सेन्ट मेरिजभित्र शव गाड्ने चिहान !
ज्ञानको मन्दिरभित्र मान्छे गाड्ने चिहानभन्दा धेरैलाई आश्चर्य लाग्ला । तर, ललितपुरको मुटुमा रहेको एउटा चर्चित र प्रतिष्ठित विद्यालयमा लामो समयदेखि चिहान रहेको खुलेको छ ।
सामाजिक संघसंस्था ऐन, २०३४ अन्तर्गत दर्ता भएको सेन्ट मेरिज स्कूल क्रिश्चियन मिसनरी कार्यक्रमअन्तर्गत सञ्चालित छ । सर्वप्रथम जावलाखेलमा खुलेको सेन्ट मेरिजले अन्य जिल्लामा पनि सेवा विस्तार गरेको छ । कास्कीको पोखरा, मोरङको विराटनगर र गोरखा नगरपालिका–११, नागपानीमा पठनपाठन गराउन थालेको दशकौं भइसक्यो । जावलाखेलस्थित सो विद्यालय एक सय ७२ रोपनी क्षेत्रफलमा फैलिएको छ । अन्य जिल्लासहित सो विद्यालयका निम्ति झण्डै तीन सय रोपनी जग्गा छ । जावलाखेलस्थित स्कूलको मध्यभागमा भने दुई रोपनी जग्गा चिहानका निम्ति छुट्याइएको छ । जसलाई वैधानिक बनाउन निकै कसरत भइरहेको छ ।
बोगटी थरका मोटाघाटा गोर्खाली प्रिन्सिपल र विद्यालयकी महिला कानुनी सल्लाहकार त्यसलाई वैधानिकता दिन आग्रह गर्दै विभिन्न निकाय धाइरहेका छन् । चिहानको वैधानिकताकै निम्ति तीन वर्षदेखि कानुनी लडाइँ चलिरहेको छ । दिनैपिच्छेजसो ललितपुर महानगरपालिका, समाज कल्याण परिषद्, जिल्ला प्रशासन कार्यालय, ललितपुर र मालपोत कार्यालय धाइरहेका उनीहरूलाई स्वीकृति दिन कुनै पनि निकाय तयार नभएको बुझिएको छ ।
स्रोतका अनुसार अख्तियार लाग्ने डरले सबै निकायका हाकिम वैधानिकता दिन हिच्किचाएका छन् । ललितपुरका प्रजिअ रमेश ढकालले त्यस विषयमा निर्णय भइनसकेको बताए ।
उनले भने, ‘मलाई त्यहाँ चिहान भएको कुनै जानकारी छैन । तैपनि के रहेछ, बुझ्छु ।’ महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले आफूले त्यस विषयमा कुनै प्रतिक्रिया नदिने जनाइन् । ‘म यो विषयमा बोल्दिनँ, शिक्षा महाशाखा प्रमुख देवीप्रसाद उपाध्यायसँग बुझ्नुहोला,’ उनले भनिन् । समाज कल्याण परिषद्का सूचना अधिकारी दिपेन्द्र पन्त स्कूलभित्र चिहान भन्दा तीनछक्क परे । आश्चर्य मान्दै भने, ‘पहिलो कुरा, स्कूल सामाजिक संघसंस्था ऐनअन्तर्गत दर्ता नै हुँदैन । कसरी दर्ता भयो ? मैले बुझ्नै सकिनँ । दोस्रो, स्कूलभित्र चिहानभन्दा अचम्ममा परेको छु ।’
शव गाड्ने ठाउँको अभाव
नेपालमा हिन्दू धर्मावलम्बी धेरै भएकाले शव जलाउने चलन छ । ठाउँ–ठाउँमा आर्यघाट निर्माण गरिए पनि चिहान प्रायः सबैतिर देखिँदैन । नेपालको संविधान, २०७२ ले मुलुकलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको छ । क्रिश्चियन धर्म मान्नेहरूको संख्या बढ्दो छ । तर, क्रिश्चियन धर्मावलम्बीका लागि शव गाड्ने समाधिस्थलको चरम अभाव छ ।
नेपालमा पहिलो कूटनीतिक नियोगका रूपमा ब्रिटिश लिगेशन स्थापना भएपछि चिहान बनाइएको थियो । काठमाडौंस्थित भारतीय र ब्रिटिश दूतावासपछाडि रानीवन आसपास बेलायतीहरूको शव गाड्ने गरिन्थ्यो । ठाउँको अभाव भएपछि एकताका हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपतिनाथ मन्दिरमा पनि चिहान निर्माण गर्नुपर्ने आवाज उठ्यो ।
चिहान निर्माणको कामसमेत थालियो । स्वीकृतिबेगर सिमेण्ट, कंक्रिट, फलामे डण्डी प्रयोग गरेर चिहान बनाउन थालेपछि पशुपति क्षेत्र विकास कोषले रोक्यो । पशुपतिमा शव गाड्न चाहने किराँत समुदाय र हिन्दू समुदायबीच झण्डै झडप नै भएको थियो । पशुपतिमा शव गाड्न पाउनुपर्छ भनेर लामो समयदेखि आन्दोलन पनि हुँदै आएको छ ।
समाज कल्याणका लागि नेपालमै बसेका र यहीँ बितेका विदेशीलाई गाड्ने ठाउँको अभाव छ । यता, क्रिश्चियन धर्म मान्ने नेपाली नागरिकलाई पनि गाड्नका निम्ति पर्याप्त ठाउँ छैन । जसकारण उनीहरू समस्यामा पर्दै आएका छन् । सरकारले शव गाड्ने प्रचलन भएका जातजाति र किश्चियन धर्मावलम्बीका निम्ति निश्चित ठाउँ तोकिदिनुपर्ने जानकारहरू बताउँछन् । विद्यार्थीले शिक्षा आर्जन गर्ने ठाउँ र मन्दिरमा समाधिस्थल बनाउन दिन नहुने उनीहरूको भनाइ छ ।
भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका एक अधिकृतका अनुसार एक महिनाअघि स्कूलका एक मोटाघाटा नेपाली फादर र भारतीय सिष्टर लगनखेलस्थित कार्यालय पुगेका थिए । सेन्ट जेभियर्स स्कूलको केही जग्गा सेन्ट मेरिजका नाममा ल्याउन निवेदन बोकेर आएका उनीहरूले त्यतिबेलै चिहानको प्रसंग पनि निकालेको जानकारी दिए ।
उनीहरूले ‘फादरहरू बूढा हुँदै गए, मृत्युपछि गाड्ने ठाउँको अभाव भयो’ भनी गुनासो पोखेको ती अधिकृत बताउँछन् । भन्छन्, ‘दुइटै स्कूलको हदबन्दीभन्दा बढी जग्गा छ । क्यान्टिन, छात्रावास एकअर्काको जग्गामा परेको छ । त्यसलाई नियमित गरिपाऊँ भनेर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा निवेदन दिएका रहेछन् । यहाँ पनि निवेदन लिएर आएका थिए । त्यतिबेलै चिहानसम्बन्धी गुनासो गरेका हुन् ।’
स्कूलले क्यान्टिन बनाएर बचेको जग्गामा चिहान निर्माण गर्न चाहेको हुन सक्ने उनको अनुमान छ । ‘चिहानको प्रसंग त निकालेका थिए तर कहाँ के विस्तृत रूपमा केही भनेनन् । त्यहाँ एक रोपनी ६ आना जग्गा छ । क्यान्टिन, छात्राबास बनाएर बाँकी भएको जग्गामा सदगतका निम्ति ठाउँ व्यवस्था गर्न खोजेका होलान्’, उनले भने ।
टिप्पणीहरू