कमरेड ईश्वरमाथिको आक्रमण : दासत्वको स्वीकारोक्ति र वैचारिक आत्मसमर्पण

कमरेड ईश्वरमाथिको आक्रमण : दासत्वको स्वीकारोक्ति र वैचारिक आत्मसमर्पण

नेकपा एमालेभित्र अहिले तीव्र वैचारिक बहसको सुरुआत भएको छ। करिब १२ वर्षसम्म चलेको व्यक्ति–केन्द्रित भक्तिगान र देवत्वकरणको अभ्यासबाट पार्टीलाई मुक्त गर्दै वैचारिक छलफलको चरणमा प्रवेश गर्ने क्रममा, केही नेतामाथि आक्रमणको प्रयास थालिएको देखिन्छ। त्यसको केन्द्रमा हुनुहुन्छ—वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल।

हालका अध्यक्ष आन्दोलनबाट पलायन भएर भारतका विभिन्न भूभागमा रहेका बेला विभाजित कम्युनिस्ट आन्दोलनलाई जोड्न बीसको दशकमै राजनीतिमा प्रवेश गर्नुभएका पोखरेलको चरित्र हत्या गर्नसम्मको प्रस्ताव आएको छ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा दृढतापूर्वक उभिएका पोखरेलले पार्टीभित्र वैचारिक बहस उठाउन थालेपछि, अब टोलस्तरीय धम्की र गालीगलौज शैलीमा प्रतिवाद हुन थालेको छ—जसले गम्भीर विषयलाई हास्यास्पद बनाइरहेको छ।

कसैले पोखरेलमाथि नेताको वरिपरि बसेर लाभ लिएको आरोप लगाउँछन्, तर त्यो आरोप गर्नेहरू स्वयं दास मानसिकता बोकेको समूह हुन् भन्ने बुझ्न आवश्यक छ। किनभने पटक–पटक कार्यकर्ताबाट अनुमोदन प्राप्त गर्दै निर्वाचित हुने नेताको सामथ्र्य केवल पोखरेलजस्ता नेतासँग मात्र हुन्छ। 
ईश्वर पोखरेललाई अपमानित गर्न खोज्नु नेपालको कम्युनिस्ट आन्दोलन र नेकपा एमालेको गौरवपूर्ण इतिहासमाथि नै अपमान गर्नु हो। ओलीले अध्यक्ष बनेपछि आफूलाई बचाउनेहरूप्रति पनि सम्मान गर्न नसकेको धेरै उदाहरणहरूमध्ये, जेल जीवनमा उनलाई बचाउने राधाकृष्ण मैनालीप्रति गरिएको अपमान पर्याप्त प्रमाण हो। यस्ता उदाहरणहरूको सूचीग्रन्थको आकारमा पुग्छ।

यस्तै, पार्टीको वैचारिक सुदृढीकरणका लागि काम गरिरहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सहयोग गरिरहेका पोखरेलमाथि प्रहार गर्नु—नैतिक तहमा निकै न्यूनस्तरको कार्य हो भन्ने आम कार्यकर्ताहरूको बुझाइ छ।

यो आक्रमण दास प्रवृत्तिका, विचारहीन र बिचौलिया तत्वहरूबाट गरिँदैछ, जसले ‘बाको गुनगान’ गाएर एक थान नियुक्तिको आकांक्षा राख्छन्, वा केही थान मुद्दा परेका छन् र त्यसबाट उम्किन नेताको कृपादृष्टि खोजिरहेका छन्।

पार्टी विधानप्रति प्रेमपत्र लेखेझैँ व्यवहार गर्दै, आफूलाई चित्त नबुझे च्यात्ने प्रवृत्ति बढ्दो छ। यसले नेकपा एमालेको शुद्ध वैचारिक पहिचान र वैधानिक चरित्रलाई कमजोर पार्दै गैर–कम्युनिस्ट अभ्यासलाई प्रश्रय दिएको छ।

पञ्चायतकालीन चाकरी संस्कृति झल्काउने वर्तमान अभ्यासको स्पष्ट उदाहरण पार्टी अध्यक्ष स्वयम् हुन, जसको विरोध गर्ने पोखरेलमाथि आक्रमण हुनु दुःखद विडम्बना हो।

थप रूपमा, अध्यक्ष ओलीको जनताको बहुदलीय जनवादप्रतिको उदासीनता र ‘लाल सलाम’ जस्ता पार्टी संस्कारप्रतिको दूरीले धेरै कार्यकर्तालाई आन्तरिक रूपले पीडित बनाएको छ।

ओली अध्यक्ष बनेपछि एक दर्जनभन्दा कमपटक मात्र जनवादको नाम लिएको पाइन्छ भने, लाल सलामसहितको अभिवादन झण्डै हराएको छ। यसको सट्टामा देखिएको व्यवहारमा ‘वाद’ होइन, ‘ढोंग’ हावी देखिन्छ।

यसरी पार्टी उल्टो बाटोमा हिँडिरहेको बेला सही मार्गमा फर्काउन खोज्ने नेतामाथि अपमान हुनु—आन्दोलन र संगठन दुवैको दुर्भाग्य हो।

टिप्पणीहरू