ओलीलाई हुत्याए विद्या इन्दिरा गान्धी बन्ने ठहर

ओलीलाई हुत्याए विद्या इन्दिरा गान्धी बन्ने ठहर

बाजुरा एउटै जिल्ला हो तर यहीँका कर्ण थापाले विद्या भण्डारी र दयालबहादुर शाहीले केपी ओलीको तर्फबाट मोर्चा सम्हाल्दै छन् । थापा ओलीबाट पार नलाग्ने भन्दै विद्यालाई एमालेमा सक्रिय गराउन सक्रिय छन् । तर दयालबहादुर ‘मेरो भाग्य बलियो छ । यी ठेट्ना हुन् । कुहिएको हाँगो समाएका छन्’ भन्दै भण्डारी पक्षधरलाई लल्कारिरहेका छन् । 

‘कर्णजीसँग भेट भएको थियो, १० दिनजति अगाडि संयोगले एकै होटलमा खाना खान पुगेछौँ । हिजोसम्म ओलीलाई दुवै भाइले बोक्यौं । अहिले आएर ओलीसँगै हिँड्न किन लाज मान्नुहुन्छ ? किन नचाहिँदो मान्छेको पछाडि लाग्नुभएको हो भनेर सोधेँ, ’ शाही भन्छन्, ‘उहाँले ओली कमरेड घमण्डी भए भन्नुभयो । तर, मैले मन्त्री भएकाले त फूर्ति गर्छन् । तीनचोटी प्रधानमन्त्री भएको मान्छेले टेर्छन् त भनेर सम्झाउन खोजेँ ।’ 

गोकुल बाँस्कोटा र कर्ण थापाले मन्त्री खाएर सबै अभिष्ट पूरा गरेको आरोप लगाउन पनि दलाय पछि पर्दैनन् । ‘ओली स्वास्थ्यको कारण हटिहाल्छन् भन्न सोचेका थिए । नजिक भएर मन्त्री खाए । बाउलाई छोडेर जनताले छोरालाई बोक्दैनन् । योग्यताअनुसार सबैले पाउने पाइसके । ओलीलाई अपमानपूर्वक लखेट्ने कुरा स्वीकार्य छैन,’ भन्छन्, ‘विद्यालाई लाज नलागे पनि एमालेलाई लाज लाग्नुपर्छ । विद्यालाई एमालेले पुच्छर बनाउन हुँदैन ।’दयाल एमालेमात्रै दक्षिण एशियामा परिवारवादको शासनबाट मुक्त भएकोले अब पनि विरासतको राजनीति नमान्ने बताउँछन् । 

‘यो क्षेत्रमा परिवारवाद हावी नगराउने भाजपा र एमाले मात्रै हुन् ।कोइराला, गान्धी, हसिना, भुट्टो, राजापाक्षेको हालत हेरिहाल्नुभयो । योभन्दा हाम्रो पार्टी सग्लो छ, ’ उनी भन्छन्, ‘नचाहिँदो काममा किन लाग्ने ? विद्यालाई दिनुपर्ने जति दिइसकियो । उनका भाइ बन्न खोज्लान् । छोरी हुन खोज्लान् । हिजो मदन भण्डारीको भाइलाई पनि मानेकै हो ।’ पार्टी लहड होइन निष्ठाले चल्ने उनको तर्क छ । भन्छन्, ‘दयाल जीवित हुन्जेलसम्म नचाहिँदो हुन दिँदैन ।’ 

विद्यालाई एमालेमा सक्रिय गराउनेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरल खुलेर आएका छन् । तर शाही ईश्वरलाई भगुवा जर्नेल भन्छन् । विद्याले घोषणा नगर्दै तीन हप्ताजति अघि उनलाई फकाउन शीर्ष नेता लाग्ने तयारी भएको थियो । ‘सक्दो गर्नुस् भनेका थिए । विष्णु पौडेल र सूर्य थापालाई राखेर पूर्वराष्ट्रपतिसँग तपाईंको इच्छा के हो भनेर सोध्नुभयो,’ उनले भनेका छन् । जवाफमा उनले विद्याले यथेष्ट पाइसक्नुभयो भनेर ऋषि धमलालाई अन्तर्वार्ता दिएको उल्लेख गरेका थिए । त्यसपछि कर्ण थापाले भण्डारीको पक्षमा बोल्न थालेको उनको भनाइ छ । उनीहरूमाथि दया धेरै भयो । अर्घाएका किर्ना हुन्’ उनी भन्छन् । 

‘अष्टलक्ष्मी शाक्य अनेसंघको अध्यक्ष हुँदा विद्यालाई अनेमसंघको केन्द्रीय सदस्य बनाइएको हो, दयाल दाबी गर्छन्, ‘जसले ठाउँ दियो, पछि उसैलाई हुत्याउने यसरी चल्छ राजनीति ?’‘उर्मिला अर्यालसँग मिलिनन् । साहानालाई आदर गरिनन्’, शाहीले भन्ने गरेका छन्, ‘माधव, झलनाथ, वामदेव र प्रचण्ड बाहिर छन् । ओलीलाई हुत्याए त यी जंगबहादुर जस्तो मात्रै होइन इन्दिरा गान्धी जस्तो हुन्छिन् ।’

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू