राप्रपाको दर्ता खारेज गराउन फेरि ताकेता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेतामाथि कारबाहीको माग गर्दै हालिएको उजुरीउपर भएको कारबाहीबारे सूचना माग्दै अधिवक्ता डा.प्रेमराज सिलवालले निर्वाचन आयोगमा अर्को निवेदन दिएका छन् । नेपालको संविधान र गणतान्त्रिक संवैधानिक प्रणालीको विरोधमा आन्दोलन गरेर राप्रपाले कानुन उल्लङ्घन गरेको आरोप लगाउँदै हालेको उजुरीमाथि भएका कारबाहीबारे उनले सूचना मागेका हुन् ।
अधिवक्ता डा.सिलवालले गत जेठ १९ गते उजुरी हालेका थिए । उजुरीमा संविधानविरोधी कार्य गर्ने दलको दर्ता खारेजीसम्मको माग गरिएको छ । भनिएको छ,‘संविधानको शपथ खाएर निर्वाचन आयोगमा आफ्नो विधानसमेत पेश गरेको उक्त दलसँग स्पष्टीकरण लिई दलले आन्दोलनको नाममा गरेका संविधान तथा कानुनविरोधी कार्य रोक्न र त्यस्ता कार्य गरेकाले दलको दर्ता खारेजी गर्नेसम्मको कानुनी कारबाही गर्न माग गर्दै तपसिलअनुसार व्यहोराको उजुरी र निवेदन गर्दछु ।’
तर, सो उजुरीमाथि कुनै कारबाही प्रक्रिया अगाडि नबढाइएपछि उनले असार २३ गते निवेदन दिएर आयोगलाई घच्घचाएका हुन् । आयोगमा दर्ता भएर संघीय संसदमा प्रतिनिधित्व गर्दै आएको राप्रपाले वर्तमान राजनीतिक व्यवस्थाविरोधी आन्दोलन गरेर कानुन तोडेको उनको ठहर छ । उनले आयोगलाई लिखित जानकारी दिन आग्रह गरेका छन् ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालको संविधान र कानुनी प्रबन्धविरुद्ध मुलुकको लोकतान्त्रिक–गणतान्त्रिक संविधानविरोधी गैरकानुनी हिंस्रक प्रदर्शन गरेकाले छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न माग गर्दै दिएको निवेदन सम्बन्धमा आयोगले छानबिन गरेको–नगरेको, कानुनी कारबाही अघि बढाएको–नबढाएको वा कानुनी कारबाही गरे–नगरेको वा गर्न मिल्ने–नमिल्ने के–कसो भए–गरिएको हो सो अवस्था बारेमा लिखित जानकारीसहितको सूचना पाऊँ भनी यो निवेदन गर्दछु’,निवेदनमा उल्लेख छ ।
टिप्पणीहरू