कम्पनी रजिष्ट्रार कार्यालय : क्यामिक्स प्रणालीपछि सुधारको बाटोमा
राजधानीका सरकारी कार्यालयहरूमा व्यस्तमध्ये एक हो कम्पनी रजिष्ट्रार कार्यालय। जहाँ कम्पनी दर्ता, नवीकरण, खारेजी, सेयर बाँडफाँटका लागि दैनिक ठूलो संख्यामा सेवाग्राही पुग्ने गर्छन्। पछिल्लो समय क्यामिक्स प्रणाली लागू भएसँगै अनलाइनबाटै सबै काम हुने भएकाले कार्यालयमा हुने भीड तुलनात्मक रूपमा घटेको छ।
यसै सन्दर्भमा कार्यालय प्रमुख, रजिष्ट्रार ईश्वरकुमार गिरीसँग जनआस्थाका लागि राजकुमार रायले गरेको कुराकानी :
पछिल्लो समय कार्यालयमा के–कस्ता सुधार गरिएको छ ?
डिजिटल फ्रेमवर्कमा जाने सरकारको अहिलेको एजेन्डा कार्यान्वयन गर्न हामीले क्यामिक्स प्रणाली लागू गरेका छौँ। यो प्रणालीको सुरुवात गर्नु हाम्रो लागि ठूलो चुनौती रह्यो। सबैलाई बुझाउन निकै कठिन भयो। तर बिस्तारै सबै पक्षसँग छलफल गरेर प्रणाली लागू गर्न सफल भएका छौँ।
२०८१ फागुन १९ गतेदेखि हामीले डिजिटल हस्ताक्षरसहितको यो प्रणाली लागू गरेका हौँ। जसमा २० हजार ७६६ वटा कम्पनी दर्ता भइसकेका छन्। तीन लाख ५१ हजार ८४ वटा कम्पनी सञ्चालनमा छन् भने ११ हजार ८९१ वटा खारेजी प्रक्रियामा छन्।
यही प्रणालीबाट हामीले कर्मचारीको आचरण, कम्पनीको व्यवस्थापन सुधार्ने काम गरिरहेका छौँ। कम्पनीहरूलाई प्रोत्साहन, छिटोछरितो सेवा दिने प्रयासमा छौँ। तर अझै पनि यो पूर्ण रूपमा कार्यान्वयन भइसकेको छैन। तैपनि फाइलिङ सिस्टमबाट डिजिटल प्रणालीमा जान एउटा पाटोबाट हामी अघि बढिसकेका छौँ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कम्पनी खारेजी सम्बन्धी व्यवस्था आएको छ, त्यसको कार्यान्वयन कस्तो छ ?
विगतमा कम्पनी नवीकरण र खारेजी समयमै नगरे सरकार जरिवाना तिराउँदै आएको थियो, अहिले त्यसमा छुटको व्यवस्था गरिएको छ। ९० प्रतिशतसम्म छुट दिएका छौँ। चुक्ता पूँजीको ०।५ प्रतिशत तिरेमात्र पनि कम्पनी खारेज गर्न मिल्छ। यसैको सदुपयोग गर्न अहिले कार्यालयमा भीडभाड बढेको हो।
कम्पनीका शेयर होल्डर, प्रतिनिधिहरू छन्। केही तेस्रो पात्र मध्यस्थको रूपमा देखा परेका हुन्छन्। ती मानिसहरूलाई दिनहुँ आउनुपर्ने आवश्यकता छैन। यो प्रणालीमार्फत नै उनीहरूले काम गर्न सक्छन्। यसलाई पनि सुधारको महत्त्वपूर्ण पाटो मान्नुपर्छ।
तर सेवाग्राहीको गुनासो अझै सुनिन्छ नि ?
कहिलेकाहीँ सिस्टममा समस्या आउँदा भनेजस्तो सेवा प्रवाह नभएको हुनसक्छ। तैपनि त्यस्तो समस्या हुँदा हामीले फोन गरेरै पनि सूचना दिन्छौँ। कहिलेकाहीँ फोन नउठेर, कर्मचारी संख्या कम हुँदा सूचना पुग्न सक्दैन। यो हाम्रो पनि कमजोरी हो। यसलाई पनि हामी सिस्टमबाटै सुधार गर्ने प्रयास गरिरहेका छौँ।
अनलाइनमार्फत समयमै काम भएन भन्ने गुनासो पनि छ नि ?
गुनासो गर्दै कतिपय कम्पनीका प्रतिनिधि यहाँसम्म आइपुग्छन्। त्यसका लागि यहाँ आइरहन आवश्यक छैन। प्रणालीमार्फत नै गुनासो गरेमा तत्काल कर्मचारीलाई कारबाही हुने व्यवस्थासमेत गरेका छौँ।
एकातिर घरमै बसेर अनलाइनबाट सबै काम गर्न सकिन्छ भनिन्छ, तर भीड कम छैन नि ?
बैंकमा जसरी खाता खोल्न एक पटक आफैँ जानुपर्छ, त्यसरी नै यहाँ पनि शुरुमा युजर आईडी र पासवर्ड लिन आउनुपर्ने हुन्छ। त्यसैले हिजोआज भीड देखिएको हो। दैनिक दुई–अढाई सयजति सेवाग्राही आउनुहुन्छ। उहाँहरूका लागि छुट्टै डेस्कको स्थापना गरेका छौँ।
कर्मचारी पनि थपेका छौँ। मन्त्रालयबाट १५–१७ जना उपलब्ध गराइएको छ। तर, उनीहरूलाई काम सिकाउन अलिकति समय लाग्छ। किनकि क्यामिक्स प्रणाली नयाँ हो, धेरैलाई थाहा हुँदैन। त्यसैले बुझाएर काम सिकाएर मात्रै लगाउनुपर्छ।
क्यामिक्स प्रणालीमा परिमार्जनको आवश्यकता देखिएको छ नि ?
मैले पनि यो महशुस गरेको छु। पाँच महिनाको अनुभवमा कार्यान्वयन गर्दै जाँदा अलि छिटो बनाउने, त्रुटि सच्याउनेलगायत विषयमा सुधार गर्नुपर्ने देखिएको छ। यस सम्बन्धमा हामी सेवाग्राहीसँग पनि सुझाव लिइरहेका छौँ। ती संकलन गर्दै सुधारको पाटो अपनाउने छौँ। केही सुझाव प्राप्त भइसकेका छन्।
अब सेवाग्राहीसँग प्रत्यक्ष छलफल कहिले ?
अब सेवाग्राहीसँग छलफल गर्ने चरणमा छु। साउनदेखि फुर्सद हुने भएकाले गर्ने योजना बनाएका छौँ। के समस्या पर्यो ? सिस्टममा के सुधार गर्नुपर्ने देखियो ? तपाईंहरूले नबुझेको हो कि ? के हो ? भनेर छलफल गर्नेछौँ। प्रणाली बनाउने मात्र ठूलो कुरा होइन, त्यसमा सुधार पनि गर्दै जानुपर्छ भन्नेमा हामी सचेत छौँ। यसमा सबैको सुझावको खाँचो छ।
सेवाग्राही सन्तुष्ट नभएको गुनासोबारे तपाईंको धारणा ?
सेवाग्राहीको असन्तुष्टि एप्लिकेसन अपलोड नभएकोमा हुन सक्छ। एकैपटक धेरैले अपलोड गर्न खोज्दा सिस्टममा समस्या आउँछ र समय लाग्छ। त्यसप्रति हामी सचेत छौँ।
यसको अर्थ सेवा प्रवाहको गुणस्तरप्रति तपाईं ढुक्क हुनुहुन्छ ?
कार्यालय प्रमुखको हिसाबले मैले गर्नुपर्ने काम जिम्मेवारीपूर्वक निभाइरहेको छु। असार मसान्तसम्म मात्र प्रवाह हुने सेवाका निम्ति कर्मचारीलाई बिहान ६ देखि राति ११ बजेसम्म काम गरिरहेका छौँ। उनीहरूका लागि खाजा, खानाको व्यवस्था गरिएको छ। काम गर्दागर्दा ढिलो हुँदा कर्मचारी कार्यालयमै सुत्नुपरेका उदाहरण छन्।
कर्मचारीले पदीय जिम्मेवारी र आचरणमा रहेर आफ्नो कर्तव्य पूरा गरिरहेका छन्। मेरो हिसाबले सेवा प्रवाह चुस्त–दुरुस्त नै छ। तर शतप्रतिशत राम्रो छ भन्ने दाबी होइन। गुनासोलाई गम्भीर रूपमा लिएर सम्बोधन गरिरहेका छौँ। सबैले सहज र छिटो सेवा पाउनुपर्छ भन्ने नै हाम्रो उद्देश्य हो।
अन्य कार्यालयहरूमा प्रमुखले आफूअनुकूल कर्मचारी ल्याउने गरेको पाइन्छ, यहाँ पनि त्यस्तै हो ?
यहाँ त्यस्तो केही छैन। मन्त्रालयले कर्मचारी खटाउने हो। म आउँदा पनि एक्लै आएको हुँ र जाँदा पनि एक्लै जान्छु। लोकसेवा आफैँले पास गरेरै आएको हुँ। कर्मचारी भएपछि राज्यप्रति जिम्मेवार हुनुपर्छ। अधिकार मात्र खोज्ने होइन, काम–कर्तव्यप्रति पनि उत्तरदायी हुनुपर्छ। काम गर्ने हुटहुटी भएको कर्मचारी चाहिन्छ। यस्तै कर्मचारी देश र हामीलाई चाहिएको हो।
शाखा कार्यालयहरूले के–कस्ता काम गरिरहेका छन् र ?
हाम्रा दुईवटा शाखा कार्यालय छन्—बुटवल र इटहरीमा। भर्खरै कर्मचारीलाई तालिम दिएका छौँ। त्यहाँ दक्ष कर्मचारी नभएकाले अहिले सामान्य काम मात्र भइरहेका छन्। शाखा विस्तार गर्ने विषयमा मन्त्रालयसँग छलफलमै छौँ। कम्तीमा सातवटै प्रदेशमा शाखा विस्तार भएमा काम छिटोछरितो हुने विश्वास लिएको छु।
टिप्पणीहरू