सहकारीकी ओमदेवीले साह्रै सताइन्

सहकारीकी ओमदेवीले  साह्रै सताइन्

ओमदेवीको अहंकार झेल्न कसले गर्ने आँट ? सहकारी क्षेत्रमा देखिएका संकट पनि अजीवका छन् । रकमको अभावदेखि नियतका तनाव अनि राजनीतिका प्रभाव देखि नेतृत्वका स्वभावसम्म संकटको कारण बनेका छन् ।

राष्ट्रिय सहकारी महासंघमा पछिल्लो समय अध्यक्ष ओमदेवी मल्लको स्वभाव पनि संकटको कारण बनेको छ । अध्यक्ष बन्नका लागि बालकोटदेखि धापासी र भैंसेपाटी धाएर सबै टावर मिलाएकी मल्ललाई पछिल्लो समय महासंघ चलाउन कठिन भइरहेको छ । अध्यक्ष बनाउन सबैभन्दा बढी लागिपरेका केबी उप्रेती सहकारी ठगी प्रकरणमा जेल परेपछि मल्ललाई रणनीतिक निर्देशन र संरक्षण गर्ने निकट पात्रको अभाव छ ।

महासंघको अध्यक्ष भइसकेका केशव बडाल र मीनराज कँडेलको बुझाइमा मल्ल अरु कसैको सुझावमा चल्ने व्यक्ति हुन् । मल्ल अध्यक्ष भएर आएपछि महाप्रबन्धक चित्रा सुब्बा राजीनामा दिएर विदा भएकी थिइन् । पार्टीको लाइन मिल्ने भन्दै ल्याइएका सुरेश थापाले पनि ६ महिना हाराहारी महाप्रवन्धक सम्हाल्दै मल्ललाई झेल्न सकिन्न भन्ने निश्कर्षसहित राजीनामा दिएका छन् ।

सरकारले दिएको बजेट खर्चदेखि केही नीतिगत निर्णय र प्रशासनिक कामहरूमा मल्लले हस्तक्षेप यति गर्ने कि सुरेश यहाँ आऊ त, यसो गर त भन्दै घरेलु कामदारलाई जस्तो व्यवहार गरेको भन्दै थापाले साथीहरूसँग दुखेसो पोखिरहेका थिए । पार्टी त म पनि उही हो तर स्वार्थ समूहको दवाव र लाभका निम्ति मेरो बलिदान हुने खतरा भयो, जोगिनुको विकल्प छैन– राजीनामा दिएर उन्मुक्त भएपछि बानेश्वरको एउटा क्याफेमा पार्टीनिकट सहकारीका केही नेतासँग थापाले खुलाए । 

टिप्पणीहरू