खाने माओवादी, खुवाउने एमाले

खाने माओवादी, खुवाउने एमाले

एक जना उपसचिवमा के त्यस्तो लुकेको छ जसले गर्दा बिचौलियाहरू आधा करोड खन्याउन तयार भैदिन्छन् ? अहिले सत्ता गठबन्धनका दुई वर्तमान र हालै मात्र गठबन्धनबाट बाहिरिएकी पूर्वमन्त्रीसमेत जोडिएको घुस प्रकरण हो यो । पोखराका एक चर्चित जग्गा कारोबारीले मन्त्री राजकुमार गुप्ता, पूर्वमन्त्री रञ्जिता श्रेष्ठदेखि वर्तमान भूमि व्यवस्थामन्त्री बलराम अधिकारीसम्मलाई आधा करोड लगानी गरेर एक उपसचिवलाई सरुवा गराउन खोेजेको अडियोले प्रशासन संयन्त्र पूरै तातेको छ ।

लमजुङ मालपोतबाट कास्की लैजान चाहेका मालपोत प्रमुख (उपसचिव) रामचन्द्र अधिकारी ६ महिनाअगाडि मात्र कास्कीबाट त्यहाँ पुगेका थिए । उनैलाई कास्की फर्काउन ५३ लाख खर्चको तत्परता देखाइएको हो । जग्गा प्रशासन बुझेका कर्मचारीले यस्तो फाइलमा सही गर्दैनन्, त्यही कारण जग्गाको ‘ज’ पनि नबुझेका हाकिमबाट काम फत्ते गर्न सजिलो हुने भएर जति पनि रकम पेल्न तयार भएका हुन्, बिचौलियाहरू । रामचन्द्र दुई बर्ष कास्की बस्दा छाया कार्यालय प्रमुख थिए, सुजन लामा । अखिल पृष्ठभूमिका हुन् । केहीअघि एमालेको गण्डकी प्रदेश सदस्य भए, अहिले आदिवासी जनजाति महासंघको प्रदेश महासचिव छन् । राजनीतिमा जहाँ, जे भए पनि नामुद जग्गा दलाल हुन् । मालपोत तथा नापी कार्यालयका अधिकारीहरूले जनआस्थालाई बताएअनुसार पछिल्लो समय कास्कीको छुट जग्गा दर्ताका नाममा सार्वजनिक जग्गा दर्ता गर्न उनको सक्रियता छ । उनकै विश्वास गर्दा कतिपय रोडमा पुगेका छन्, घटीमा १०–२० लाखदेखि १२ करोडसम्म फसेको छ, स्थानीयको ।

जसै अधिकारीलाई लमजुङ पठाएर त्यहाँ चिरञ्जीवी पौडेललाई लगियो, सुजनको खेतीपाती सुक्यो । गत असोज ६ गतेकै निर्णयबाट आफ्नो अवधि नपुगी सरुवा गरिएको भन्दै रामचन्द्र अदालत पुगेका थिए, उनै बिचौलियाको जोडबलमा । अदालतले स्टे अर्डर नदिएपछि पुस २६ देखि चिरञ्जीवी कास्की मालपोतमा हाजिर भए ।

०१६ मा बिर्ता उन्मूलन भएपछि जग्गा तिरो तिरेर रैकर बनाउनुपथ्र्यो । तर, त्यसो नगरी किनबेच चल्यो । व्यक्तिहरूले जग्गाको लिखत नै पास गरे । ०३२ मा जसले जग्गामा हकभोग गरिरहेको थियो, उनैले नापी गरेर आ–आफ्नो नाममा दर्ता र किनबेच, अंशबण्डासमेत गरेको देखिन्छ । ०५९ सालमा पुनः नापी हुँदा पुर्जा हुनेले हालसाबिक गरेर लगे । यसैगरी चल्दै गयो । ०८० मा दुर्गादेवी शाह परिवार खलकका चार जनाले उक्त जग्गामा आफ्नो हक दाबी गर्दै मालपोत कार्यालयमा निवेदन दिए । सोही जग्गामा उनै बिचौलिया लामा छिरेका हुन् । हकभोग अर्कैले गरिसकेको छ, फिल्ड बुकमा शाह परिवारको नाम छैन, तिरो तिरेको रसिद पनि छैन, अदालतले क्षेत्रफल यकिन गरेको छैन ।

त्यस्तो जग्गामा उनै बिचौलिया छिरेर हकदार खडा गरी व्यक्तिको नाममा बनाउने प्रयास भइरहेको छ । बिचौलिया सुजन लामाकै सक्रियतामा हकदार खडा गरी मालपोत कार्यालयमा निवेदन बुझाइएको स्रोतहरूको भनाइ छ । यसका अलावा पृथ्वीनारायण क्याम्पसको २ सय २, काहुडाँडाको ३० रोपनी र गोपालजी गुठीलगायत जग्गाको कामसमेत फत्ते गराउन आधा करोड लगानी गरेर उपसचिव लैजान तयार भएका हुन् बिचौलिया । जानकारहरूका अनुसार, रामचन्द्र कास्की भरतपोखरीका स्थानीय हुन् तर जग्गा प्रशासन बुझेका कर्मचारी होइनन् । टाइपिष्टबाट निजामती सेवामा प्रवेश गरे ।

०६४ सालमा २४ ‘घ’ अर्थात् पानी बढुवा अधिकृत हुँदै हाल उपसचिव छन् । यसअघि पर्वतमा गाविस सचिव थिए । केही समय माओवादीनिकट राष्ट्रिय कर्मचारी संगठनमा आबद्ध रहे । यसअघि भूमि आयोग कास्कीको पदेन सदस्य हुँदा सुकुम्बासी नभएका व्यक्तिलाई समेत नक्कली सुकुम्बासी बनाएर जग्गा दिएको उजुरी अख्तियारमा विचाराधीन छ । दाजुभाइसँग समेत राम्रो सम्बन्ध छैन । अंश मुद्दा चलिरहेको छ । 
 

टिप्पणीहरू