कहाँनेर देखाए केपी ओलीले कमजोरी

कहाँनेर देखाए केपी ओलीले कमजोरी

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महाकाली सन्धिताका खेलेको प्रत्युत्पादक भूमिकाका बाबजुद कालापानी र संविधानको मुद्दामा नेपालीले समकालीन राष्ट्रवादी नेतामध्ये पहिलो नम्बरमा राख्ने गर्थे । संविधान जारी भएपछि रुष्ट बन्दै नाकाबन्दी गरेका बेला भारतीय दबाबसामु नझुकेका उनले नेपालीको शिर ठाडो पार्ने गरी केही अडान लिए । त्यसैबेला चीनसँग सम्बन्ध विस्तार गरेर व्यापारिक सहजताका लागि नयाँ पारवहन सन्धिसमेत गरे । सम्पूर्ण नेपालीलाई गोलबद्ध गरेर एकताबद्ध मुलुकका रूपमा उनले प्रस्तुत गरेको दृष्टान्त आफैँमा अविष्मरणीय छ । तर, त्यस्तो राम्रो छवि त्यसबेला धुमिल बन्यो, जब उनले विदेशीको समेत विश्वास गुम्नेगरी अनेकौं काम र नचाहिँदा कुरा गर्न थाले । 

विश्लेषकहरू भन्छन्, ‘धेरै अतिशयोक्तिपूर्ण अपेक्षा र भनाइ नै उनका लागि घातक बने । चीनका सात वटा बन्दरगाहमा हाम्रो पहुँच पुग्छ । प्रशान्त महासागरमा नेपाली झण्डा फहराउँदै पानीजहाज कुद्छन् । तीन वर्षभित्र पूर्व–पश्चिम रेल दौडन्छजस्ता कुरा गर्दै बोलीको ओज घटाए ।’ हुन पनि ठोरीमा राम जन्मेको घोषणा गर्ने, नेपाल नै मानव सभ्यता विकास क्रममा ज्ञान उत्पादक एक मात्र प्राचीन भूमि रहेको दावी गर्नेजस्ता काम गर्दै दक्षिणको छिमेकीलाई नराम्ररी चिढ्याए । सबैलाई थाहा छ, भारतको संस्थापन पक्ष हिन्दू अतिवादमा विश्वास गर्छ । हिन्दू धर्मको रक्षा गर्ने विश्वकै एक मात्र पार्टी बिजेपी र एउटै मात्र मुलुक भारत हो भन्ने मान्यता स्थापित गर्ने कुरा उनीहरूको राजनीतिक केन्द्रमा छ । तर, त्यसलाई असर पर्नेगरी केपी ओलीले रामको जन्मस्थल नै बदलिदिए । जबकि त्यसै बेला अर्बौं खर्च गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्यामा राममन्दिर बनाइरहेका थिए । यदि राम ठोरीमा जन्मेको कुरा कुनै अध्ययन अनुसन्धानबाट आएको थियो भने वा कुनै अध्यताहरूले दावी गरेका भए कुरा बेग्लै हुन्थ्यो । तर, उनले आफैँ घोषणा गरिदिए । 

राजनीतिक रूपमा पनि उनी कसरी असफल भए भने उनकै कारण एक बनेको नेकपा विभाजित बन्यो । जोडिएको माओवादी मात्रै फुटेर गएन कि माधवकुमार नेपालसमेत अर्को पार्टी खोल्न बाध्य बने । यी सबैको दोष केपी ओलीलाई नै जान्छ । समाचार स्रोतका अनुसार, उत्तरी छिमेकी चीनले पनि नेकपा विभाजित नबनोस् भन्ने नै चाहेको थियो । त्यस्तै सन्देशसमेत पटक–पटक पठाइएको थियो तर त्यसलाई वास्ता गरिएन । त्यसबेला उत्तरी छिमेकीसँग निकट रहेका एक जना वरिष्ठ एमाले नेता भन्छन्, ‘पार्टी विभाजनपछि पनि माओवादीसँग सत्ता सहयात्रा अन्त्य नगर्नू भन्ने सुझाव थियो । कम्युनिष्टहरूकै गठबन्धनमा सत्ता चलाउनू भन्ने सुझावलाई समेत लत्याउने काम भयो ।’ यी सबै कारणले गर्दा उत्तरी छिमेकी पनि केपी ओलीसँग खुश छैन । भलै ओलीले भारतसमेत चिढिने गरी बिआरआइलगायतका सम्झौतामा हस्ताक्षर त गरे तर कार्यान्वयनमा भने चासो देखाएको देखिँदैन । जानकारहरूका अनुसार चिनियाँहरू केपी ओलीबारे टिप्पणी गर्दै भन्छन्, ‘उनमा राजनीतिक स्थिरता, सिद्धान्तप्रति निष्ठा र कम्युनिष्ट एकताप्रतिको आकर्षण केही पनि देखिएन । त्यति मात्रै होइन, समाजवाद र साम्यवादतर्फको झुकाव र विश्वाससमेत नदेखिँदा ओलीलाई कम्युनिष्ट भन्न सकिने आधारसमेत भेटिएन ।’ 

चिनियाँँहरू अहिले नेपालमा आमूल परिवर्तनको सम्भावना नरहेको बताउन थालेका छन् । त्यो सबैको कारण केपी ओलीको व्यवहार र प्रवृत्ति नै हो भन्ने तिनलाई लागेको छ । मदन भण्डारी फाउण्डेशनको तर्फबाट चीन गएका बेला उनीहरूले भनेको एउटा प्रसंग एक एमाले नेताले जनआस्थासँग सार्वजनिक गरे । जसअनुसार अहिले प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मत कार्कीसँगै भएका बेला चिनियाँ कम्युनिष्ट पार्टीका एक उच्च नेताले प्रष्ट शब्दमा भनेका थिए, ‘तपाईंहरूको पार्टी हाम्रोजस्तो कम्युनिष्ट पार्टी नै होइन ।’ ती नेताका अनुसार चिनियाँहरूले यसो भन्दा रहेछन् भनेर पार्टी अध्यक्ष केपी ओलीलाई त्यसैबेला रिपोर्टिङ गरिएको थियो । तर, त्यो सुन्दै गर्दासमेत ओलीमा कुनै गम्भीरता देखिएन । 

समाचार स्रोतका अनुसार यसरी पटकपटक सल्लाह दिँदा नमान्ने अनि सन्देश पठाउँदा त्यसलाई पनि नसुनेझैँ गर्ने गरेपछि चिनियाँँहरू ओलीसँग त्यति खुशी छैनन् । उनले चीनले अगाडि बढाउन खोजेका धेरै प्रोजेक्टलाई त्यत्तिकै अल्झाएर राखेका छन् । चाहे त्यो झापाको दमकमा शुरु गर्ने भनिएको औद्योगिक कोरिडोर निर्माणको कुरा होस् वा ठूलो चर्चा चलेको केरुङ–काठमाडौँ रेलमार्ग निर्माण नै किन नहोस्, ती कुनैलाई पनि अगाडि बढाउन ओलीको तत्परता नदेखिएको अवस्था छ । परिणामस्वरूप ओलीको भ्रमणभन्दा विद्या भण्डारीको भ्रमणमा चिनिनेहरूले बढी हार्दिकता देखाएका हुन् । हुन पनि अहिले विद्या भण्डारी उत्तर र दक्षिण दुवैतर्फबाट रुचाइएकी पात्रका रूपमा एमालेमा सक्रिय राजनीति गर्ने योजनामा छिन् ।

(जनआस्था साप्ताहिकको साउन ७ गते बुधबारको अंकमा प्रकाशित)

 

टिप्पणीहरू