युवतीले छुरा हानिन्, युवकले घाँटी च्यापे

युवतीले छुरा हानिन्, युवकले घाँटी च्यापे

धनुषामा एक युवतीले प्रेमीको हत्या गरेकी छन् । जनकपुरधाम उपमहानगरपालिका-४ बस्दै आएकी २१ वर्षीया जुली झाले ३२ वर्षीय विमलेश यादवलाई छुरा रोपेर मारेकी हुन् । 

प्रहरीका अनुसार जुली र विमलेश शनिबार साँझ वडा नम्बर २३ स्थित एसपी गेष्ट हाउसको कोठा नं १०२ मा बसेका थिए । राती ३ बजे विमलेश नग्न अवस्थामा रक्ताम्य भएर कोठाबाट तल झर्दै गरेको सिसिटिभी क्यामेरामा देखिएको छ । त्यसको केही समयपछि जुली पनि होटलको पछाडिको गेटबाट भागेको सिसिटिभीले देखाएको प्रहरीले जनाएको छ । 

घाइते अवस्थामा अस्पताल पुर्याएका विमलेशको उपचारको क्रममा निधन भएको हाे । महोत्तरी जाँदै गरेकी जुलीलाई हिजो पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

यता, काभ्रेमा एक युवकले प्रेमिकाको ज्यान लिएका छन् । रामेछापकाे मन्थली नगरपालिका- १३ घर भएका ३७ वर्षीय सन्तोष सुनारले बिहे गर्न नमानेको भन्दै ३३ वर्षीया प्रेमिका शर्मिला उप्रेतीको हत्या गरेका हुन् । 

प्रहरीका अनुसार असार ३२ गते सन्तोष र शर्मिला बनेपा नगरपालिका-१३ मा पर्ने जंगल गएका थिए । जगंलमै रहेको मन्दिरमा पुगेपछि शर्मिलालाई बिहेको प्रस्ताव राखेको र नमानेपछि कुर्ताको सलले घाँटी बाँधेर हत्या गरेको सन्तोषले बयान दिएका छन् । 

बिहेको प्रस्ताव नमागेको आवेगमा लठ्ठीले समेत प्रहार गरेको र हत्यापछि एक्लै रोएर बसेको बयान उनले प्रहरी समक्ष दिएको बताइएको छ । सन्तोषलाई बनेपा नगरपालिका-१० स्थित इँटाभट्टा क्षेत्रबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

टिप्पणीहरू