बोल्नेभन्दा गरेर देखाउने बेला

बोल्नेभन्दा गरेर देखाउने बेला

मौका पाउँदा त कसैले नछाड्ने रहेछ । ताजा उदाहरण वीरगञ्जबाट प्रधानमन्त्रीका प्रिय राजकुमार गुप्ता हुन् । केपी शर्मा ओलीले ज–जसलाई विश्वास गरी टपक्क टिपेर मन्त्री बनाउनुभयो ऐन मौकामा तिनले उहाँलाई या उहाँले तिनलाई अप्ठ्यारो पारेकै देखिन्छ, गोकुल बाँस्कोटा हुन् कि कर्ण थापा ? पार्टी उपमहासचिव प्रदीप ज्ञवाली अथवा अहिलेका सामान्य प्रशासनमन्त्री गुप्ता नै किन नहोउन्, यस्ता पात्र धेरै छन् । शेरबहादुर तामाङले बंगलादेशमा एमबिबिएस अध्ययनरत नेपाली छात्राहरूका हकमा तीतोसत्य बोलेबापत मन्त्री पद गुमाउनुपर्‍यो । बाँस्कोटालाई १७ महिनादेखि दैलामा समेत ढिम्किन दिइएको छैन । दुःखका दिनमा उनले ओलीका लागि केसम्म गर्न पछि परेका थिए ? या उनका लागि कतिसम्म कोमलता देखाइयो ? यी सबै प्रकरणलाई सूक्ष्म तवरले विश्लेषण गर्ने हो भने प्रधानमन्त्री ओलीले मान्छे चिन्नुहुन्न या चिनेर पनि आँखा चिम्लने गर्नुहुन्छ ? भन्नुपर्ने हुन्छ । अथवा मन पर्दा अति च्याप्ने र यस्ता पात्रहरूले अञ्जानमा उहाँलाई मन नपर्ने कुनै काम गरे पत्तासाफ गर्ने बानीको प्रतिफल हो यो ? कुरा बुझिनसक्नु छ ।

अघिल्लोपटक प्रधानमन्त्री हुँदा ओलीले प्रत्येक सरकारी कार्यालयमा म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार हुन पनि दिन्नँ भन्ने पोस्टर टाँस्न लगाउनुभएको थियो । तर, व्यवहारमा यसको ठीक उल्टो भइरहेको देखिन्छ । उहाँको आसपासमै बसेकाहरू धेरै गन्हाइरहेका छन् । असगर अली जतिसुकै विवादमा आए पनि प्रधानमन्त्री उनको विरुद्ध केही कुरा सुन्नै चाहनुहुन्न । विद्या भट्टराईभन्दा ती प्यारा लाग्छन् उहाँलाई । त्यसो त ओलीले आफ्नै पार्टीभित्र मन परेकालाई च्याप्ने र नपरेकालाई पाखा लगाएका प्रसंग अनेक छन् । झापाकी सुनिता बरालले कसैले नपाएको चार चार वटा जिम्मेवारी पाइन् । पार्टीको केन्द्रीय सदस्य, एमाले अखिलको केन्द्रीय अध्यक्ष, समानुपातिक सांसद, प्रतिनिधि सभामा सचेतक । एमालेमा यसलाई दुर्लभ अवसरका रूपमा लिइन्छ । उहाँले पत्यार नगरेका र मन नपराएकाहरूले सक्षम भए पनि पार्टी काम, संगठन निर्माण र सुदृढीकरणतर्फ खासै जिम्मेवारी नपाएको अवस्था छ । डा. दीपकप्रकाश भट्ट, सोभियत ढकाल, कृष्णभक्त पोख्रेल, हरि उप्रेती–ती कैयन पात्र हुन् । पार्टीकै पदाधिकारीहरूले पनि भूगोलमा काम गर्ने जिम्मेवारी पाएका छैनन्, पाए पनि काम गर्ने वातावरण छैन । कतिपयलाई थपना मात्रै राखिएको गुनासो छ । एकताका युवराज खतिवडाबाहेक अरु कसैको भाउ थिएन । यी दुवै प्रकरणलाई हेर्दा अध्यक्ष ओली पपुलिस्ट हुने नाममा जे पनि बोल्ने, जे पनि गर्ने मुडमै देखिनुहुन्छ अझै पनि । 

तर, पपुलिस्ट हुने नाममा कामतिर चाहिँ ढंग पुर्‍याएको पाइन्न । उदाहरणका लागि दमकको भ्यु टावर नै काफी छ । मलको अभावमा ध्यान छैन । घर–घरमा पेट्रोल र ग्यास पुर्‍याउने, बेनीमा रेल स्टेशन बनाउने, बेसारपानीले कुल्ला गर्दा कोरोना निको हुने, महादेव शिवजी राई चाम्लिङ हुन सक्नेजस्ता अप्रमाणित कुराले राम्रो पक्कै गरिरहेको छैन । राम ठोरीमा जन्मेको र शिवजी चाम्लिङ हुन सक्ने निष्कर्षले देशवासीलाई कमेडी क्लबजस्ता मजाकिया ठाउँमा सरकार प्रमुखको हुर्मत लिन मौका दिइरहेको छ । गालीगलौज र प्रतिक्रियात्मक बोली र व्यवहारले व्यक्तिगत रूपमा उहाँ, देश र पार्टीको साख दिनदिनै गिराइरहेको छ । दुई–दुई पटक आफैँद्वारा राष्ट्रपतिको दायित्व निर्वाह गर्न सघाइएकी विद्यादेवी भण्डारीविरुद्ध सार्वजनिक तवरबाट गरिएका टीका–टिप्पणी र खुल्लमखुला दिइने जवाफ पद सुहाउँदा भएनन् कि ! पार्टीका विवाद पार्टीभित्रै टुंग्याउँदा हुन्थ्यो तर यस्तो व्यवहार भइरहेको छैन । भ्रष्टाचारीविरुद्ध शून्य सहनशीलताको आफ्नै नारालाई व्यवहारमा कार्यान्वयन गर्नु र काम गर्ने कुमारलाई पाखा लगाउँदै वरपर घुमी बस्ने गणेशहरूलाई वर्जित गर्नु कठिन चुनौती त हुन् तर असम्भव भने हैनन् ।

टिप्पणीहरू