माधवको एसमा मिल्दै वामदेवको अभियान

माधवको एसमा मिल्दै वामदेवको अभियान

नेकपा एमालेमा जान चाहेका तर बेवास्ता गरिएपछि 'अलपत्र' परेका नेकपा एकता अभियानका संयोजक वामदेव गौतम एकीकृत समाजवादीमा मिसिने निश्चित भएको छ । 

पत्नी तुलसा थापासहित केन्द्रीय कमिटीका दर्जनौँ नेताहरूलाई लिएर उहाँ आज विधिवतरूपमा एसमा एकीकृत हुन लाग्नुभएको हो । दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा दुई पार्टीबीच एकता घोषणा सभा हुँदैछ ।  

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र गौतमले असार २७ मा पार्टी एकीकरणको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । उहाँहरुबीच कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउन एकजुट भएर लाग्ने सहमति छ । 

‘राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकताबद्ध हुने सहमति गरियो । साथै, २०८२ साउन २ गते राष्ट्रिय सभा गृहमा भव्य समारोहको आयोजना गरी एकताको घोषणा गर्ने सहमति भयो’, सम्झौता पत्रमा लेखिएको छ । 

यसअघि दुई नेताबीच पार्टी एकताका लागि चरणवद्ध वार्ता भएपनि सहमति जुटेको थिएन । त्यसबीच गौतमले एमालेतिर जान मन बनाएपछि वार्ता अवरुद्ध भएको थियो । 

तर, एमाले अध्यक्ष केपी ओलीले पार्टीमा लिन नचाहेपछि 'अलपत्र' परेका गौतमले एससँगको संवादलाई पुन: निरन्तरता दिनुभएको थियो । त्यसैको परिणामस्वरूप पार्टी एकता सम्भव भएको बताइएको छ ।
 

टिप्पणीहरू