काठमाडौँका क्याम्पसमा नेविसंघको प्रदर्शन
नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघ सडकमा ओर्लिएको छ । शैक्षिक क्षेत्रमा देखिएको बेतिथी रोक्न भन्दै नेविसंघले आज काठमाडौँका विभिन्न क्याम्पसमा विरोध प्रदर्शन गरेको छ ।
अत्याधिक शुल्क वृद्धि, दोहोरो भर्ना, छात्रवृत्तिमा ठगी, शैक्षिक शोषण र बेतिथि रोक्न माग गर्दै नेविसंघका निवर्तमान अध्यक्ष पुष्करविक्रम शाहीको नेतृत्वमा थापाथली क्याम्पसमा आन्दोलन गरिएको छ । टाउकोमा कालोपट्टी बाँधेर झण्डै चार दर्जनले मूल गेटमा धर्ना दिए ।
त्यसक्रममा कांग्रेसी विधार्थीहरुले क्याम्पस गेटअगाडिको मुख्य सडकमा टायर बाले र विरोध जनाए । उनीहरुले ‘नेविसंघ जिन्दावाद’,‘जय नेपालको नाराले दुःख पायो साराले’,‘ठप्प भएको पठनपाठन तत्काल शुरु गरियोस्’,‘आईओईमा पुनः परीक्षा शुल्क तत्काल कम गरियोस्’,‘विद्यार्थी प्रतिनिधित्वबिनाको सिनेट बैठक अमान्य’,‘शिक्षक नियुक्ति एक सय प्रतिशत खुला प्रतिस्पर्धाबाट गरियोस्’,‘एचडिडि सोही विषयको शिक्षक मात्र नियुक्त गरियोस्’,‘थापाथली क्याम्पसको होस्टेल तत्काल शुरु होस्’,‘विद्यालय शिक्षा ऐन तत्काल जारी गर’,लगायतका नारा लगाएका छन् ।
उता, त्रिचन्द्र क्याम्पसअगाडिको सडकमा पनि प्रदर्शन शुरु भएको छ । ‘विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी गर’ भन्दै त्रिचन्द्र बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा प्रदर्शन थालिएको हो ।
समितिका सभापति अमृतबहादुर शाहीको नेतृत्वमा भएको प्रदर्शनमा त्रिचन्द्र क्याम्पस स्ववियु सभापति गोविन्द कोइराला, केन्द्रीय सदस्य साजन योन्जन, नारायण पाण्डे, यसमान विष्ट, एनपी जोशीलगायत दुई दर्जनको सहभागिता छ । उनीहरुले सबैका लागि न्यायपूर्ण र पारदर्शी शिक्षा, शैक्षिक माफियाहरुको मनपरी लुट, शुल्कवृद्धि खारेजलगायतका माग राखेका छन् ।
टिप्पणीहरू