विद्या भण्डारीबारे महत्वपूर्ण निर्णय गर्दै एमाले
हिजोदेखि शुरु भएको नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठक आज पनि जारी छ । बैठकको दोस्रो दिन अहिलेसम्म ५८ जनाले आ-आफ्नो धारणा राखेका छन् ।
आजको बैठकमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीति फर्किने विषय, पार्टी सदस्यता र संगठित सदस्यताको व्यवस्था गर्नेलगायतमा धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनका अनुसार पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरणबारे बैठकमा बोल्नेहरूले चासो राखेका छन् ।
गणतन्त्रको गौरवको रुपमा रहिसकेको व्यक्ति कुनै दलमा आउने कि नआउने भन्ने कुरा प्राविधिक विषयमात्रै नभएको अधिकांशको धारणा रहेको जानकारी गराइएको छ । यो विषयलाई आागमी दिनमा पर्ने प्रभावलाई मध्यनजर गरेर संविधानको भावना र मर्मअनुसार नजिर स्थापित हुनेगरी बैठकले निष्कर्ष निकाल्ने गौतमको भनाइ छ ।
‘पूर्व राष्ट्रपतिज्यूको पार्टी सदस्यता नवीकरण र पार्टीमा प्रवेश गर्ने कुरा अधिकांश सदस्यहरुले जिज्ञासा राखेका छन् । साझा व्यक्तित्व भइसकेको, गणतन्त्रको गौरवको रुपमा रहिसकेको व्यक्ति कुनै दलमा आउने कि नआउने कुरा प्राविधिक र एउटा पार्टी विशेषको विषय होइन । यो नयाँ विषय हो’, गौतमले भने, ‘यसले भोलि जनतामा, प्रणाली, व्यवस्थामा के प्रभाव पर्दछ, संविधानको भावना र मर्मको कस्तो नजिर र अभ्यास हुन्छ भन्नेकुरामा पार्टीले स्पष्ट राजनीतिक निर्णय गर्नुपर्छ भन्ने अधिकांश केन्द्रिय सदस्यहरुको जोड छ । यो निकै महत्वको विषय भएकाले केन्द्रिय कमिटीको बैठकले निर्णय लिनेछ ।’
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा प्रवेश गर्न दिनेकुरा राजनीतिक आन्दोलनमा पार्ने प्रभावलाई ध्यानमा राखेर बैठकले महत्वपूर्ण निर्णय लिने उनले बताए । ‘बैठकको समापनमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीले सम्बोधन गर्दा केही महत्वपूर्ण निर्णय लिने अपेक्षा गरेका छौँ’, प्रचार विभाग प्रमुख गौतमले भने ।
टिप्पणीहरू