कांग्रेस–एमाले मिलाउनेहरु ओली–विद्यालाई मिलाउन कुद्दै
सौराहा महाधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीमा संकेन्द्रित नेकपा एमालेमा आन्तरिक किचलो फेरि शुरु भएको छ । पूर्व उपाध्यक्षसमेत रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा पुनरागमनसँगै तलदेखि माथिसम्म नेताहरू दुई कित्तामा उभिन थालेका छन् । स्थायी कमिटी सदस्य कर्ण थापालगायत एकथरी नेताले विद्याको पक्षपोषण गरिरहँदा एकै जिल्लाका दयालबहादुर शाहीहरु ओलीको रक्षार्थ ज्यान दिएर लागेको देखिन्छ ।
महाधिवेशनको मिति घोषणा नहुँदै नेता–कार्यकर्ता यसरी कित्ताकाटमा उत्रँदा पार्टीको भविष्यप्रति चिन्ता प्रकट गर्ने एकथरी शुभचिन्तक भने ओली र विद्यालाई मिलाउन भित्रभित्र सक्रिय भैरहेको खबर छ । समाचार स्रोतका अनुसार, एमालेलाई माओवादी केन्द्रबाट निकालेर नेपाली कांग्रेससँग गठबन्धन गराउन सक्रिय भूमिका खेलेका ‘स्वतन्त्र’ व्यक्तिहरू यसमा संलग्न छन् । तीमध्ये गत वर्ष असार १७ गते अध्यक्ष ओली र काँग्रेस सभापति शेरबहादुर देउवालाई एक ठाउँमा उभ्याएर ७ बुँदे गराउन निर्णायक भूमिका खेलेकाहरूको एउटा टोली असार १४ यता पटक–पटक बालुवाटार र भंगाल पुगेको बुझिएको छ ।
विद्या एमालेमा फर्किएसँगै वाम गठबन्धनको सम्भावना बढेको निश्कर्षका साथ काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरूले सतर्क रहन देउवालाई सल्लाह दिएको पृष्ठभूमिमा वर्तमान सरकार निर्माणमा पर्दा पछाडिबाट भूमिका खेलेकाहरूको सक्रियतालाई अर्थपूर्ण मानिएको छ । उनीहरुले अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीलाई छुट्टाछुट्टै भेटेर तिक्तता नबढाउन आग्रह गरेको स्रोतले सुनायो ।
बताइएअनुसार असार १४ गतेअघि धेरैचोटि र त्यसपछि एकपटक पूर्व राष्ट्रपति निवास भंगाल पुगेका उनीहरुले अध्यक्षसँग दूरी बढाउँदा पार्टी र विद्या स्वयंलाई फाइदा नहुने भन्दै मिलेर जान सुझाव दिएका छन् । सरकार र प्रधानमन्त्री ओलीमाथि चौतर्फी राजनीतिक हमला भैरहेकाले अहिले अन्तरविरोध चर्काउने होइन आन्तरिक एकता कायम राख्नुपर्छ भन्न जाने समर्थक/शुभचिन्तकहरूसँग विद्या पनि नकारात्मक हुनुहुन्न । तर, अध्यक्ष ओलीप्रति बढी झुकाव राख्ने उनीहरुलाई उहाँले पार्टीमा फर्किने कुरामा भने कुनै पनि सम्झौता नहुने प्रष्ट सन्देश दिनुभएको बुझिएको छ ।
‘उहाँ (ओली) को पपुलारिटी गिर्दै गयो, गर्नुपर्ने काम पनि गर्न सक्नुभएन । एमालेमाथि नै चुनौती हुन्छ कि भन्ने डर छ’, विद्याको भनाइ स्रोतले सुनायो, ‘त्यसैले मैले राजनीतिमा सक्रिय हुने निर्णय गर्नुपरेको हो ।’ यस्ता भेटमा उहाँले जनताको बहुदलीय जनवाद (जबज) प्रति समर्पण छ पनि भन्ने गर्नुभएको छ ।
यही सरोकार लिएर उनीहरुले अचेल निकै बेचैन देखिने गर्नुभएका प्रधानमन्त्री ओलीसँग पनि भेटघाट गरिरहेका छन् । स्पेन उड्नु ठीक अघिल्लो दिन असार १३ गते शुक्रबार बालुवाटारमा लामै कुराकानी भएको थियो । पछिल्लो पटक असार २१ गते संवाद भएको र पार्टीमा अन्तरविरोध मत्थर पार्न सुझाव दिँदा विद्या र ईश्वर पोख्रेलप्रति ओली सन्तुष्ट नसुनिएको स्रोतले बताएको छ । ‘ईश्वर सफ्टवेयर हुन्, सफ्टवेयर बाहिर देखिँदैन तर काम गरिरहेको हुन्छ भन्ने नबुझ्नु अध्यक्षज्यूको कमजोरी रह्यो, भेटमा यस्तै कुरा भएको थियो’, स्रोतले भन्यो ।
असार ११ गते बुधबार बिहान साढे ११ बजे बालुवाटारमा ओलीसँग खाना खाँदै ईश्वरले ‘अबको अध्यक्ष पनि तपाईं नै हो’ भन्ने विश्वास दिलाएर फर्किएको प्रम ओलीनिकट श्रोतले बतायो । पर्सिपल्ट १३ गते खोटाङका विशाल भट्टराईसँगको भेटमा पनि ‘मेरो अब केही महत्वाकांक्षा छैन, ओली नै हो अध्यक्ष’ भनेको रिपोर्टिङ पुगेपछि ओली थप ढुक्क हुनुभयो र नजिककाहरूलाई ‘ईश्वरसँग राम्रो कुरा भएको छ, उता जाँदैनन्’ भन्नुभयो । तर, त्यसको भोलिपल्ट १४ गते राष्ट्रिय सभागृहमा ओलीसँगै उभिएर उनले विद्याको पक्षमा कडीकडाउ भाषण गरे । बालुवाटार निकटहरूले यसलाई ईश्वरले दोहोरो चाल चालेर धोका दिएको भनिरहँदा अस्ति भेटेका शुभेच्छुकहरूले चाहिँ ‘ईश्वर पोख्रेल सफ्टवेयर हुन्, उनी नदेखिएरै काम गरिरहेका हुन्छन्’ भनी अध्यक्षलाई सजग गराएर फर्किएको बताइएको छ ।
टिप्पणीहरू