तपाइँलाई राजा नै किन चाहिन्छ ?
राप्रपासहित केही व्यक्ति र समूह राजसंस्था फर्काउन कम्मर कसेर लागेका छन् । नवराज सुवेदी, दुर्गा प्रसाईं, रवीन्द्र मिश्र, धवल समशेर, राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाहीलगायतका व्यक्तिहरू राजाको वकालत गर्दै वडामा सीमित भएका छन् । सडकदेखि सदनसम्म, काठमाडौंलगायत शहरमा भएका साना–ठूला जुलुस, र्यालीले पनि राजावादीहरूको सक्रियता देखाउँछ । किन उनीहरूलाई एउटा निश्चित जात र परिवारको त्यो पनि जेठो छोरा चाहिएको होला ? राजसंस्थामा त्यस्तो के शक्ति होला, जसले रातारात देशको रूपरेखा परिवर्तन गर्न सकोस् ? नेपालमा करिब २४० वर्षसम्म शाहवंशीय राजसंस्था नै थियो त !
वि.सं. २००७ देखि २०६२ सम्म पनि राजा शक्तिमा थिए । विडम्बना, उनको शासनकालमा पनि जनताले खासै विकास र सुशासन अनुभूति गर्न पाएनन् । नेपाली मौलिक कला सम्पदाको तस्करी, दलित जनजातिमाथि दमन, केन्द्रिकृत शासन र विकास, राजाकै पालामा भएको हो । विदेशी शक्तिको चलखेल, विदेशी लगानी, दलाल पुँजीवादी व्यवस्थाको विस्तार, विदेशी गैरसरकारी संस्थाको प्रवेश त्यहीताक भएको हो । चरम गरीबी, भोकमरी, अशिक्षा, विकराल सामाजिक संरचना आदि राजसंस्थाका मुख्य विशेषता थिए ।
यति हुँदाहुँदै पनि किन कोही राजा चाहन्छ ? किन कोही ज्ञानेन्द्रको खलकलाई देवत्वकरण गर्न लम्पसार छ ? राजासँग देश विकासका निम्ति प्रशस्त समय र अवसर थियो । तर, तिनको छवि, क्षमता र जनताप्रति उत्तरदायित्व अहिले राजावादीहरूले राजसंस्था फर्काउन माग गरेअनुसारको भने कदापि थिएन । जनताको आवश्यकता के छ ? अवस्था के थियो ? राज्य प्रमुखको हैसियतले जनतालाई आधारभूत सुविधा कसरी दिन सकिन्छ भन्ने विषय राजाको प्राथमिकतामा कहिल्यै परेन ।
सामाजिक, धार्मिक, राजनीतिक सबै कोणबाट राजाहरू असफल र अक्षम भएको विगतले पुष्टि गर्दछ । राजा केही व्यक्ति र नश्लका थिए । उनको प्राथमिकता पहिलेका काजी, मुखिया, जिम्वालका सन्तति थियो । अन्यलाई भने राजा उही बुढानिलकण्ठमा सुतिरहेका विष्णु भगवान जस्तै थिए । यति देख्दादेख्दै किन कोही राजा चाहन्छ ? राजासँग त्यस्तो के विशेष प्रतिभा छ ?
केही समयअघि राप्रपा नेपालका अध्यक्ष कमल थापाले टेलिभिजन कार्यक्रममा राजाबाट आफूले चुनाव खर्चस्वरूप एक करोड पाएको खुलासा गरेका थिए । नवराज सुवेदीले पनि तत्कालीन राजाबाट आफू र परिवारलाई धेरै सहयोग गरेको बताएका छन् । नवराज र कमल जस्तै लाभ लिने व्यक्तिहरूकै जमात हो अहिले राजावादी आन्दोलनमा देखिएका अनुहार । जो कसैबाट परिचालित छ, पैसा पाएको छ, खाएको छ, दासता स्विकारेको छ । पिता पुर्खाले विशेष सुविधा पाएका थिए भने सन्ततीले त्यस्तै चाहना राख्नु आश्चर्यजनक होइन । उक्त जमातलाई पुनः त्यस्तै लाभ लिनु छ । समान्तवादको हतियार देखाएर समाजमा पुनः दादागिरी देखाउनु छ । जसकारण उसलाई राजा चाहिएको छ ।
इतिहासलाई तुलनात्मक रूपमा हेर्दा राजाले जनतालाई भन्दा जनताले राजालाई धेरै सहयोग गरेका थिए । विभिन्न कालखण्डमा ज्यानको बलिदान दिएर राजाको गद्दी मजबुत बनाइदिएका थिए । नेपाल एकीकरणको इतिहासमा जनताको ठूलो साथ थियो । छ घरेको अलावा सिमान्तकृत समुदायका बिशे नगर्ची, बाङ्गे सार्की, मनिराम गाइने, जसबिर कामीजस्ता कानुनबाट अपहेलित नागरिकले ठूलो योगदान दिएका थिए । बिर्ता, किपट प्राप्त गर्न समुदायको साथ, सहयोग र इमानदारी त छँदै थियो । सोझा जनताले सदैव राजाको जयजयकार गरेका थिए । आफ्नो छाक कटाएर, तिरेको तिरोले राजाहरूलाई ठुल्ठूला दरबार महल बनाइदिएका थिए तर जनतालाई राजाले के दिए ? कर्नालीका झुपडीलाई के दिए ? गरीब मजदुर र सीमान्तकृतलाई के दिए ? दलितको पीडामा के मल्हम लगाए ?
राणाहरूबाट अपहेलित राजालाई जनताले आन्दोलनमार्फत अधिकार दिलाएका थिए । विडम्बना, जवाफमा तात्कालिन राजाले वि.सं. २००७ देखि २०१७ सम्म फुटाऊको राजनीतिक गर्दै निर्वाचित सरकारलाई विफल पार्दै निर्दलीय पञ्चायत व्यवस्था लागु गरे । त्यस्तै २०४७ को आन्दोलनबाट प्राप्त उपलब्धिलाई २०६१ सालमा ज्ञानेन्द्र शाहीले ‘शाही कु’ मार्फत निस्तेज पारिदिए । कानुनी हिसाबले राजसंस्था कानुनभन्दा माथि थियोे । धार्मिक शास्त्रको आधारमा राजा भगवानको अर्को अवतार मानिएका थिए ।
पछि थोरै भएपनि राज्यको मूलधारमा दलित, मधेसी, जनजाति तथा सिमान्तकृत समुदायको प्रतिनिधित्व देखिन थाल्यो । एकलवादी रजगज भएको संस्थामा समावेशीकरणको अभ्यास शुरु भयो । २०६५ अघिका संसद भवनमा को को थिए ? अहिले को को छन् ? सेनामा कसलाई निषेध थियो ? महिलाको अवस्था कस्तो थियो ? यी प्रश्नको उत्तर राजावादीले दिनसक्नुपर्छ । राष्ट्र सबैको हो तर नेपालमा राजसंस्था रहुञ्जेल निश्चित जात र धर्मका मानिसको हालिमुहालि थियो । दलित, मधेसी, मुस्लिम, यौनिक अल्पसंख्यकका आवाज कहिल्यै सुनिएन ।
जनताको शासनलाई लत्याएर एउटा व्यक्ति र परिवारलाई स्विकार्नु भनेको परिवर्तनका उपलब्धिलाई फाल्नु हो । हो, अहिलेको व्यवस्थामा भएका व्यक्तिको प्रवृत्ति ठीक छैन । तर वर्तमान व्यवस्थाको विकल्प अरु केही हुन सक्दैन । जे–जति राजनीतिक, सामाजिक उपलब्धि देखिएको छ, त्यो वर्तमान व्यवस्थाकै उपज हो ।
समता, समानता र सामाजिक स्वतन्त्रता आवश्यक भएको समाजमा कुनै एक व्यक्तिको विरासतलाई पुनःस्थापन गर्ने चेष्टा गर्नु भनेको दासत्व स्विकार्नु हो । नेपाली समाजलाई वर्षौंदेखि विभाजित गर्ने संस्था चाहियो भनेर कुर्लनु सरासर मूर्खता हो । लोकतन्त्रभन्दा उत्तम व्यवस्था के हुन सक्छ ? जनताको शासन जनताबाट हुन पाउनु नै जनताको जित हो । यता नेपाली राजनीतिको बागडोर सम्हालिसकेका नेता पनि सचेत हुन आवश्यक छ । उनीहरूले चरित्र सुधार्नु जरुरी छ ।
टिप्पणीहरू