प्रधानमन्त्रीसँग भेट्न खोज्दाखोज्दै थाकिसक्यौँ
‘साँढेको जुधाइ, बाच्छाको मिचाइ’ भनेझैँ चैत १५ गते राजा फर्काउन भएको आन्दोलनमा दुई नागरिकले अनाहक ज्यान गुमाउनुपर्यो । पत्रकार सुरेश रजकसमेत आगजनीमा परेर बिते । उनी काठमाडौं ताहाचलको रैथाने नेवार परिवारका थिए । उक्त हिंसात्मक घटनाका नाइके विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित केही व्यक्ति पुर्पक्षका लागि थुनामा छन् भने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद धवलसमशेर राणालगायत दर्जनौं नेता, कार्यकर्ताले मुद्दा खेपिरहेका छन् । सरकारी पूर्वतयारी अभावकै कारण तीनकुने हिंसात्मक घटना हुन पुगे कोही पनि कारबाहीमा पर्नु त परेको कुरा हो, गृहप्रशासनतर्फ जिम्मेवारीबाट समेत पन्छिएका छन् । अनाहकमा ज्यान गुमाएका पत्रकार सुरेशका परिवारको ‘न्यायका लागि संघर्ष’ जारी छ । उनको निधनपछि विधवा हुन पुगेकी सुजन रजकसहित परिवारका सदस्यहरू निष्पक्ष छानबिनको मागसहित भौंतारिरहेका छन् ।
यसै सन्दर्भमा विधवा सुजनसँग जनआस्थाले गरेको कुराकानीको अंशः
० सुरेशको निधनले तपाईंहरूको जीवनमा कस्तो प्रभाव पारेको छ ?
– हाम्रो त संसार नै रित्तियो । मेरा लागि संसार नै उहाँ हुनुहुन्थ्यो ।
० प्रधानमन्त्री, गृहमन्त्रीबाट कस्तो आश्वासन पाउनुभयो ?
– प्रधानमन्त्रीले एक पटक काजकिरिया सकिएपछि फेरि बोलाउने वचन दिनुभएको थियो । हामी आफैंले भेटको लागि दैनिक प्रयास गर्दागर्दै थाकिसक्यौं । न हाम्रो फोन रिसिभ हुन्छ न त कुनै सोधीखोजी भएको छ । प्रधानमन्त्रीले आश्वासन दिनुभएको थियो कि तपाईंहरूको माग पूरा हुन्छ । आफूले बोलेपछि पूरा गर्ने हो भनेर वचन नै दिनुभएको थियो । पूरा नहुने माग भएको भए, म बोल्दै बोल्दिनँ थिएँ, हुन्छ भन्दै भन्दिँन थिएँ भन्नुभएको थियो । तर, त्यो वचन पूरा भएन । अब उहाँले हामीसँग भेट्न नचाहनुभएको जस्तो लाग्छ ।
० प्रधानमन्त्रीले के–के वचन दिनुभएको थियो ?
– उहाँले सुरेशको शव बुझ्नुअगाडि नै हामीसँग कुरा गर्नुभएको हो । हामीले तीन सूत्रीय माग राखेका थियौं । सबैभन्दा पहिला घटनाको सत्यतथ्य बुझ्न उच्चस्तरीय न्यायिक छानबिन समितिको माग गरेका थियौं । त्यसैगरी, सुरेश आन्दोलनकारी थिएनन्, ढुंगामुढा गर्न गएका थिएनन्, उनी त जीविकोपार्जनका लागि आफ्नो कर्म गर्न सो क्षेत्र गएका थिए । त्यसकारण उनलाई शहीद घोषणा गर्न र परिवारलाई राहतको व्यवस्था गर्न भनेका थियौं । तीनकुनेमा सुरेशको शालिक हालियोस् भन्ने पनि चाहना छ ।
० प्रधानमन्त्रीसँग कति समय कुरा भएको थियो, को–को उपस्थित हुनुहुन्थ्यो ?
– लगभग १५–२० मीनेट कुरा भएको थियो । हामीले जे–जे माग राखेका थियौं, उहाँले सबै पूरा हुन्छ भन्नुभयो । चौतारीको अध्यक्ष गणेश पाण्डे साक्षी छन् । शहीद घोषणा गर्ने कुरामा प्रधानमन्त्रीले हुन्छ भन्नुभयो तर बाहिर निस्किएपछि पाण्डेको शहीद घोषणाचाहिँ हुँदैनहोला, यो धेरै गाह्रो काम हो भन्ने थियो ।
० गणेश पाण्डेसँग कत्तिको सम्पर्कमा हुनुहुन्छ ?
– हामी त गरिरहन्छौँ तर उहाँले फोन उठाउन छोड्नुभयो । अहिले त कसैले उठाउनुहुन्न । हाम्रो आफ्नै क्षेत्रका सांसद विराजभक्त श्रेष्ठले त कुनै भूमिका खेलिदिनुभएन भने अरुको के कुरा गर्नू !
० घटनापछि को–को समवेदना व्यक्त गर्न आउनुभयो ?
– शेरबहादुर देउवा घरमै आउनुभएको थियो । उहाँले छानबिन समिति गठन हुनुपर्छ, यो नभई हुँदै हुँदैन, तपाईंहरूको माग पूरा हुनुपर्छ, हामी यसमा सहमत छौं भन्नुभएको हो । यस्तै, माओवादी नेता अग्नि सापकोटा पनि आउनुभएको थियो । उहाँले शेरबहादुर देउवाले जे–जति भनेर जानुभएको छ, त्यो उहाँले पूरा गर्नुहुन्छ । देउवा वचनको पक्का हुनुहुन्छ, बोलेपछि उहाँले गर्नुहुन्छ, त्यसकारण ढुक्क हुनुस्, माग पूरा हुन्छ भन्नुभएको थियो ।
यसै क्षेत्रबाट निर्वाचित सांसद विराजभक्त श्रेष्ठ पनि भेट्न आउनुभयो । उहाँले सदनमा आवाज उठाउँछु भन्दा हामीले सदनमा मात्र होइन, सडकमा पनि उठाउन भनेका थियौं । तर, त्यो पनि गरिएन । हामीले उहाँको साथ पाएनौँ । काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) आएर केही पनि बोल्नु भएन । समवेदना पत्रमा सही गरेर जानुभयो । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, पत्रकार महासंघका उपाध्यक्ष उमेश बागचन्द पनि आउनुभएको थियो । रास्वपा सांसद सोविता गौतम, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरू पनि हुनुहुन्थ्यो ।
० प्रतिनिधिमूलक संस्था पत्रकार महासंघको भूमिका कस्तो रह्यो ?
– त्यो समयमा पत्रकार महासंघले राम्रो साथ दियो । हामीसँगै उपाध्यक्ष पनि गृहमन्त्रीकहाँ जानुभएको थियो । अनाहक एक जना फोटो पत्रकारले ज्यान गुमाउनु परेकोमा महासंघका प्रतिनिधिहरू दुःखित त हुनुहुन्छ, तर जुन किसिमले दबाब दिनुपर्ने थियो, त्यो दिन सक्नुभएन । सबै आआफ्नो तालमा लाग्नुभयो । त्यही गुनासो पत्रकार महासंघसँग छ ।
उहाँहरूले घटनापछि छानबिन प्रतिवेदन बनाउनुभयो, सरकारलाई बुझाउनुभयो अनि सकियो । प्रतिवेदनमा यो हत्या हो, यसको छानबिन समिति बनाउनुपर्छ भन्नुभएको छ तर परिणाम के त ! नेताहरूको प्रतिबद्धता त खोक्रो भयो नै पत्रकार महासंघले पनि अभिभावकत्व लिइदिएन । रिपोर्ट दिएर मात्र छोडिदिने त हैन नि !
० गृहमन्त्रीले चाहिँ के–कस्ता आश्वासन दिनुभएको थियो ?
– तपाईंहरू नआत्तिनुस्, हामी सबै कुरा गर्छाैं नै भन्नुभएको हो । छानबिन समिति गठन गर्नुपर्दैन भन्नेचाहिँ उहाँको पहिलेदेखिकै धारणा हो । उहाँले राहतको कुरामा मात्रै जोड दिनुभयो । आगो लगाउने मान्छे समातेको छ । आगोले जलेर एक जनाको मृत्यु भएको भन्ने मात्र उहाँको बुझाइ रह्यो । तर, त्यहाँभित्र धेरै कुरा छ । घटना शंकास्पद भएकाले न हामीले छानबिन समितिको माग गरेका हौँ । आजै, अहिल्यै राहत दिइहाल्छौं भन्ने कुरा गर्नुभएको थियो । तर, हामी राहत माग्न गएका थिएनौं । उच्चस्तरीय छानबिन समिति गठन होस् भन्ने आग्रह थियो ।
हामीलाई लागेको छ कि सुरेशलाई आगो लाग्नुअघि नै मारेर त्यहाँ राखिएको थियो । हामीलाई पैसाको हतार थिएन, उहाँहरूले चाहिँ राहतको मात्रै कुरा गर्नुभयो । सरकारको पैसा तेस्र्याएपछि सबै चुप लागेर बस्छन् भन्ने बुझाइ हुँदोरहेछ । त्यसैले त पैसा दिनुभयो, त्यसपछि केही गर्नुभएन ।
श्रीमान्को लाशमाथि टेकेर राजनीति गर्न आएन र चाहेनौँ । सायद लाश नउठाएको भए हाम्रो माग पूरा हुन्थ्यो । तर, लाश राख्यो भने सुरेशको आत्मालाई पनि पीडा हुन्छ भनेर त्यस्तो गरेनौं । लास उठायौं, त्यसपछि भनेजस्तो केही भएन । न सरकारले हाम्रो लागि केही गर्यो न राजनीतिक दलहरूले ।
० सुरेश कार्यरत एभिन्युज टेलिभिजनको भूमिका कस्तो रह्यो ?
– एभिन्युजले अहिले पनि हामीलाई सपोर्ट गरिरहेको छ । चैत १५ गते भनेर हरेक सोमबार सुरेशलाई लक्ष्य गरी कार्यक्रम चलाइरहेको छ । मिडियालाई पनि सरकारले हेपेकोजस्तो लाग्छ । नभए त्यत्रो मिडियाले बोल्दा, लेख्दा पनि सरकारले किन केही नगरेको !
एभिन्युजले घटनामा यो यो शंकास्पद छ भनिरहेको छ । प्रमाण जुटाइरहेको छ । राज्य नै गैरजिम्मेवार, पूर्वाग्रह भएपछि हामी कहाँ न्याय माग्न जाने ? गृहमन्त्रीलाई तीन चोटि भेट्यौं । तीनैचोटि हुन्छ, हुन्छ, हुन्छ मात्रै भन्नुभयो । गर्नुचाहिँ केही भएन । हुन त उहाँले हाम्रो कुरा पनि राम्ररी सुन्न चाहानुभएन । कुरै नसुनी हुन्छ, हुन्छ भन्ने अनि गर्ने बेलाचाहिँ केही पनि छैन । लाश उठाओस् भनेर मात्र उहाँहरूले हुन्छ भन्नुभएकोजस्तो लाग्छ ।
० देउवालगायत राजनीतिक दलका नेतासँग पछि कुरा भयो ?
– अहिले कुनै पनि दलका नेता, कार्यकर्तासँग सम्पर्क छैन । त्यो ठाउँसम्म पुग्न हाम्रो पहुँच भएन । पु¥याइदिने मान्छे भएन । त्यत्रो पीडा भइरहँदा राज्यका निकाय आएर भेट्ने हो, बोलाउने होइन । घटनापछि प्रधानमन्त्री ओलीले हामीलाई यहाँ, यति समयमा आउनु भन्नुभयो । नभए आउने सवारीसाधनको व्यवस्था गरिदिनुपथ्र्यो । सरकारले त जेसुकैमा आऊ तर समयमै आऊ भन्ने रबैया देखायो ।
० राजावादीबाट कस्तो सहानुभूति, सहयोग पाउनुभयो ?
– उनीहरूसँग त झन् के नै पाउनु र ! दुर्गा प्रसाईंले पाँच लाख रुपैयाँ दिन्छु भनेको त सुनेको हो, पछि केही रेस्पोन्स छैन । घटनाको दोष हामी राजावादी र सरकार कसैलाई पनि लगाउँदैनौं । तर, हामीले देखेको कुराचाहिँ त्यो बिल्डिङमा राजावादीभन्दा पनि लुट्ने उद्देश्यले गएकाहरू थिए । दराजजस्ता बल्ने सामानहरू त पहिल्यै झ्यालबाट फ्यालिएको थियो । बिल्डिङमा आगो लाग्ने सामान नै खासै थिएन ।
सुरेशले एभिन्युजलाई पठाएको म्यासेजमा भनेको छ, ‘माथि पुलिस छ, उनीहरूलाई हान्न जाँदैछ ।’ त्यतिखेर फोन त लागेको थिएन, म्यासेज चाहिँ गएछ । तर, पुलिसले पत्रकार सम्मेलनमा भनेको छ, ‘हामीले भवनमाथि प्रहरी खटाएका थिएनौं ।’ अनि सुरेशले कसरी पुलिस माथि देख्यो त ? अनि माथिबाट प्रहरीले अश्रुग्यास हानेको त भिडियो नै छ । प्रहरीले त्यसलाई पनि डिपफेक भिडियो भन्यो । प्रहरीकै कुरा सत्य छैन, अनि अरू कुरा हामीले कसरी पत्याउने !
० राजेन्द्र लिङ्देनले के भन्नुभयो त ?
– घटनापछि उहाँ पनि हामीलाई भेट्न आउनुभएको थियो । उहाँले राज्य पक्षले दमन गर्दा हुन पुग्यो भन्नुभयो । यदि, प्रहरीले माथि बसेर अश्रुग्यास नहानेको भए त्यो बिल्डिङमा आगो लगाइँदैनथ्यो । उहाँसँग पनि हामीले छानबिन समिति र शहीद घोषणाको लागि आवाज उठाइदिन माग गरेका थियौं । अहिले हाउस बन्द छ, खुलेपछि गर्छु भन्नुभएको थियो । तर, पछि कसैले केही गरेनन् ।
० पूर्वराजा ज्ञानेन्द्रबाट केही सन्देश पाउनुभयो ?
– केही पनि पाएनौं । सन्देश न सहानुभूति । न सरकार पक्षले समवेदना देखायो न आन्दोलनकारी पक्षले । पूर्वराजा ज्ञानेन्द्रलाई केही पनि भन्नु छैन । किनकि हाम्रो अभिभावक राज्य हो । राज्यले हाम्रो पीडा, गुनासो सुन्ने हो । नागरिकको ज्यान, धनको सुरक्षा गर्नु पनि राज्यकै दायित्व हो ।
आन्दोलनको घोषणा भएपछि सरकारले पूर्वतयारी अपनाउनुपथ्र्यो । तर, सरकार चुक्यो । सुरक्षामा ध्यान दिएन । उल्टै घर जलेपछि समेत आगो निभाउन चासो देखाएन । हुन त आन्दोलन राजाकै निम्ति भएको हो । यो हिसाबले पूर्वराजा ज्ञानेन्द्रले पनि अभिभावकत्व लिइदिनुपथ्र्यो । तर, उहाँले लिनुभएन । हाम्रो लागि दुई शब्दसमेत खर्चिनुभएन । जसले गर्दा केही गरी राजसंस्था पुनःस्थापना भएपनि हामी उहाँप्रति विश्वास रहने छैन । उहाँले नै त्यो बाटो बन्द गरिदिनुभयो ।
० मानवअधिकारवादीको भूमिका कस्तो रह्यो ?
– मानवअधिकारकर्मीको त भूमिका नै देखिएन । यहाँ आउनुचाहिँ भयो तर केही गर्नुभएन । कसैले केही नगरेपछि हामी आफैंले डेढ महिनाअघि मानव अधिकार आयोगमा निवेदन दियौं । बोलाउनुभयो । र, घटनाको प्रतिवेदन दुई–तीन दिनभित्र बुझाउँछौं भन्नुभयो । उहाँहरूलाई कसले रोकिरहेको छ, थाहा छैन ।
० दुर्गा प्रसाईंले पाँच लाख रुपैयाँ दिनुभयो त ?
–दिनुभएको छैन र दिए पनि लिँदैनौं । उहाँहरूकै आन्दोलनले सुरेशको ज्यान गएको, अनि हामीले उनैसँग किन पैसा लिने !
० काठमाडौंका सिडिओ र प्रहरी प्रमुखबारे के भन्नुहुन्छ ?
– हामी पनि यो कुरामा अचम्भित छौं । त्यत्रो ठूलो घटना हुँदासमेत किन कारबाही भएन ? यो शंकास्पद छ । त्यसैले पनि हामीले छानबिन समितिको माग गरेका हौं ।
० तपाईंहरूलाई के–के कुरामा शंका छ ?
– दमकलले दोस्रो पटक आगो निभाएर पेपरहरू हट्दै गएपछि बल्ल सुरेशको लास देखिएको हो । लाश भित्तामा अडेस लागेको अवस्थामा थियो । जबकि कुनै पनि व्यक्ति आगो लागेपछि अवश्य छट्पटिन्छ । त्योभन्दा पनि महत्वपूर्ण करा कसैले आगो लागिरहेको छ भने पेपरले आफ्नो शरीर पुर्दैन । यही कुराले उहाँको हत्या भएको पुष्टि गर्छ । सुरेश भएकै ठाउँमा रहेका किताबहरू राम्ररी जलेका छैनन् । उहाँकै गोजीमा भएको पैसा जलेको छैन । तर, सुरेश पूरै जल्नुभएको थियो ।
अर्को कुरा, सुरेश झ्यालमा हुनुहुन्थ्यो । आगो लागेपछि कुनै पनि व्यक्ति बच्नका लागि हामफाल्छ । अनि सुरेशले चाहिँ किन हामफाल्नु भएन त ! यही सबै कुराले हामीलाई शंका गर्न बाध्य पारेको छ । प्रहरीले हामीलाई बुझाएको प्रतिवेदन नै शंकास्पद छ । पहिलो तलामा आगो लाग्यो, त्यही सल्केर माथि पुग्यो भनेको छ । तर, १०–१५ मीनेटमै आगो सल्किएर तेस्रो तलामा पुग्दैन । कम्तीमा पनि तीन–चार घण्टा लाग्छ । त्यसमा पनि आगो लागेपछि सबैतिर लाग्नुपर्ने हो । वल्लोपल्लो घरमा । तर, त्यो भवनको वरपरका घरमा आगो लागेको छैन ।
त्यो भवनको हरेक तलामा आगो लगाउने छुट्टाछुट्टै व्यक्ति हुन् भन्ने हाम्रो आंशका छ । आगो लाग्नुअघि नै सुरेशलाई मारियो, पेपरले लाश छोपियो र आगो सल्काएर हिँड्यो भन्ने शंका हाम्रो छ । नभए त्यही भवनमा भएका सबै तल झर्न भ्याउने, सुरेश मात्रै नभ्याउने त हुँदैहुँदैन ।
० को–कोमाथि शंका छ ?
– सुरेश त्यो घरभित्र छिर्दै गर्दा अन्य प्रदर्शनकारी पनि थिए । जुन घटनापछि आएका भिडियोमा देखिन्छ । त्यसमध्ये एक जना सेतो टिसर्टमा झण्डा भिरेको र हेल्मेट लगाएको व्यक्तिसँगै माथि गएका थिए । पछि महानगरको दमकल आउँदा ढुंगा हानेर भगाउनेमा ऊ पनि देखिन्छ । तर, ती व्यक्ति अहिलेसम्म पक्राउ परेका छैनन् । सुरेशकै आसपास रहेका अन्य शंकास्पद व्यक्ति, प्रदर्शनकारी पनि समातिएका छैनन् ।
० अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोग मिल्यो त ?
– फ्रान्सबाट एउटा संस्था आएको थियो । हामी एभिन्युजमा गएका थियौं, त्यो संस्थाको प्रतिनिधि पनि त्यहीँ आउनुभएको थियो । हामीसँग भएको रिपोर्ट देखायौं, कुरा सुनायौं । उहाँहरूले हामी आफैं पनि अनुसन्धान गर्छौं भन्नुभएको थियो तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
० पत्रकारका अन्य संघसंस्थाबाट कस्तो सहयोग मिल्यो ?
– घटना हुँदा त सबैले सहयोगको प्रतिबद्धता जनाउने भइहाले । आर्थिक रुपमा चाहिँ केही संघसंस्थाले सहयोग गरे । पत्रकार महासंघले २५ हजार रुपैयाँ दिएको थियो । प्रेस चौतारी, प्रेस सेन्टरजस्ता संघसंस्थाहरूले पाँच–दश हजार दिए । हामीले पैसा त मागेका थिएनौं । तैपनि उहाँहरूले सुरेशको लागि भनेर दिएपछि लियौं ।
० दुर्गा प्रसाईंहरू जेल गएकोप्रति सन्तुष्ट हुनुहुन्छ ?
– हाम्रो माग उच्चस्तरीय छानबिन समिति गठनको हो । त्यसैले, अहिले जतिपनि जेल गएका छन्, त्यसमा सन्तुष्ट छैनौं । अनुसन्धान नै राम्ररी भएको छैन । आगो लाग्यो, मान्छे मर्यो भन्ने प्रहरी र राज्यको भनाइ छ । अनि एउटा बेलुन पड्किँदाचाहिँ छानबिन समिति गठन गर्ने, मान्छे मर्दा केही पनि नहुने !
तर, यसमा हामीलाई साथ दिने कोही भएनन् । पहुँच भएको भए घटनालगत्तै छानबिन समिति बन्थ्यो । यदि घटनामा कोही मन्त्री वा भिआईपी परेको भए त हुन्थ्यो नै । सुरेश सामान्य नागरिक हुनुभयो । यसैले, उहाँको न्यायका लागि छानबिन समिति गठन भएन । यसले यो देशमा न्याय पाउनसमेत कुनै न कुनै दलमा आबद्ध हुनैपर्छ भन्ने कुरासमेत देखियो ।
० सरकारतिर के छ पछिल्लो सम्पर्क ?
– गणेश पाण्डेले केही दिनअघि चाहिँ प्रधानमन्त्री भेटाइदिन्छु भनेर बोलाउनुभयो । हामी बालुवाटार गयौं । एक घण्टाजति कुर्यौँ । पछि बैठक भइरहेको छ, पाँच घण्टा लाग्छ भनेर फर्काइदिनुभयो । पाण्डेले केही दिनमा भेट्ने व्यवस्था मिलाइदिन्छु, तयारी अवस्थामा रहनू भन्नुभएको थियो । अहिले त फोन नै उठाउनुहुन्न । हामी के कुरामा चुक्यौं भनेर महसुस गरिरहेका छौं । यत्रो प्रमाण हुँदा, सबैतिर जाँदा, सबैलाई भेट्दा पनि केही हुन सकेन । हामी अन्यायमा छौं ।
० तपाईंहरूको अबको माग के हो ?
– छानबिन समिति गठन र सुरेशलाई शहीद घोषणा मात्रै गरिदिए भयो । सरकारले सुरेशलाई राजावादी भनेर पनि हेपेकोजस्तो लाग्छ । सुरेश कार्यरत एभिन्युज टेलिभिजनलाई राजावादी भनिँदो रहेछ । अनि त्यहीँ काम गर्ने पत्रकारलाई पनि राजावादी भनेरै हेपियो कि !
टिप्पणीहरू