे । र, एम्स्टर्डम अन अपरेसन शुरु गरे । यी चार मुलुकका १८ गुप्तचर कमाण्डको पर्यटक बनेर एम्स्टर्डम पुगे र उपयुक्त मौका छोपेर राति नै अपरेशन शुरु गरे र सफलता हासिल गरे । अमिनातालगायत कूल ४७ जना अफ्रिकी छात्राहरूको उद्धार गरे २३ जना अपराधी पक्राउ परे । यो अपरेशनमा नेडरल्याण्ड, फ्रान्स र बेल्जियमले सहयोग गरेका थिए ।
यो सफल अप्रेशनपछि इब्राहिमले आफ्नी बहिनीको साथमा टेलिभजनलाई सम्बोधन गरेर भने, मैले मेरी बहिनीको मात्र रिहा गरिन अफ्रिकाभरिका ४७ छात्रालाई पनि रिहा गरेँ । युरोपेली मुलुकले हाम्रो शोषण त गरेकै छन्, हाम्रो खनिज त लुटेकै छन् हाम्रा छोरीचेलीलाई पनि लुट्ने गरेका छन् । अब हामी चुप बस्दैनौ सबै मिलेर यो समस्याको समाधान खोज्नेछौँ । नभन्दै उनले अफ्रिकी संघ शिखर सम्मेलनमा अफ्रिकी बाल संरक्षण सम्झौताको प्रस्ताव लगे जसमा तत्कालै ३२ मुलुकले हस्ताक्षर गरे । इब्राहिमको यो साहसिक कार्यको ब्रिटिश, ब्राजिललगायत दर्जनौं मिडियाले सविस्तार लेखेका छन् । सधैँ गरिबी, द्वन्द्व, भ्रष्टाचारले ब्याप्त र कहालिलाग्दो विगत भएको पश्चिम अफ्रिकाको एउटा भूपरिवेष्टित देश बुर्किनो फासोका वर्तमान सैन्य नेता इब्राहिम त्रावरे यतिखेर विश्वभर चर्चित छन् । उनी भर्खर ३७ वर्षका छन् तर सत्तामा पुगेको ३ वर्षमा मुलुकलाई कायापलट गर्दै छन् । सन् २००९ मा सेनामा भर्ती भएर सन् २०२० मा क्याप्टेनमा बढुवा भएका उनी सन् २०२२ को सेप्टेम्बरमा भएको सैन्य कू पछि ३४ वर्षकै उमेरमा सत्तामा पुगेका हुन् ।
उनले ६४ वर्ष फ्रान्सको कोलोनीको रूपमा रहेको मुलुकलाई स्वाधीन मुलुक बनाउने वाचा गरेका छन् । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भए पनि उसकै कठपुतलीहरू मात्र सरकारमा जान्थे । स्वतन्त्रपछि पनि फ्रान्सिसी सेना तैनाथ थिए । उनले फ्रान्सिसी सैनिक फिर्ता पठाइसकेका छन् भने सुन, तामा, जिन्कलगायत खानीमा रजगज गर्दै आएका फ्रान्सलको प्रभुत्वलाई समाप्त पारेका छन् । अमेरिका र योरोपेली मुलुकको प्रभुत्व निर्मूल पार्ने अभियानअन्तर्गत यी राष्ट्रको आर्थिक सहयोग नलिने घोषणा गरिसकेका छन् । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता संस्थाको सहयोगलाई पनि अस्वीकार गरिसकेका छन् । यसको बदलामा रुस, चीन र उत्तर कोरियासितको सम्बन्धलाई दरिलो पारेका छन् । उनले आफूलाई कहिल्यै कम्युनिष्टको रूपमा चिनाएका छैनन् तर अमेरिकी गुप्तचर संस्था सिआइएको शिकार बनाइएका जायर (अहिले कंगो) का पूर्वमाक्र्सवादी प्रधानमन्त्री पेट्रिस लुमुम्बा र बुर्किनो फासोकै माक्र्सवादी राष्ट्रपति थोमस सन्कारालाई आफ्नो आदर्श मानेका छन् ।
थोमस जसलाई अफ्रिकाका चे ग्वेभारा भन्ने गरिएको छ, उनको शासनकालमा बुर्किनो फासोले चामत्कारिक प्रगति गरेको थियो । शिक्षा, स्वास्थ्य, कृषिमा आमूल परिवर्तन गर्दै थिए, भौतिक विकासलाई द्रुत गतिमा अघि बढाउँदै थिए । पश्चिमेलीसितको सम्बन्ध कटौती गर्दै समाजवादी मुलुकसित सुमधुर सम्बन्ध बढाउँदै थिए, अफ्रिकी मुलुकलाई गोलबन्द पार्दै थिए, यसैकारण सत्तामा पुगेको ४ वर्ष नपुग्दै उनको हत्या गरियो । इब्राहिम अहिले थोमसले समातेकै मार्गमा अघि बढ्दै छन् । कलेज पढ्दा माक्र्सवादी संगठन विद्यार्थीहरूको राष्ट्रिय संघमा आबद्ध उनलाई यतिखेर अफ्रिकाभरिकै प्रभावशाली र आशालाग्दा नेताको रूपमा हेर्न थालिएको छ । उमेरमा सबैभन्दा कान्छो छन् तर उनी प्रायः सबै अफ्रिकी मुलुकका नेताहरूको प्रिय बन्दै छन् ।
इब्राहिमले सत्तामा पुग्नासाथ साहसिक र जोखिमपूर्ण निर्णय लिए । फ्रान्ससितको रक्षा सम्झौता रद्द गरे अनि फ्रान्सिसी सेनालाई स्वदेश फर्कन १ महिनाको समय दिए । आर्थिक स्वतन्त्रताबिना राजनीतिक स्वतन्त्रताको अर्थ रहँदैन भन्ने बुझेका उनले सुनखानीलाई राष्ट्रियकरण गरिदिए । देशभित्रै आफ्नै सुन प्रशोधन केन्द्र खोले । विदेशी कम्पनीले लिइराखेको खानी इजाजत सबै रद्द गरे । खाद्य संकट समाधान गर्न कृषकलाई कृषि उपकरण निःशुल्क वितरण गरी कृषि क्रान्ति शुरु गरे । ऊर्जा संकट समाधान गर्न चीनको सहयोगमा सौर्य ऊर्जा प्लान्ट र रुसको सहयोगमा आणविक ऊर्जा प्लान्ट खोले । देशभित्र बन्द भइसकेका उद्योग पुनःसञ्चालन र सिमेन्ट, कपडा, औषधि आदिको नयाँ उद्योग खोलेर रोजगारी सिर्जना गरे । नभन्दै बितेको ३ वर्षमा गरिबीमा बाँचिरहेका त्यहाँका जनताको जीवनस्तर धेरै उक्सिएको छ । कृषि, स्वास्थ्य, भूमिसुधार, शिक्षामा उल्लेख्य सुधार गरिसकेको छ भने अर्थतन्त्रमा पनि उल्लेख्य प्रगति हुँदै छ ।
पुँजीवादविरोधी र युरोपेलीको नीतिको आलोचक उनले विश्व मञ्चमा अफ्रिकी मुलुकको प्राकृतिक संसाधनमाथि गर्दै आइरहेको शोषण र नवउपनिवेशको चर्को विरोध गर्ने गरेका छन् । उनले सिएनएन, बिबिसी, फ्रान्स–२४, वासिंगटन पोस्ट, न्यूयोर्क टाइम्स, गार्जियनजस्ता पश्चिमी मिडियाले सधैँ अफ्रिकालाई गरिबी, भोकमरी, रोग र द्वन्द्वले ग्रस्त, झिंगाले छोपेका बच्चा, सुख्खा जमिन, निरासै निरासाको मुलुक, मानवहीन र जंगली जनावरको रूपमा चित्रण गर्दै आएकोमा चर्को रोष प्रकट गरे । उनी भन्छन्, ‘अफ्रिका अतुलनीय प्राकृतिक स्रोतको भण्डार हो तैपनि यहाँका जनता गरिबीमा जिउन बाध्य छन् । अफ्रिकालाई गरिब बनाएको पश्चिमेलीले हो । उनले कोबाल्ट, सुन, प्लाटिनम, हीरा, युरेनियमको भण्डार हुँदाहुँदै यो किन गरिब छ भन्ने सवाल उठाए । उनको भनाइमा हामी गरिब होइनौँ, हामीलाई गरिब बनाइएको हो ।
यसबाहेक उनी अफ्रिकी मुलुकलाई स्वाधीन, आत्मनिर्भर, स्वाभिमानी र स्वतन्त्र रूपमा आफ्नो भाग्य आफैँ तय गर्न आह्वान पनि गर्दै छन् । उनका यी भनाइबाट अफ्रिकी युवा प्रभावित बनेका छन् । कतिपय मुलुकले विदेश नीतिमा हेरफेर गर्न थालेका छन् । फ्रान्सको दबदबाबाट मुक्त भई चीन, रुससित सम्बन्ध बढाइसकेका छन् । त्यसैले पनि अमेरिकालगायत पश्चिमी मुलुकले उनलाई खतरा ठान्न थालेका छन् । तानाशाहजस्ता लाञ्छना लगाउन शुरु गरेका छन् । तर, बुर्किनो फासो मात्र होइन, सम्पूर्ण अफ्रिकी जनताले भने ६ फुट २ इञ्च अग्ला उनलाई एक सच्चा देशभक्त र ‘कालो हीरा’ को रूपमा लिइरहेका छन् ।
(जनआस्था साप्ताहिकको असार ३२ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू