लिङ्देन कठोर बनेको २४ घण्टा नबित्दै गिरी पदमुक्त

लिङ्देन कठोर बनेको २४ घण्टा नबित्दै गिरी पदमुक्त

पूर्वपञ्चहरुको पार्टी राप्रपामा आन्तरिक कलह झनै चर्किएको छ । अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले नवराज सुवेदीलाई जिम्मेवारीमुक्त गरेपछि शुरु भएको किचलो बढ्दै जाँदा अरु नेताहरू पनि धमाधम कारवाहीमा पर्न थालेका छन् । 

आज उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त भएका छन् । उनलाई अध्यक्ष लिङ्देनको निर्णय बमोजिम पदमुक्त गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

दुई साताअघि लिङ्देनले पार्टी प्रवक्ताबाट सगुन सुन्दर लावती र केन्द्रीय अनुशासन आयोगको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएर आफू निकटलाई जिम्मेवारी दिएका थिए । गिरीसहित धवल शमशेर पक्षधर नेताहरुले उक्त निर्णय विधानविपरित रहेको भन्दै विज्ञप्तिमार्फत् विरोध जनाएका थिए ।  

त्यसयता पार्टीभित्र अन्तरविरोध चर्किदै गएपछि हिजो लिङ्देनले फेसबुकमार्फत् कठोर बन्ने समय आएको बताएका थिए । उनले भनेका थिए, ‘साथीहरू, निष्ठाको रक्षाको लागि अब कठोर बन्ने समय आयो ।’

फेसबुकमा स्टाटस लेखेको २४ घण्टा नबित्दै उनले गिरीलाई पदमुक्त गरेका हुन् । राप्रपामा संस्थापन र इतर खेमाबीच लामो समयदेखि विवाद रहँदै आएको छ ।


 

टिप्पणीहरू