प्रधानमन्त्रीलाई पहिले ऐना हेर्न इतर समूहको सुझाव

प्रधानमन्त्रीलाई पहिले ऐना हेर्न इतर समूहको सुझाव

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशसँगै नेकपा (एमाले)भित्रको आन्तरिक सत्ता सन्तुलनबारेको बहस भुसको आगोझैँ भित्रभित्रै फैलिएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीसँगको पछिल्लो भेटका सन्दर्भमा स्पष्टिकरण दिएपछि नयाँ विवाद चर्किएको छ ।

प्रधानमन्त्रीले हिजोदेखि शुरु केन्द्रीय समिति बैठकमा बोल्दै पूर्व राष्ट्रपति भण्डारीलाई ‘बालुवाटार आउनुहोस्’ भने पनि, उहाँले ‘१० वर्ष पार्टी कार्यालय नदेखेको’ प्रतिक्रिया दिएपछि च्यासलमै भेट भएको स्पष्ट पार्नुभएको थियो । ओलीको भनाई छ, ‘उहाँसँग खुलस्त छलफल भयो, कुनै मतभेद छैन । तर, उहाँ आउँदा आफैं चुनावमा पराजित भएका केही व्यक्तिहरूको समूह देखियो ।’

उहाँको उक्त अभिव्यक्तिलाई लिएर भण्डारीनिकट नेताहरूले तीव्र असन्तोष जनाएका छन्। उनीहरूको आरोप छ— ओली स्वयम् चुनावमा पराजित भएकाहरूको ‘घेराबन्दीमा’ छन् । भण्डारीनिकट एक नेताले टिप्पणी गर्दै भने, ‘उहाँले अरूलाई औँला ठड्याउँदा बाँकी चार औँला आफूतिर सोझिएको कुरालाई बिर्सनुभयो। उहाँकै टिम हेरे पुगिहाल्छ, जनताबाट वास्तविक रूपमा पराजित को–को हुन् भनेर।’

स्मरणीय छ, ओलीको विश्वासपात्र मानिने पार्टी महासचिव शंकर पोखरेल २०७९ को प्रतिनिधि सभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रकी नेतृ रेखा शर्मासँग १९५ मतान्तरले पराजित भएका हुन् । उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी क्षेत्र नम्बर १ मा कांग्रेस नेता चन्द्र भण्डारीसँग एक हजार ५९२ मतले हारेका थिए।

त्यस्तै, झापामा स्थायी समिति सदस्य अग्नि खरेल कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग पराजित भएका हुन् । उनी हाल प्रधानमन्त्रीका विज्ञ सल्लाहकार छन् । मोरङ–३ बाट उम्मेदवार भएका भानुभक्त ढकाल पनि कांग्रेस नेता डा. सुनिल शर्मासँग पराजित भएको नबिर्सन सुझाएका छन् ।

भण्डारीनिकट नेताहरूले प्रधानमन्त्री ओलीमाथि ‘टिके संस्कृतिको’ आरोप समेत लगाएका छन् । उनीहरूले भगवती न्यौपानेको उदाहरण दिँदै भनेका छन्, ‘तनहुँको पालिकामा मेयरमा हारेकी न्यौपानेलाई राष्ट्रिय सभामा लगियो, अहिले मन्त्री बनाइयो ।’

उनीहरूको तर्क छ— पार्टीभित्र चुनाव जितेका होइनन्, अध्यक्ष ओलीको ‘प्रिय’ बनेका नेता मात्र प्रभावशाली भूमिकामा छन् । यही प्रसंग उठाउँदै भण्डारी पक्षका नेताहरूले प्रधानमन्त्रीलाई ‘पहिले ऐना हेरेर आफैंलाई समीक्षा गर्न’ सुझाएका हुन् ।

टिप्पणीहरू